२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

कर्णालीमा अल्लो उत्पादनको सम्भावना : तालिमले सिर्जना गर्छ स्वरोजगारका अवसर

Nada
कुलेन्द्र शाही
२०८१ असोज १३ गते १५:५७
Shares
कर्णालीमा अल्लो उत्पादनको सम्भावना : तालिमले सिर्जना गर्छ स्वरोजगारका अवसर

सुर्खेत : कर्णाली प्रदेश अल्लो उत्पादनमा प्रमुख स्थानमा रहेको छ । तर यहाँको अल्लो प्रायः जङ्गलमा नष्ट हुने गरेको छ । यस समस्यालाई सम्बोधन गर्दै हालै कर्णालीका सात पालिकामा अल्लो संरक्षण, संकलन र प्रशोधनको लागि सीपमूलक तालिम सम्पन्न गरिएको छ । 

ncell

जसमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, जाजरकोटको जुनिचाँदे गाउँपालिका, दैलेखको नारायण नगरपालिका, गुराँस गाउँपालिका, भगवतीमाई गाउँपालिका, नौमूले र महावु गाउँपालिकाका उच्च पहाडी क्षेत्र र बढी अल्लो पाइने स्थानका १७ वटा वडाहरूका नागरिकलाई उक्त तालिम दिइएको हो । 

पछिल्लो समयमा अल्लोबाट बनेका अर्ग्यानिक कपडाहरूको देश विदेशमा माग भइरहेका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा विगत दश वर्षदेखि सञ्चालन भइरहेको देउती होजियारी उद्योग एण्ड ट्रेडिङ सेन्टर प्रालिले यूएसएआईडी अन्तर्गतको जल, जङ्गल परियोजनाको आर्थिक एवम् प्राविधिक सहयोगमा कर्णालीका सात ओटा पालिकाका १७ वडामा अल्लो संरक्षण, संकलन र प्रशोधन सम्बन्धी सीपमूलक तालिम दिएको देउती होजियारीका सञ्चालक सुजाता पाण्डेले बताइन् ।

उनकाअनुसार उक्त तालिमबाट दुई हजार दुई सय २१ जना लाभान्वित भएका छन् । ‘यो तालिमले कर्णालीमा रहेको अल्लो अब खेर नजाओस् र यहाँको अल्लोका कारण कर्णालीका नागरिक स्वरोजगार बन्दै आत्मनिर्भर बनुन् भन्ने मूल मान्यताका आधारमा हामीले यो तालिम सञ्चालन गरेका हौं,’ अध्यक्ष पाण्डेले भनिन्, ‘यसका लागि हामीले उहाँहरूले उत्पादन गरेको अल्लोलाई खरिद, विक्रीदेखि बजारीकरणसम्म गर्ने भनेर सम्झौता समेत गरेका छौं ।’ 

अल्लो फाइबर प्रशोधन तथा कपडा उत्पादन कार्यक्रमका संयोजक महेश नेपालीका अनुसार उक्त कार्यक्रम अन्तर्गत सात पालिकाका १७ वडामा वातावरणमैत्री अल्लो संरक्षण र संकलनसम्बन्धी प्रशिक्षण दिइएको हो । उक्त प्रशिक्षणबाट तालिमप्राप्त व्यक्तिले अल्लोको संरक्षण, उपयुक्त समयमा संकलन गरी प्रशोधन गर्ने र उनीहरूको आय आर्जनमा बढोत्तरी दिने परियोजनाको लक्ष्य रहेको संयोजक नेपालीले बताए । 

आगामी दिनमा पनि यो कार्यक्रमले अल्लोबाट उत्पादन हुने झोला, कोट, टोपी, खादालगायतका अन्य कपडाहरू उत्पादन गर्ने र बिक्री वितरण गर्ने कम्पनीका व्यवस्थापक ओमकान्त तिवारीले बताए । त्यसका लागि आवश्यक पर्ने अल्लोको धागो, भुवा र लोक्ता उक्त पालिकामा रहेका तालिमप्राप्त ४० वटा समूहका प्रशिक्षार्थीहरूबाट खरिद, उत्पादन र बजारीकरण गर्ने उनको छ ।

ताजा खबर

सम्बन्धित खबर