२०८१ असोज १४ गते सोमवार / Sep 30 , 2024 , Monday
२०८१ असोज १४ गते सोमवार

धमाधम साक्षर घोषणा हुँदै जुम्लाका पालिका

ADV
दिलमाया शाही
२०८१ असोज १४ गते २०:५७
धमाधम साक्षर घोषणा हुँदै जुम्लाका पालिका

जुम्ला : जुम्लाका ६ वटा गाउँपालिका साक्षर घोषणा गरिएको छ । जुम्लाको हिमा गाउँपालिका, चन्दननाथ नगरपालिका, सिंजा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका र पातारासी गाउँपालिका साक्षर घोषणा गरिएको हो । त्यस्तै सोमबार तातोपानी गाउँपालिका घोषणासँगै जुम्लाका ६ वटा पालिका घोषणा भएका हुन् । गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा सुर्खेत जुम्ला उच्च अदालत इजलास जुम्लाका मुख्य न्यायाधिश गोकर्ण डाँगीले गाउँपालिका साक्षरता घोषणा गरे । 

गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंको अध्यक्षतामा सञ्चालित कार्यक्रममा मुख्य न्यायाधिस  डाँगी, न्यायाधिश कैलास गुरुङ, प्रमुख जिल्ला अधिकारी रामबहादुर शाही, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख रमेश मल्लसहित शिक्षा क्षेत्रका अगुवा, शिक्षक विद्यार्थी, सञ्चारकर्मीसहित सरोकारवाला निकायको सहभागितामा कार्यक्रम सम्पन्न भएको छ । 

त्यस्तै गाउँपालिकाले गरेको सर्भे तथा विभिन्न सूचकका आधारमा ९५.७७ प्रतिशत मानिसहरु साक्षर भएका छन् । साक्षरता घोषणामा प्रमुख प्रशासकीय अधिकृत तिर्थ कठायतले प्रस्तुत गरेको प्रतिवेदनमा १५ देखी ६० वर्ष उमेरका सबै पालिकावासीलाई साक्षरताको अवसर प्रदान गरी  साक्षरता घोषणा गरिएको हो ।  उनका अनुसार सबै वडामा गणक पठाइ तथ्यांक संकलन गरिएको थियो ।  

त्यस्तै तातोपानी गाउँपालिकामा ९७.७७ प्रतिशत सहित कनकासुन्दरी गाउँपालिकामा ९७ प्रतिशत, हिमा गाउँपालिकामा ९६ प्रतिशत, सिंजामा ९६.५ प्रतिशत, चन्दननाथ नगरपालिकाका ९८.९१ प्रतिशत र पातारासीमा ९५.२४ प्रतिशत नागरिक साक्षरसहित पालिका घोषणा गरिएका छन् ।

त्यस्तै जिल्लाको कनकासुन्दरी गाउँपालिका र चन्दननाथ नगरपालिकालाई कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले साक्षर नगर घोषणा गरेका  छन् । त्यस्तै पातारासी गाउँपालिका कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाहीले साक्षर पालिका घोषणा गरेका थिए । हिमा गाउँपालिकालाई कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकासमन्त्री बिजया बुढा र सिंजा गाउँपालिकालाई अध्यक्ष पूर्णप्रसाद धितालले साक्षर घोषणा  गरेका थिए । साक्षर घोषणमा तोकिएका १२ सूचकहरूमध्ये ५० प्रतिशत सूचक पूरा भए साक्षर गाउँपालिका घोषणा गर्न मिल्ने प्रावधान अनुसार धमाधम स्थानीय तह साक्षर घोषणा भइरहेका छन् ।

कनकासुन्दरी गाउँपालिका शिक्षा शाखा प्रमुख जीवन रोकायाले कुल १३ हजार ६ सय २५ जनसंख्या रहेको गाउँपालिकामा ९७ प्रतिशत नागरिक साक्षर रहेको जानकारी दिए ।

त्यस्तै पातारासी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख अविराज उपाध्यायले १५ देखि ६० वर्षसम्मका १० हजार ४२ जनसंख्यामध्ये ९५.२४ प्रतिशत नागरिक साक्षर भएको जानकारी दिए  ।  

त्यस्तै चन्दनाथ नगरपालिका शिक्षा शाखा प्रमुख खडानन्द चौलागाईले कुल २१ हजार ३६ जनसंख्या रहेको नगरपालिकामा ९८ प्रतिशत नागरिक साक्षर रहेको बताए । उनका अनुसार गत साउन महिनामा १५ देखि ६० वर्षमुनिको जनसंख्यालाई सर्वेक्षण गर्दा सामान्य लेखपढ गर्न नजान्ने ३ सय ८० जनामात्रै भेटिएका थिए । उनीहरूलाई साक्षर बनाएसँगै नगरपालिका साक्षर घोषणायोग्य मानिएको हो ।

जुम्लाको सिंजा गाउँपालिकाले कुल जनसंख्याको ९६ प्रतिशत नागरिक साक्षर भइसकेको देखाएको छ । शिक्षा शाखा प्रमुख शंकर धितालले जनगणना अनुसार साक्षरता दर ६८ प्रतिशत भएपनि वडागत रूपमा संकलन गरिएको तथ्यांकले साक्षर गाउँपालिका घोषणायोग्य देखिएपछि गाउँपालिका नै साक्षर घोषणा गर्न सम्भव भएको बताए  ।

सिंजामा हस्ताक्षर गर्न सक्ने, सामान्य लेखपढ गर्न सक्ने, मोबाइल तथा क्यालकुलेटर चलाउन सक्ने, आफ्ना भावना व्यक्त गर्न सक्ने जस्ता सूचकहरू पूरा भएपछि पालिका साक्षर घोषणा गरिएको अध्यक्ष पूर्णप्रसाद धितालले बताए । 

जिल्लाको हिमा गाउँपालिको कुल जनसंख्या १२ हजार ८ सय ४ रहेकोमा १२ हजार २ सय २५ जना साक्षर छन्। हिमाका १ देखि ७ वडासम्म ९५.७२ प्रतिशत जनसंख्या साक्षर रहेको र मात्र ४.२८ प्रतिशत निरक्षर छन् । गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीका अनुसार शिक्षक, सामाजिक परिचालक र कर्मचारीहरू साक्षर नागरिकको तथ्यांक संकलनका लागि गाउँबस्तीमै  पुगेका थिए । 

तिला र गुठीचौर बाँकी 

जिल्लाका ६ गाउँपालिका साक्षर घोषणा भएपछि तिला र गुठीचौर गाउँपालिका साक्षर घोषणाका लागि तयार गरिरहेका छन् । गुठीचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले साक्षरपालिका घोषणका लागि प्रथामिकता दिइरहेको बताए  । तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकाया अनुसार तिला गाउँपालिका पनि साक्षर घोषणा गाउँपालिकाका लागि तयारी भइरहेको जानकारी दिए  । जिल्लाको तिला र गुठिचौर घोषणापछि जिल्ला घोषणाका लागि तयारी गरिने जिल्ला समन्वय समितिका समन्वय प्रमुख गौरीनन्द आचार्यले बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise