२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

कम बालविवाह भएका वडालाई सम्मान

ADV
सत्येन्द्र प्रताप सिंह
२०८१ जेठ ३२ गते २१:५२
कम बालविवाह भएका वडालाई सम्मान

रौतहट : ‘बाल विवाह मुक्त’ दुर्गा भगवती गाउँपालिकाको अभियान अन्तर्गत सबै भन्दा कम बालविवाह भएका वडालाई सम्मान गरिएको छ । दुर्गा भगवती गाउँपालिकाद्वारा वडा नम्वर १ सामुदायिक भवनमा आयोजित कार्यक्रममा वडाध्यक्ष र सचिवलाई सम्मान गरिएको हो ।

सबैभन्दा बालविवाह कम भएको एवम् जनचेतना जगाउने उद्देश्यबाट वडा नं.३ मत्सरीमा बालविवाह सबैभन्दा कम भएकोमा वडाअध्यक्ष धर्मेन्द्रकुमार झा र सचिव उमेश चौधरीलाई सम्मान गरिएको हो । 

विगत तीन वर्षको तथ्यांक निकाल्दा दुई पटक वडा नम्वर ३ उत्कृष्ट भएको थियो । वडाध्यक्ष र सचिवलाई गाउँपालिकाका अध्यक्ष शम्भु सिंहले दोसल्ला, माला र सम्मानपत्रसहित सम्मान गरेका थिए । 

यसैगरी वडा नम्वर २ का वडाध्यक्ष सुरेश चौधरी र सचिव, वडा नम्वर ४ का वडाध्यक्ष रामानन्द यादव र सचिव रामबाबु यादव, वडा नम्वर ५ का वडाध्यक्ष धर्मनाथ चौधरी र सचिव तथा वडा नम्वर १ का प्रदुमन चौधरी, सचिव राजेश दासलाई प्रमुख अतिथि एवं गाउँपालिका अध्यक्ष सिंहले सम्मान गरेका हुन् । 

कार्यक्रममा बालविवाह सम्बन्धी नाटक, प्रोत्साहन  लगायतका प्रदर्शनहरु गरिएका थिए । गाउँपालिकाबाट हर्षोल्लासका साथ स्थानीय बासिन्दाहरुको सामुदायिक भवनमा उपस्थिति रहेको थियो ।

कार्यक्रमको प्रमुख अतिथि गापा अध्यक्ष शम्भु सिंहले उमेर नपुगेका बालबालिकाहरुलाई विवाह गर्दा उनीहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्ने गरेको तथा कलिलो उमेरमा विहेवारी मानव स्वास्थ्यसँगको खेलवाड भएको चर्चा गरे । 

उमेर नपुगेर विवाह गर्नेहरुलाई कानूनी अपराधको भागिदार बन्नुपर्ने हुन्छ, तीन वर्ष कैद र ३० हजार नगद जरिवाना हुने भएको हुँदा उमेर पुगेर मात्रै आ–आफ्ना छोराछोरीहरुको विहेवारी गर्न उनले सुझाव दिए ।

गाउँपालिकाका उपाध्यक्ष शिला देवीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय अनुसन्धानका उपनिर्देशक अभिनय सिंह, वडाध्यक्षहरुले मन्तव्य राखेका थिए भने प्रमुख प्रशासकीय अधिकृत परमानन्द पाठकले स्वागत गरेका थिए । दिपक चौधरी र सुरज मिश्राले कार्यक्रम सञ्चालन गरेका थिए भने कार्यक्रममाथि बालविवाह फाँटका संयोजक मोनिका चौधरीले प्रकाश पारेकी थिइन् ।

ADVADV

सम्बन्धित खबर

Advertise