जुम्ला : सडक दुर्घटना न्यूनीकरण गर्न जिल्ला प्रहरी कार्यालय जुम्लाले ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरेको छ । चार्डपर्वलाई मध्येजनर गर्दै नजिकिँदै गरेको दशैंमा सडक दुर्घटना न्यूनीकरण र चोरी डकैती रोक्नका लागि सचेतनामूलक कार्यक्रम आयोजना गरेको हो ।
जुम्ला प्रहरीले पर्चा, पम्पलेट वितरण गर्ने, चालकलाई सिटबेल्ट बाँध्ने लगायत कार्य अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक छेदीलाल कामतीले जानकारी दिए । उनका अनुसार चार्डपर्वको बाहनामा मादकपदार्थ सेवन गरेर सवारी साधन नचलाउन, सडक लेन अनुशासन पालना गराउन, हेल्मेटको प्रयोग गरी मोटरसाइकल तोकिएको सीमित गतिमा चलाउनका लागि चालक लगायत आम नागरिकलाई सचेतना दिइएको छ ।
कामतीका अनुसार तीव्र गतिले जनधनको क्षति हुने भएकाले यसबारे चालकलाई सचेत पार्नका लागि प्रहरीलाई भीडभाड हुने क्षेत्र र सम्भावित दुर्घटना हुने क्षेत्रमा परिचालन समेत गरिने भएको छ ।
त्यस्तै जुम्ला प्रहरीले आफ्नो घर, पसल तथा धनमाल चोरी हुनबाट जोगाउन सावधानी अपनाउनुपर्ने बताएको छ । आफ्नो घरको सुरक्षाको लागि सीसी क्यामेरा, रातको समयमा घर वरपर पर्याप्त उज्यालोको व्यवस्था मिलाउने तथा सम्भव भएसम्म कुकुर पाल्ने, घर बाहिर जाँदा वा राति सुत्दा मुख्य गेट तथा झ्याल ढोका राम्ररी बन्द गर्ने, घरमा धेरै नगद तथा गरगहना नराख्ने, लामो समयसम्मका लागि बाहिर जानुपर्दा विश्वासिलो व्यक्ति अथवा प्रहरीलाई जानकारी गराउनुपर्ने, घरमा काम गर्ने वा भाडामा बस्ने व्यक्तिहरूको फोटो र स्थायी, अस्थायी ठेगाना सम्पर्क नम्बर आफुले राख्ने,घरमा कोही अपरिचित व्यक्ति आएमा एकिन नगरी घरभित्र प्रवेश नगराउन प्रहरीले जनाएको छ ।
यस्तै प्रहरीले एक औपचारिक कार्यक्रमको आयोजना गरी आफ्नो घर तथा पसलमा चोरीका घटना भएको अवस्थामा तत्काल प्रहरीलाई खबर गर्न आग्रह समेत गरेको छ । यसका लागि ट्राफिक प्रहरी ९८५८३२०२१३, जि.प्र.का. जुम्ला ९८५८३९०११३ मा सम्पर्क गर्न आग्रह गरिएको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी राम बहामदुर शाहीले सवारी साधनको क्षमताभन्दा बढी यात्रु नचढाउने, सवारी साधन चलाउँदा सिट बेल्ट अनिर्वायरूपमा चालकले बाँध्ने, सवारी साधनमा यात्रुलाई झुन्ड्याएर नचढाउने लगायत कार्य रोक्नका लागि प्रहरीले कार्य अगाडि बढाएको बताए । उनले ट्राफिक नियमको उल्लंघन गर्दै अटेरी गरेर सवारीसाधन चलाउनेलाई नियमानुसार कारबाही गरी जरिवाना तिराउने कार्यलाई समेत तदारुकताका साथ अगाडि बढाइने बताए । उनका अनुसार आम नागरिकको शन्ति सुरक्षालाई मध्यनजर गर्दै सडकमै ट्राफिक सचेतना कार्यक्रम गरिएको हो ।