– निष्णु थिङ
आजभन्दा तेह्र वर्ष अगाडि(२०६८) सालमा सुर्खेत जिल्लाको भेरी नदीको किनारमा रहेको जहरे, गुमी र लेखफर्सा हालको लेकबेंसी नगरपालिका पुगेको थिएँ । मगरहरुको ठूलो बस्ती भएको उक्त लेखफर्सामा केही दिन बिताएको थिएँ । चैत्र–बैशाखको बेला थियो, वातावरण उजाड थियो, प्रकृतिमा ऋतु परिवर्तन हुदै थियो । वनजङ्गलमा पुराना पातहरु झर्दै थिए, नयाँ पलाउन थालेको थियो । सुक्खा, उजाड र निरस देखिएको वनमा नयाँ पातको टुसासँगै क्रमशः हरियालीको लाली चढ्दै थियो ।
भेरी नदीको किनारामा रहेको त्यो विशाल फाँटमा मूलतः गहुँ खेती देखिन्थ्यो । अरु मौसमी बाली पनि थियो नै । गहुँलगायत अन्य बालीहरु पानी नभएर सुकेका, चाउरिएका र नसप्रिएका देखिन्थ्यो । तल भेरी नदी गलल बगिरहेको छ, माथि फाँटमा पानी नभएर बालीनाली सुकेनाश लागेर सुकेको थियो । त्यस्तोमा उब्जनी राम्रो हुने कुरै भएन ।
त्यो गाउँमा पुनः पंक्तिकार तीन वर्षपछि पुगेको थिएँ, खासै त्यति फरक पाएन । तर जब तेस्रो पटक २०७६ सालमा त्यहाँ पुगेँ, म दङ्ग भएँ । जहरेबाट पहिला हिँडेर असिनापसिना गरेर पुगेको मलाई भने यसपालि राहत मिल्यो, अटोरिक्सा चढेर छिट्टै र सजिलै पुगेँ । पहिला सानो गोरेटो, खोलाखोल्सी हुदै गएको त्यो बाटो अहिले फराकिलो र मोटर चल्ने भएछ । पहिला र दोस्रो पटक पुग्दा गाउँमा सोलारका प्यानलहरु घर घरमा लहरै देखिन्थे । तेस्रो पटकमा, गाउँमा बिजुली झलमल्ल बलेको थियो । पहिलो पटक पुग्दा, फाँटमा बालीनाली सुकेको देखेर पंक्तिकारले पम्पसेट ल्याएर भेरीको पानी तानेर सिंचाइ गर्न सकिने सुझाव दिएको थिएँ । तर खर्चिलो हुने भएकोले त्यो उपाय त्यहाँका किसानलाई जचेन ।
कृषिमा सिंचाइको महत्व
हाम्रो देश कृषिप्रधान सुन्दै हुर्केको पुस्तालाई अहिलेको कृषि खाद्यान्नमा बढेको परनिर्भरताको तथ्यांकले झस्काउँछ । हाम्रो कूल गार्हस्थ उत्पादनले हाम्रो न्यूनतम खपतलाई पुग्दैन । महिनामै अर्बौको खाद्य सामग्री बाहिरबाट आयात नगरे यहाँ भोकमरी हुन्छ । आकाशे पानीको भरमा सयौंवर्षदेखि खेती गर्नु पर्ने बाध्यता छ । आकाशे पानी खेतीको उत्तम समयमा पर्दैन, त्यसमाथि अल्पवृष्टि, अतिवृष्टि र अनावृष्टिको समस्या त छदैछ । जलस्रोतको दोस्रो धनी भनेर हल्ला जति गरेपनि त्यसको उचित उपयोग हुन सकेको छैन । खेतीयोग्य जमिनमा सिंचाइ सुविधा छैन । सिंचाइको अभावमा हाम्रो खेती गुजारामुखीबाट किसानलाई टाट पल्टाउने उद्यम बनेको छ । कृषिमा लागत र उत्पादनको असन्तुलनका ग्राफ बढ्दो छ । जब खेती गर्नु भन्दा बजारबाट किनेर उपभोग गर्नु सस्तो हुन जान्छ, कृषिमा कसले जाँगर चलाउने ? त्यसैले कृषिप्रधान भनिदै आएपनि कृषिबाट ठूलो जमात विमुख भइरहेको छ । नयाँ पुस्ता त यसमा कुनै संभावना नै देख्दैनन् । कृषिमा भविष्य छ भन्ने विश्वासै गर्दैनन् । यहाँको जमिनमा पसिना बगाएर केही हुदैन भन्ने युवाहरुको आम बुझाइ र मनोविज्ञान छ ।
आश र त्रास
पहिले विद्युतको अभावमा कृषिमा सिंचाइ गर्न कल्पना नै गर्न सकिदैनथ्यो । जब कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक भए । अत्यासलाग्दो त्यो अँध्यारो युगको अन्त्य भयो । लोडसेडिङबाट आक्रान्त र अभ्यस्त भएको नेपाली समाजमा नयाँ संभावनाको रक्त धमनीमा सञ्चार हुन थाल्यो । देशभरि बिजुली पुग्न थालेसँगै, सिंचाइको लागि गतिलो विकल्प बन्यो । गाउँ गाउँमा पम्पसेट, समरसेल पम्प र बोरिङ जडान हुदै गयो । किसानको हातमा पानी चौबिसै घण्टा हुन थाल्यो । जतिबेला चाह्यो उतिबेलै तुरुन्तै खेतबारीमा सिंचाइ गर्न सकिने भयो । बिजुलीमा आएको क्रान्तिले कृषिलाई नयाँ जीवन र संभावना दियो । पहिला पानीको अभावमा एकबाली, दुईबाली हुने ठाउँमा चारबालीसम्म हुन थाल्यो । जस्तोसुकै खडेरी परे पनि पानीको सिंचाइले कृषिबाली उत्पादनमा अपेक्षाकृत वृद्धि हुन थालेको छ । हाल मेरो गाउँमा किसानहरु पानी र बिजुलीको बाह्रैमासको सुविधाले उनीहरु उत्साहित भएका छन् । धान, मकै, गहुँ, उखु, मौसमी तरकारी खेती, फलफूल खेती सबैमा गार्हस्थ उत्पादनमा ह्वात्तै वृद्धि भएको छ । पंक्तिकारको सिँउडीफल(ड्रागन) खेती राम्रै भइरहेको छ ।
बिजुलीको सहजतासँगै पानीको छेलोखेलो बढेको छ । जमिनमुनिबाट यति पानी निकाल्न थालिएको छ कि, त्यो अनियन्त्रित र मनखुशी ढङ्गले पानी निकाल्ने र खेर फाल्ने प्रवृत्ति पनि देखिन थालेको छ । विगतमा भारतको पंजाबमा पनि यस्तै समस्या देखिएको थियो । यसरी जमिनमुनिबाट पानी मनपरि तरिकाले निकालेर खेर फाल्दा पानीको सतह भासिदै गएको छ । यस्तो प्रवृत्तिलाई नियमन र बेलैमा व्यवस्थापन गर्न सकेन भने भविष्यमा पानीको सतह झन झन तल भासिदै जादा खानेपानीको अभाव हुने छ । खानेपानीको अभावमा समाजमा नयाँ प्रकारको समस्या, द्धन्द्ध र तनाव पनि आउनेछ । पानीको अभाव विश्वका विभिन्न शहर र गाउँहरुले भोग्न परेको दृश्य हाम्रै अगाडि छ । तसर्थ, बिजुलीमा आएको क्रान्तिले एकातिर किसानहरुमा उत्पादनमा ह्वात्तै वृद्धि भएसँगै उत्साह बढेको छ भने अर्कातिर जमिनमुनिको पानी मुफ्तमा पायो भनेर त्यसको अत्यधिक दोहनले भविष्यमा नयाँ संकटतिर समाजलाई धकेल्दै गएको छ । त्यसैले, बिजुली र पानीको उपयोगसम्बन्धी सरकारले कानून ल्याउन जरुरी छ । यस्तो अनियन्त्रित र छाडा प्रयोगले निकट भविष्यमै हामीलाई खानेपानीको अभावको भूँमरीमा जाक्नेछ । बेलैमा सबैले ध्यान दिऔँ ।
(लेखक नीति अनुसन्धान प्रतिष्ठानमा विज्ञको रुपमा आबद्ध छन् ।)