रोल्पा : रोल्पाको माडी गाउँपालिकाले खरिद गरेको शैक्षिक सामग्री(क्यासियो)को मूल्य अनियमिततासम्बन्धी आरोपमा चार दलले विज्ञत्ति निकालेर छानबिनको माग गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र नेपाल कम्युनिष्ट पार्टीले संयुक्त विज्ञप्ति निकाल्दै पालिकाद्वारा खरिद गरिएको क्यासियोको मूल्य बजार मूल्यभन्दा अत्यधिक भएको जनाएका छन् ।
उनीहरूका अनुसार पालिकाले प्रतिकपि रु.४७५० मा क्यासियो खरिद गरेको छ भने उनीहरूले समान मोडल र गुणस्तरको क्यासियो फुटकर बजारमा रु.३२०० मै खरिद गरेका छन् । त्यसअनुसार एउटै क्यासियोमा रु. १५५० को मूल्य अन्तर देखिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘गा.पा.सरकारले गरेका जनविरोधी क्रियाकलाप, अनियमितता तथा विकृतिकाविरुद्ध हामी लगातार खबरदारी गर्दै आएका छौं । शैक्षिक सामग्री खरिदसम्बन्धी मूल्य अनियमितता हाम्रो प्रमुख सरोकार हो ।’
चार दलले जेठ २९ गते १६ बुँदे मागपत्र पालिका सरकारसमक्ष बुझाएको र असार १८ गते पुनः मौखिक छलफलसमेत भएको जनाइएको छ । त्यसपछि असार ३० मा वडा नं २ अध्यक्ष ललित घर्ती संयोजक रहने गरी तीन सदस्यीय छानबिन समिति गठन गरिएको थियो । तर, उक्त समिति पालिकाका पदाधिकारीहरूको मिलेमतोमा भंग गरिएको भन्दै दलहरूले आपत्ति जनाएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘पालिका अध्यक्ष र कर्मचारीहरू मिलेर षड्यन्त्रपूर्वक छानबिन समितिको कामलाई अन्त्यतर्फ मोड्दै अख्तियारमा बेनामी उजुरी दर्ता गरियो । यस घटनाले हामीलाई गम्भीर ध्यानाकर्षण गराएको छ ।’
चारै दलले सबै प्रमाणसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगञ्ज कार्यालयमा लिखित उजुरी दिइसकेको जानकारी समेत गराएका छन् ।
‘यो घटनाले पालिकाभित्र ठुलो आर्थिक अनियमितता भएको स्पष्ट देखिएको छ । अब संवाद र छलफलको बाटो हाललाई बन्द भएको घोषणा गर्दछौं,’विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा नेपाली कांग्रेस माडी गाउँपालिका सभापति नवराज डाँगी, नेकपा एमाले अध्यक्ष देव प्रसाद डाँगी, नेकपा एकीकृत समाजवादी अध्यक्ष विकास घर्ती मगर र नेपाल कम्युनिष्ट पार्टी सचिव श्याम बहादुर घर्तीको संयुक्त हस्ताक्षर रहेको छ ।