२०८१ मंसिर १२ गते बुधवार / Nov 27 , 2024 , Wednesday
२०८१ मंसिर १२ गते बुधवार

इच्छाकामनाका वृद्धवृद्धालाई भत्ता लिन सास्ती

ADV
मध्यान्ह
२०८१ असोज २१ गते १३:३८
इच्छाकामनाका वृद्धवृद्धालाई भत्ता लिन सास्ती

चितवन : वृद्धभत्ता रकम लिन माछापुच्छ्रे बैक कुरिनटारमा आइतबार बिहानै आइपुगेकी चितवन इच्छाकामना गाउँपालिका– १, हात्तीवाङकी सन्चरीमाया चेपाङले दिउँसो भत्ताबापतको रकम प्राप्त गरिन् । भत्ता रकम लिन ४ घण्टाभन्दा बढी लाइनमा बस्नुपरेको उनको गुनासो छ ।

घण्टौँ लाइनमा बसेर भत्ता रकम हातमा पर्दा उनी जति खुसी भइन्, त्यत्ति नै थकित पनि देखिन्थिन् । सञ्चरीमाया मात्र होइन इच्छाकामना–३, धुषाकी छोटीमाया चेपाङले पनि ४ घण्टा कुरेर भत्ता लिइन् ।

कुरिनटारमै रहेको अर्को प्रभु बैंकमा पनि आइतबार उस्तै भिड थियो । वृद्धवृद्धा भत्ता रकम कतिखेर झिक्न पाइन्छ भनेर कुरेर बसिरहेका थिए । बिहानैदेखि आएर कागजपत्र बुझाएका इच्छाकामना- २, फुर्केडाँडाका बलबहादुर चेपाङले दिउँसो भत्ता रकम लिन पाएनन् । बैंकमा सामाजिक सुरक्षा भत्ता लिने र अन्य सेवाग्राहीको भिड थियो ।

माछापुच्छ्रे बैंकमा भत्ता लिन आउनेलाई सहजीकरणका लागि सहयोग गर्न आएका इच्छाकामना– १, हात्तीवाङका तिलक गिरीले भत्ता लिन वृद्धवृद्धा दिनभर लाइनमा बस्नुपरेको बताए । विकट स्थानबाट आएका वृद्धवृद्धालाई छिटोछरितो सहज रूपमा भत्ता दिने वातावरण सिर्जना गर्नुपर्ने उनको भनाइ छ । सकेसम्म वडामै भत्ता वितरण गर्नुपर्ने उनको माग छ ।

इच्छाकामना वडा नं १ र २ बाट कुरिनटारमा रहेको बैंकसम्म गाडी रिजर्भ गरेर भत्ता लिन आएको उनले बताए । आवतजावत गर्न जनही ७ सय गाडी भाडामा मात्र खर्च हुने उनको भनाइ छ । 'झण्डै ३ घण्टाको बाटो गाडी रिजर्भ गरेर यहाँ भत्ता रकम लिन वृद्धवृद्धा आउनुभएको छ, भाडा मात्र ७ सय रुपैयाँ लाग्छ, वडामै भत्ता वितरण गरेको भए उक्त रकम बच्ने र यहाँ आएर यसरी लाइन बस्नुपर्ने थिएन,' गिरीले भने ।

इच्छाकामना– १ का वडाध्यक्ष सन्तबहादुर रानामगरले वडामै भत्ता वितरणका लागि बैंकसँग आग्रह गरे पनि बैंकले सुरक्षा र कर्मचारीको अभाव जनाउँदै उक्त सेवा दिन इन्कार गरेको बताए । 'मैले गत वर्ष नै बैंकलाई वडामै भत्ता वितरणका लागि आग्रह गरेको थिएँ, तर बैंकले कर्मचारी अभाव र नगद बोकेर जान सुरक्षित नहुने भन्दै मानेन,' उनले भने ।

अशक्तहरूका लागि हकवालाले बैंकमा गएर भत्ता लिन सक्ने व्यवस्था गरेको रानामगरको भनाइ छ । आगामी दिनमा कसरी हुन्छ भत्ता वितरणलाई थप सहज बनाउन बैंकसँग छलफल गर्ने उनले बताए ।

माछापुच्छ्रे बैंक कुरिनटार शाखाका प्रबन्धक प्रकाश अधिकारीले सकेसम्म सामाजिक सुरक्षा भत्ता वितरणमा सहज बनाएको दाबी गरे । वडाको सिफारिसमा अशक्त वृद्धवृद्धालाई हकवालामार्फत भत्ता उपलब्ध गराइरहेको उनको भनाइ छ ।

'हामीले बैंकसम्म आउन नसक्नेलाई वडाको सिफारिसमा हकवालाले भत्ता रकम बुझ्न पाउने व्यवस्था गरेका छौँ, दसैँका बेला भएकाले सबै वृद्धवृद्धा एकैपटक आउँदा केही समस्या भएको हो,' अधिकारी भन्छन् । यो समयमा अन्य सेवाग्राहीको समेत भिड लाग्ने गरेकाले केही असहज भएको उनको भनाइ छ ।

बैंकमा कर्मचारी अभावका कारण वडामै पुगेर भत्ता वितरण गर्न नसकिएको बैंकका प्रबन्धक अधिकारीले बताए । गाउँपालिकाले ग्लोबल आईएमई, प्रभु र माछापुच्छ्रे बैंकमार्फत भत्ता वितरण गर्दै आइरहेको छ । इच्छाकामनाको माथिल्लो भेगका ज्येष्ठ नागरिकले वृद्धभत्ता प्राप्त गर्न पनि सास्ती व्यहोर्दै आइरहेका छन् । सकेसम्म टोलटोलमै पुगेर भत्ता वितरण गर्नुपर्ने त्यत्ति पनि नभए वडास्तरबाटै वितरण गर्नुपर्ने यहाँका ज्येष्ठ नागरिकहरूको माग छ । रासस

ADVADV

सम्बन्धित खबर

Advertise