काठमाडौं : वैदेशिक रोजगार विभागका कर्मचारीले घरबाटै श्रम स्वीकृति प्रदान गरेका छन् । जेनजी आन्दोलनकारीको प्रदर्शनको क्रममा भएको आगजनीबाट विभागमा आंशिक क्षति भएको थियो ।
विभागका तीन वटा ब्लकमध्ये श्रम स्वीकृति प्रदान गर्ने माथिल्लो ब्लक सुरक्षित रहेकोे छ । आगालागीबाट महानिर्देशक कमलप्रसाद भट्टराईसहित निर्देशकहरूको कार्यकक्षमा क्षति पुगेको छ ।
महानिर्देशक भट्टराईको कार्यकक्ष केही दिनअघि मात्रै रेनोभेसन गरिएको थियो । आन्दोलनकारीले विभागका दुई वटा मोटरसइकल जलाएका छन् । विभागको सर्भर सुरक्षित रहेकाले श्रम स्वीकृतिको काममा समस्या छैन ।
महानिर्देशक भट्टराईले मुलुकमा उत्पन्न विषम परिस्थितिका कारण अन्य क्षेत्रमा जस्तै विभागबाट प्रदान हुने सेवा प्रवाहमा जटिलता देखिएको बताए । अवस्था सामान्य नभएसम्म कर्मचारीले घरबाटै सेवा प्रवाह गर्ने छन् ।
महानिर्देशक भट्टराईले सम्भव भएसम्म घरबाटै अनलाइन सेवा प्रदान गर्न कर्मचारीलाई निर्देशन दिएको बताए । विभागले श्रम स्वीकृति, उजुरी दर्ता, नयाँ म्यानपावर कम्पनी दर्ता तथा खारेजी, उजुरी दर्ता, राहत, उद्धार, मेलमिलाप तथा अनुसन्धान एवं अभियोजनको काम गर्दै आएको छ ।