२०८२ जेठ ८ गते बिहिवार / May 22 , 2025 , Thursday
२०८२ जेठ ८ गते बिहिवार
Ads

विकास निर्माणका काम आमूल परिवर्तनको शैलीमा गर्नुपर्छ : प्रधानमन्त्री

G Motors
मध्यान्ह
२०८१ असोज २२ गते १९:०३
विकास निर्माणका काम आमूल परिवर्तनको शैलीमा गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणमा सामान्य सुधार नभइ आमूल परिवर्तनकै शैलीबाट काम हुनुपर्ने बताएका छन् ।

लगानी बोर्डको ५९औं बैठकमा बोर्डका अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले काम रोकिने, ढिलाइ हुने, कानूनी र व्यवहारिक जटिलता हुने स्थितिको अन्त्य गरी प्रभावकारीरुपमा काम गर्न आग्रह गरे ।

“हामीले सामान्य सुधार (रिफर्म) होइन, रुपान्तरण (प्याराड्याम सिफ्ट) नै गर्नुपर्छ । पुराना पुराना कानुन संशोधन र टालटुल गरेर अब चल्दैन । बोर्डलाई विज्ञ, युवा र ऊर्जावान् जनशक्तिसहित सबलीकरण गर्नुपर्छ ।”, प्रधानमन्त्री ओलीले भने, “यताबाट उता फाइल पठाउने र अध्ययन–विमर्शकै समय बित्ने अवस्था रहनु हुँदैन । कुनै पनि पक्षको अनुचित दबाब नसही देशको हितमा हुनुपर्ने उचित काम प्रभावकारी हुनुपर्छ । त्यसका लागि हामीले फाइल कहाँ पुग्यो भन्ने ट्रयाकिङ प्रणाली कार्यान्वयन गर्दैछौँ । कुनै पनि फाइल सम्बन्धित कार्यालयमा आएको तीन दिनभित्र हुने नहुने निर्णय दिनुपर्ने पनि निर्णय गरेका छौँ ।”

बैठकमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीबाट प्रस्तुत आगामी चार वर्षका लागि रणनीतिक तथा व्यावसायिक कार्ययोजनालाई सैद्धान्तिक स्वीकृति दिइएको छ । यस्तै बैठकमा चालु तथा कार्यान्वयनको चरणमा रहेका, सम्झौता र मूल्यांकनका चरणमा रहेका विभिन्न परियोजनाबारे जानकारी गराइएको थियो । प्रधानमन्त्री ओली र प्रमुख कार्यकारी ज्ञवाली नियुक्त भएपछि बोर्डको यो पहिलो बैठक हो । 

बोर्डले सरकारको लगानीसम्बन्धी बजेट र खर्च घट्दो रहेको अवस्थामा निजी क्षेत्र र प्रत्यक्ष वैदेशिक लगानी अभिवृद्धि गर्नुपर्ने, अन्तर्राष्ट्रिय लगानी सम्मेलनबाट प्राप्त प्रतिबद्धताबमोजिम काम हुनुपर्ने, स्वदेश र विदेशमा लगानी प्रवर्द्धनको काम गर्नुपर्ने, एकल विन्दु सेवा केन्द्रलाई पूर्ण कार्यान्वयनमा ल्याइ छिटो छरितो काम गर्नुपर्नेमा जोड दिएको छ । यस्तै विद्यमान कानून संशोधन गरी बोर्डलाई अधिकार सम्पन्न र स्वायत्त बनाउनुपर्ने, प्रदेश र स्थानीय तहमा लगानी सहजीकरणका लागि विशिष्टीकृत केन्द्र स्थापना गर्नुपर्नेमा जोड दिइएको छ ।

बैठकले बोर्डको चालु आर्थिक वार्षिकका लागि रु १८ करोड ८३ लाख बजेट तथा प्रमुख कार्यकारी अधिकृतको कार्यसम्पादन सम्झौता करारका सूचकहरु स्वीकृत गरेको छ । बैठकलगत्तै अध्यक्ष ओली र प्रमुख कार्यकारी अधिकृत ज्ञवालीबीच यस आर्थिक वर्षका लागि कार्यसम्पादन सम्झौता भएको छ । 

ADV

सम्बन्धित खबर

Advertise