२०८१ मंसिर ६ गते बिहिवार / Nov 21 , 2024 , Thursday
२०८१ मंसिर ६ गते बिहिवार

बढ्दै आम्दानी, घट्दै गरिबी

ADV
जानकी पाठक
२०८१ असोज २३ गते ०६:४५
बढ्दै आम्दानी, घट्दै गरिबी

काठमाडौं : नेपालीहरूको औसत आय बढ्दै गएको सरोकारवालाहरूले बताएका छन् । मंगलबार राजधानीमा भएको प्रा.डा. तत्व तिम्सिनाद्वारा लिखित ‘समृद्धिको अन्तर्वस्तु’ पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले औसत आय बढ्दै गएको र गरिबीको अवस्थामा सुधार आएको बिभिन्न तथ्याङ्क प्रस्तुत गरेका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीका अनुसार समृद्धिको यात्रामा रहेको नेपालको पछिल्लो तथ्यांकले गरिबीको संख्यामा समेत कमी आएको छ । गरिबीको अन्त्य गरी ‘समृद्ध विश्व, सुखी मानव जाति’ तर्फको यात्रामा विश्व अग्रसर रहेको यही यात्रामा नेपाल पनि रहेको उनले बताए । उनका अनुसार सुख प्राप्ति हरेक प्राणीको चाहना हुन्छ ।  मानिसहरू सम्मानित तथा सुरक्षित जीवन बाँच्न चाहन्छन् । 

कसैलाई पछाडि नपारिने संयुक्त राष्ट्रसंको संकल्पबमोजिम मानिसले अपमानित नभई सम्मानित, सभ्य र शान्त जीवन बाँच्न पाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले समृद्धिका कुरा गर्दा वातावरण संरक्षणका कुरामा ध्यान दिनुपर्ने बताए । 

पुस्तकका लेखक त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. तिम्सिनाले प्रधानमन्त्री ओलीद्वारा अघि सारिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाक्षाको आलोकमा खुसी र सुखको वैज्ञानिक विश्लेषण पुस्तकमा गरिएको बताए ।

समृद्धि अध्ययन तथा अनुसन्धान केन्द्रद्वारा प्रकाशित पुस्तकमा समृद्धिलाई मन, मस्तिष्क र मनस्थितिका आधारमा विविध सामाजिक र आर्थिक पक्षको लेखाजोखा गरिएको छ । समृद्धिको यात्रामा रहेको नेपालको आर्थिक अवस्थाको समेत चित्रण गरिएको छ । 

राष्ट्रिय तथ्यांक कार्यालयले चौथो जीवनस्तर सर्वेक्षण अनुसार हाल नेपालमा गरिबीको रेखामुनिको जनसंख्या २०.२७ प्रतिशत छ । २०६६÷०६७ सालमा गरिबीको रेखामुनी रहेको जनसंख्या २५.२ प्रतिशत थियो । 

१२ वर्ष अघिको तुलनामा ५ प्रतिशतले गरिबीको संख्या घटेर २०.२७ प्रतिशतमा आएको हो । सरकारले वार्षिक ७३ हजार रूपैयाँभन्दा कम उपभोग गर्नेलाई गरिबीको रेखामुनी राख्दै आएको छ । 

खाद्य गरिबी मापन गर्ने क्रममा एक व्यक्तिले प्रतिदिन २२ सय ३६ किलो क्यालोरी प्राप्त गर्नेलाई गरिबीको रेखामाथि राखिएको छ । यस अघि यस्तो क्यालोरी २२ सय २० क्यालोरी थियो । 

मानिसको खाद्यन्नमा लगानी ५३ प्रतिशत हुने गरेको तथ्यांक छ । यसअघिको सर्वेक्षणमा ६२ प्रतिशत लगानी गर्ने गरेको पाइएको थियो । पछिल्लो समय जम्मा आम्दानीमा खाद्यन्नमा हुने लगानी नौ प्रतिशतले घटेको छ ।

उपभोगको प्रवृत्तिमा पनि परिवर्तन आएको छ । प्रतिव्यक्ति उपभोग खर्च १२ वर्षमा ६० प्रतिशतले बढेको छ । यसअघि सबैभन्दा न्यून वर्गले वार्षिक २६ हजार खर्च गर्ने गरेका थिए भने अहिले ४४ हजार बढी पुगेको छ ।

प्रदेशगत रुपमा सबैभन्दा धेरै गरिबी सुदूरपश्चिम प्रदेशमा देखिएको छ भने सबैभन्दा कम गण्डकीमा देखिएको छ । सहरी गरिबी १८ प्रतिशत र ग्रामीण गरिबी २५ प्रतिशत छ ।

नेपाल अति कम विकसित मुलुकको सूचीबाट विकासशील देशमा स्तरोन्नति हुने चरणमा समेत रहेको छ । न्यून आय भएका र अर्थ–सामाजिक विकास कम भएका देशलाई जनाउने अति कम विकसित देशको सूचीबाट विकासशील देशको सूचीमा दरिने क्रममा रहेको हो । 

नागरिकको प्रतिव्यक्ति आय, आर्थिक जोखिम तथा मानव सम्पत्ति सूचकका तीन मापदण्डमध्ये दुईमा उत्तीर्ण हुने देश विकासशीलको सूचीमा उक्लिन पाउँछन् । यसमध्ये आर्थिक जोखिम र मानव सम्पत्ति सूचकमा नेपालले स्तरोन्नतिको मापदण्ड पूरा गरेको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise