२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

'विदेशबाट रेमिट्यान्स होइन पर्यटक भित्र्याउन केन्द्रित हुनुपर्छ'

ADV
२०८१ असार २ गते ०६:४५
'विदेशबाट रेमिट्यान्स होइन पर्यटक भित्र्याउन केन्द्रित हुनुपर्छ'

अवसरको खोजीमा विश्वका धेरै मुलुकमा नेपाली पुगेका छन् । अहिले ७० लाख भन्दा बढि नेपाली बिभिन्न मुलुक पुगेका छन्। लामो समय विदेशमा रहेका नेपालीहरुले गैरआवासीय नेपाली संघ (एनआरएनए) मा संगठित भएका छन् । प्रवासमा बस्दै गर्दा नेपालीहरुले विदेशमा सिकेको सिप र पुँजीलाई भित्राएर नेपालको समृद्धिको लागि काम समेत गरिरहेका छन् । विशेषगरी गैर आवसीय नेपालीहरुले नेपालको पर्यटक र प्रवर्द्धनको लागि महत्वपूर्ण भूमिका निवार्ह गर्दै आएका छन् । 

नेपालको पर्यटन क्षेत्रको लागि निरन्तर काम गरिरहेका गैरआवासीय नेपाली संघ (एनआरएनए)को अन्तर्राष्ट्रिय समन्वय परिषद्को उपमहासचिव सोम सापकोटा एक हुन् । जो ३० वर्षदेखि विभिन्न देशमा बसोबास गर्दै नेपालको पर्यटन प्रर्वद्धनको क्षेत्रमा काम गरिरहेका छन् । २००८ देखि प्रवासमा रहेका उनी २०१६ देखि २०१८ सम्म डेनमार्कको नेपाल पर्यटन बोर्डबाट मानार्थ पर्यटन जनप्रतिनिधि र २०२० देखि २०२१ सम्म माल्टाको मानार्थ पर्यटन जनप्रतिनिधिको रुपमा काम गरिसकेका छन् । यस्तै अहिले नेपाल सरकारको मन्त्रिपरिषद्बाट सयुंक्त अधिराज्य (बेल्स)को लागि पर्यटन प्रवर्द्धकको नियुक्ति लिएका छन् । प्रस्तुत छ, उनै सोम सापकोटासँग मध्यान्ह दैनिकका लागि छबि सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :

नेपालमा विकसित मुलुकबाट आउने उच्चस्तरीय पर्यटक भित्र्याउन के गर्नुपर्छ ?

नेपाल विश्वको स्वर्गको टुक्रा हो भन्दा फरक पर्दैन । नेपालमा धेरै देशका पर्यटकहरु आउने चाहना गरिरहेका हुन्छन् । तर, नेपाललाई जसरी ब्राण्डिङ गर्नुपर्ने थियो त्यो हुन सकिरहेको छैन । संसारको अग्लो स्थान सगरमाथा, गौतमबुद्धको जन्मस्थान, हिमालदेखि तराईसम्म केही घण्टा बिचमा हुने मौसममा परिवर्तन, संस्कृति, पुरातात्विक स्थान र वस्तु लगायत विश्वभरीकै पर्यटकको लागि आश्चार्यजनक भूगोल छ यहाँ । 

तर, हाम्रो आवश्यक तयारी नहुँदा विकसित मुलुकका पर्यटक सोचेअनुसारको संख्यामा आउन सकिरहेका छैनन् । अर्काे भनेको हाम्रो हवाई कनेक्टिभिटी, पर्यटक नीति समेत पर्यटकमैत्री बन्न सकिरहेका छैनन् । हाम्रो संगठन गैरआवासीय नेपाली संघले स्थापना कालदेखि नै नेपालको पर्यटन प्रवर्द्धनमा काम गरिरहेको छ । मैलेपनि पोर्चुगल, डेनमार्क, माल्टा र अहिले बेलायतमा रहँदासमेत नेपालको पर्यटन उद्योगलाई लक्षित गरी कार्यक्रम गर्दै आएको छु । अहिले जहाँ नेपालीहरु पुग्नु भएको छ त्यहाँ नेपालसम्बधी विभिन्न कार्यक्रम, सेमिनार, गोष्ठी, नेपाल कन्क्लेभ, रोड सो लगायत नेपाल चिनाउने कार्यक्रम भइरहेका छन् । जसको कारण पछिल्लो समय विकसित मुलुकका पर्यटकहरुले पनि नेपाल प्रति चासो देखाइरहेका छन् ।

तपाईं लामो समय प्रवासमा हुनुहुन्छ । विदेशी नागरिकका नेपालबारे धारणा कस्तो छ ? 

नेपालबारे धेरै देशका नागरिकलाई जानकार छन् । भारत  र चीनबीचको सानो देश भएकोले पनि नेपाल प्रति विदेशी पर्यटकको चासो छ । त्यसमाथि नेपालसँगै लामो समयदेखि विभिन्न देशसँग सम्बन्ध छ । ब्रिटेन, अमेरिका, युरोपदेखि गल्फसम्म नेपालको पुरानो सम्बन्ध समेत छ । पछिल्लो समय नेपालबाट विभिन्न मुलुकका रोजगारी, पढ्नदेखि व्यापार व्यवसायमा नेपालीहरु पुगेको पाइन्छ । यसले पनि नेपाललाई विश्वमा थप चिनाउँदै लगेको छ । अहिले ७० लाख बढी नेपाली विदेशमा हुँदा नेपाल चिनाउने प्रयास भइरहेको छ । नेपाललाई चिन्ने र माया गर्ने धेरै छन् । तर, हामीले अपेक्षा गरेअनुसार अझैपनि नेपालमा पर्यटक भित्र्याउन भने सकिरहेका छैनौं । हामीले गर्दै आएका भिजिट नेपाल, पर्यटक दशक, लगानी सम्मेलन जस्ता कार्यक्रमले नेपाल प्रति विदेशी पर्यटकको चासो बढ्दै गएको पाइन्छ । एक पटक नेपाल आएकाहरुले जसरी नेपालको चर्चा गरेका हुन्छन् त्यसले अरु पर्यटकलाई समेत नेपाल आउने इच्छा जाहेर गरेको पाइन्छ । 

अब नेपालको पर्यटन प्रवर्द्धन गर्न के गर्नुपर्ला ? 

प्रवासमै बसेर नेपालीले नेपालको लागि गर्न सक्ने महत्वपूर्ण क्षेत्रको रुपमा पर्यटन प्रवर्द्धन हो ।  संस्थागत रुपमा र व्यक्तिगतरुपमा नेपाली धेरै नेपाली पर्यटन उद्योगलाई प्रवर्द्धन गर्न लागि परेका छन् । नेपालमा पर्यटन प्रवर्द्धनको लागि सबै भन्दा ठूलो चुनौतीको रुपमा नेपाल र अन्य देशबीचको हवाई कनेक्टिभिटी नै हो । नेपाल आउन महँगो हवाई भाडाको कारण समेत पर्यटकहरु अन्य मुलकमा जाने गरेको पाइन्छ । सुरक्षा, पर्यटन नीति परिवर्तन हुँदासमेत पर्यटन प्रवर्द्धनमा असर गर्छ । 

नेपालको पर्यटन प्रर्वद्धन परम्परागत शैलीमा भन्दा डिजिटल प्रविधिमै केन्द्रित हुन आवश्यक छ । नेपाल राम्रो गन्तव्य हो भनेर प्रचार गर्ने काम भएको छ । तर, हामीले पुर्वाधार निमार्णमा भने जोड दिन सकिरहेका छैनौँ । प्राकृतिक प्रकोप, सडक, यातायात, पूर्वाधार क्षेत्रमा रहेका कठिनाईको कारण समेत नेपालमा पर्यटक बढ्न सकिरहेका छैनन् । जसले नेपालमा आउने क्यालिटी पर्यटकको संख्या कम भएको देखिन्छ । नेपालका हेरिटेज, हिमालय रेन्च, एकसिंगे गैंडा, जंगल सफारीदेखि धार्मिक पर्यटकको लागि नेपाल उकृष्ट मुलुक हो भन्दा फरक पर्दैैन । 

सरकार र निजी क्षेत्र र एनआरएनबीच कसरी पर्यटक प्रवर्द्धनको काम गर्न सकिन्छ ?

पर्यटन प्रवर्द्धनको लागि निजी क्षेत्रको भूमिका धेरै छ । लगानीदेखि प्रचार प्रसारमा निजी क्षेत्रकै कारणले अहिले पर्यटक भित्रिरहेका छन् । तर, कोभिडको समयमा निजी क्षेत्र धरासायी हुँदासमेत सरकारको तर्फबाट सहजीकरण कम भएको देखियो । पर्यटन व्यवसायीहरुलाई अन्य देशहरुले कोभिड महामारीपछि आर्थिक सहायता गरे तर, नेपालमा त्यस्तो देखिएन् । पर्यटन उद्योग फस्टाउनका लागि महत्वपूर्ण भूमिका भनेको सरकारले बनाउने नीति र भौतिक पूर्वाधार नै हो  । यसमा मात्र ध्यान दिने हो भने सरकार, निजी क्षेत्र र एनआरएनएबीचको सहकार्यले नेपाल पर्यटकको हब बन्न सक्छ । अब विदेशबाट रेमिट्यान्समात्र होइन पर्यटक भित्र्याउनतर्फ हामी सबै केन्द्रित हुनुपर्छ । सरकार र निजी क्षेत्र र एनआरएनबीचको त्रिकोणात्मक सम्बन्ध बनाएर लाग्ने हो भने नतिजा राम्रो निकाल्न सकिन्छ । 

अत्यमा, संयुक्त अधिराज्य वेल्सको पर्यटन प्रवर्द्धकको रुपमा कसरी काम गर्नुभएको छ ?

२०१७ देखि म बेलायतमा बसोबास गर्दै आएको छु । त्यसभन्दा अघि युरोपका विभिन्न देशमा रहँदासमेत पर्यटन क्षेत्रलाई प्रवर्द्धनको लागि संस्थागत र व्यक्तिगत रुपमा काम गरिरहेको छु । धेरै नेपालीमा नेपाल छिटो समृद्ध होस भन्ने चाहना छ । उनीहरुको नेपालप्रतिको माया धेरै देखिन्छ, साथै उनीहरु नेपालमा लगानी गर्नसमेत आतुर छन् । 

२०१६ देखि नै मैलेपनि पर्यटन मन्त्रालय, पर्यटनबोर्डसँग जोडिएर अहिलेसम्म पर्यटन प्रवर्द्धनकै क्षेत्रमा काम गरिरहेको छु । अहिले बेलायतमा रहेको चर्चित ट्राभल्स एजेन्सी, स्थानीय तहका मेयर, जनप्रतिनिधिसँग सहकार्य, राजदूतावाससँग सहकार्य, पर्यटन सेमिनार लगायतको काम भइरहेको छ । कसरी नेपालमा पर्यटन क्षेत्रलाई अगाडि बढाउन सकिन्छ भनेर सरकार, पर्यटन मन्त्रालय, बोर्ड, हान, टान लगायतका संस्थासँग सहकार्य गर्ने काम भइरहेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise