२०८१ कार्तिक ७ गते बुधवार / Oct 23 , 2024 , Wednesday
२०८१ कार्तिक ७ गते बुधवार

‘वर्षौंदेखि अलपत्र खानेपानी ट्याङ्की : सरकारी बेवास्ताले सिराहाका बासिन्दा प्यासै, संरचना चोरीमा’

ADV
प्रदिप सिंह
२०८१ असोज २९ गते १६:१२
‘वर्षौंदेखि अलपत्र खानेपानी ट्याङ्की : सरकारी बेवास्ताले सिराहाका बासिन्दा प्यासै, संरचना चोरीमा’

लहान : सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नम्बर १२ र १३ का स्थानीयवासीहरू वर्षौंदेखि खानेपानी अभावको समस्यासँग जुध्दै आएका छन् । केही वर्षअघि सरकारी योजनाअन्तर्गत निर्माण गरिएको खानेपानीको ट्याङ्की सञ्चालनमा नआउनुले यो समस्या अझै गम्भीर भएको छ । ठटीया, कुशमाहा, र चार भाई टोलका बासिन्दाहरूले ट्याङ्की बनेपछि खानेपानीको समस्याबाट मुक्ति पाउने आशा गरेका थिए, तर यथार्थमा यो ट्याङ्की हालसम्म पनि सञ्चालनमा आउन सकेको छैन ।

यस क्षेत्रका बासिन्दाहरूले वर्षौंदेखि इनार र अन्य प्राकृतिक स्रोतहरूमा निर्भर रहनु परेको छ । ती स्रोतहरूबाट पाइने पानी सीमित मात्रामा उपलब्ध हुने भएकाले सबैलाई पानी पुग्न नसक्ने अवस्था रहेको छ । त्यसैले, स्थानीयहरू ट्याङ्की सञ्चालनमा ढिलाइ भएको भन्दै निराश मात्रै नभई सरकारप्रति असन्तुष्टसमेत भएका छन् ।

‘हामीले खानेपानी ट्याङ्की निर्माण हुँदा धेरै खुसी भएका थियौँ,’ एक स्थानीयले भने, ‘तर वर्षौं बित्दा पनि ट्याङ्की सञ्चालनमा नआएपछि हाम्रो आशा मरेको छ । पानीको अभावले यहाँको जनजीवनमा धेरै समस्या उत्पन्न भएको छ ।’

स्थानीयहरूको भनाइअनुसार, सरकारको ध्यानाकर्षण गराउनका लागि पटक–पटक गुनासो र निवेदन दिइएको भए पनि कुनै ठोस कदम चालिएको छैन । ट्याङ्कीको परिसर अहिले वनमारा झाडीमा परिणत भएको छ भने त्यहाँ रहेका भौतिक संरचनाहरू चोरी हुने स्थिति पनि उत्पन्न भएको छ यस्तो अवस्थामा सरकारी निकायहरूको उदासीनता देखेर स्थानीय बासिन्दाहरूमा आक्रोश र निराशा बढिरहेको छ ।

सरकारी योजनाहरूको सफल कार्यान्वयनमा देखिएको ढिलासुस्ती र लापरवाहीले जनताको विश्वास कमजोर हुँदै गएको छ । खानेपानी जस्तो आधारभूत आवश्यकतामा पनि ध्यान नदिइनु सरकारको गैरजिम्मेवारीपनको स्पष्ट उदाहरण हो ।

अब स्थानीयहरू सरकारलाई पुनः दबाब दिँदै उक्त खानेपानी ट्याङ्की शीघ्र सञ्चालनमा ल्याउन माग गरिरहेका छन् । उनीहरूको एउटै आशा छ- खानेपानीको समस्या समाधान होस् र जनजीवन सहज होस् ।

ADVADV

सम्बन्धित खबर

Advertise