२०८१ कार्तिक ७ गते बुधवार / Oct 23 , 2024 , Wednesday
२०८१ कार्तिक ७ गते बुधवार

सुमन साह बने जे.एस. कलेजका प्रमुख, शैक्षिक विकासमा नयाँ योजना

ADV
प्रदिप सिंह
२०८१ कार्तिक १ गते १०:२२
सुमन साह बने जे.एस. कलेजका प्रमुख, शैक्षिक विकासमा नयाँ योजना

लहान : लहानस्थित जे.एस. मुरारका बहुमुखी क्याम्पसका अनुभवी प्राध्यापक सुमन कुमार साह कलेजको प्रमुख नियुक्त भएका छन् । सिरहा, सप्तरी, र धनुषा जिल्लामा एक कुशल प्राध्यापक र सामाजिक चिन्तकको रूपमा ख्याती कमाएका साहले प्राध्यापन क्षेत्रमा २१ वर्षभन्दा लामो अनुभव बटुलेका छन् ।

लहानको बस्तीपुरमा जन्मिएका साहले हजारौं विद्यार्थीलाई शिक्षित बनाउँदै शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान दिएका छन् । प्राध्यापन जीवनमा मात्रै सीमित नरही, उनले शिक्षामा सुधार र समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्रिय भूमिका खेलेका छन् । साह शिक्षाप्रेमी, बौद्धिक व्यक्तित्व र समाजसेवीका रूपमा पनि चिनिन्छन् ।

जे.एस. मुरारका कलेजमा लामो समयदेखि आवद्ध रहेका साहले हालै कलेज परिसरमै नयाँ सामुदायिक कलेजको स्थापना गरेका छन् । यो नयाँ कलेज राजर्षि जनक विश्वविद्यालयबाट मान्यता प्राप्त गरी २०८१ सालमा दर्ता भएको हो । सुमन साहको नेतृत्वमा सञ्चालनमा आएको यो कलेजले सिरहामा शिक्षा क्षेत्रमा नयाँ कोर्सहरू सहितको शैक्षिक कार्यक्रम ल्याएको छ।

हाल कलेजमा BBA र BCA जस्ता व्यावसायिक कोर्सहरू सञ्चालनमा आएका छन्, जसले स्थानीय विद्यार्थीहरूलाई आधुनिक र व्यावसायिक शिक्षा प्राप्त गर्ने अवसर प्रदान गरेको छ । साहका अनुसार कलेजले आगामी वर्षमा BA LLB, MBA, र BSc Agriculture जस्ता कोर्सहरू पनि सञ्चालनमा ल्याउने योजना बनाएको छ । यी कोर्सहरू प्रस्तावित अवस्थामा रहेका छन् र आवश्यक तयारी भइरहेको छ।

साहले कलेजको नेतृत्व गर्दै सामुदायिक शिक्षामा गुणस्तर सुधार र विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्नका लागि निरन्तर प्रयास गरिरहेका छन् । उनका अनुसार कलेजले विद्यार्थीलाई गुणस्तरीय शैक्षिक वातावरण दिनका लागि आधुनिक शैक्षिक सामाग्री, पुस्तकालय र डिजिटल प्रविधिहरूको प्रयोगमा विशेष जोड दिनेछ ।

साहले सामुदायिक कलेजलाई समावेशी र सर्वसुलभ बनाउन आफू प्रतिवद्ध रहेको बताए । "हाम्रो उद्देश्य स्थानीय विद्यार्थीलाई उच्च शिक्षा प्रदान गरेर समाजको विकासमा योगदान दिनु हो । हामीले शैक्षिक क्षेत्रलाई समृद्ध बनाउने कामलाई निरन्तरता दिनेछौं," साहले भने । सिरहामा सुमन साहको यो कदमले शैक्षिक विकासमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।

ADVADV

सम्बन्धित खबर

Advertise