जुम्ला : प्रतिनिधि सभा सदस्य छिरिङ ल्यामो लामा तामाङ जुम्लाका जनताको गुनासो सुन्न गाउँगाउँ पुगेकी छन् । शुक्रबार पातारासी गाउँपालिका-२ पेरे र तल्फिका स्थानीयहरुसँग गाउँको समस्याबारे बृहत् छलफल आयोजना गरिएको थियो ।
गाउँमा पुगेर स्थानीयहरुको गुनासो सुन्न र उनीहरुको मागलाई सम्बोधन गर्न गाउँ आएको सांसद तामाङले बताइन् । उनले आफूहरुले गरेका कामहरु गाउँका जनताले थाहा पाउनुपर्छ भनेर गाउँमा पुगेको बताइन् । उनले आफूले आफ्नो क्षामताले सकेजति जनताको समस्यालाई समाधान गर्ने बताइन् । उनले भनिन्, 'मेरो कार्यकालमै जनताको मागलाई प्रथामिकतामा राखेर सम्बोधन गर्ने छु ।'
जनताको प्रश्न सुन्न गाउँगाउँमा पुग्नुपर्ने जनप्रतिनिधिको दायित्व रहेको उनले बताइन् । उनले स्थानीय जनताको समस्या बुझ्दै सडक, विद्युत, खानेपानीलगायतका समस्या समाधानमा भूमिका खेल्ने प्रतिबद्धता जनाइन् ।
सांसद तामाङलाई फूलमालाले स्वागत गर्दै स्थानीयहरुले गाउँका विभिन्न समस्याहरु राखेका थिए । पातारासी गाउँपालिका २ की स्थानीय जौउकला ऐडीले गाउँमा आएर गुनासो सुनेकोमा खुसी व्यक्त गरिन् । उनले समस्यालाई समाधान गर्न र गाउँको विकासका लागि राखिएको मागलाई छिटो भन्दा छिटो सम्बोधन गर्न आग्रह गरिन् ।
त्यस्तै स्थानीय जनक महताराले नागरिकसँग बसेर गाउँको समस्याबारे बृहत् छलफल गर्नु राम्रो कुरा रहेको बताए । उनले आफनो निर्वाचन क्षेत्रअन्तर्गतका गाउँमा पुगेर स्थानीयहरुको गुनासो र उनीहरुको मागलाई सम्बोधन गर्न गाउँ प्रवेश गरेकोमा आभार व्यक्त गरे । उनले पातारासीको सडक र पर्यटकका लागि होमस्टेको विकास गर्न अनुरोध गरे ।