अर्घाखाँची : अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल हातमा कागजपत्र बोकेर कहिले नागरिकता फाँटमा, त कहिले राहदानी फाँट, कहिले राष्ट्रिय परिचयपत्र फाँटमा निकै व्यस्त र ओहोर–दोहोर गरिरहेको देखिन्थे । कहिले उनी नागरिकता बनाउन पालो कुरिरहेका सेवाग्राही बसेकै ठाउँमा पुग्थे र सम्बन्धित कामको लागि कागजपत्र पुगे–नपुगेको हेर्थे ।
प्रमुख जिल्ला अधिकारी अर्यालले कुर्सीमा बसी–बसी अरु कर्मचारीलाई निर्देशन दिने, काम लगाउने गरे पनि अर्घाखाँचीमा भने भिन्न छ । ‘नागरिकता, पासपोर्ट, राष्ट्रिय परिचयपत्र बनाउन आउनेहरुको जिल्ला प्रशासन कार्यालयमा निकै भिड छ । सेवाग्राहीको काम छिटो छरितो होस् । उनीहरुले दुःख नपाउन भन्ने उद्देश्यले आफुनै फाँटहरुमा पुग्ने गरेको प्रमुख जिल्ला अधिकारी अर्यालले मध्यान्हलाई बताए ।
दशैं गएपनि तिहार नजिकिँदै जाँदा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा नागरिकता बनाउनेहरुको चाप दैनिक बढेको प्रजिअ अर्यालले बताए ।
अर्घाखाँची, गुल्मी, प्यूठान लगायतका पहाडि जिल्लाका जिल्ला प्रशासन कार्यालयहरुमा नागरिकता बनाउने, राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको दैनिक भिडभाड देखिन्छ ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा कार्यालय समयमा काम नसकिएपछि राति नौ बजेसम्म पनि सेवा दिइरहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका प्रशासकीय अधिकृत नुमलाल पन्थीले जानकारी दिए ।
अहिले निर्वाचन कार्यालय जिल्ला प्रशासन कार्यालयमा मतदाता नामावलीमा नाम दर्ता गराउने तथा बाहिरी जिल्लाबाट दशैं तिहार मनाउन आएका विभिन्न युवा युवतीले पनि जिल्ला आएका बेला नागरिकता पासपोर्ट परिचयपत्र भएको कारण जिल्ला प्रशासनमा नागरिकता बनाउनेको चाप बढ्दै गएको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।
विगतमा औसतमा दैनिक ५०/६० जनालाई नागरिकता वितरण गरेपनि अहिले दशैं सकिएको भोली पल्टबाट दैनिक २ सय ५० जना भन्दा बढी नागरिकता वितरण भइरहेको प्रजिअ अर्यालले सुनाए ।
नागरिकता बनाउनेको चाप बढ्दै गएपछि प्रशासन कार्यालयका कर्मचारीहरुलाई काम भ्याउन सेवाग्राहीलाई सन्तुष्ट पार्न हम्मेहम्मे परेको छ । नागरिकलाई राम्रो सेवा प्रदान गर्ने उद्देश्यले प्रशासन कार्यालयका कर्मचारीहरु रातिको ९ बजेसम्म समेत नागरिकता शाखाको सेवा दिइरहेको बताउँछन् । ‘जिल्लाका विभिन्न स्थानबाट वृद्धवृद्धाहरु नागरिकता बनाउन आएका छन् । कोही पनि निराश भएर खाली हात फर्कनु नपरोस् भन्ने उद्देश्यले हामीले फारम दर्ता गरिसकेका सेवाग्राहीहरुलाई रातिसम्म भएपनि पनि सेवा दिइरहेका छौं,’ प्रजिअ अर्यालले मध्यान्हसँग भने ।
बिहीबार जिल्लाको शितगंगा नगरपालिका ६ की ६३ वर्षीया बिष्णु बैजालीले पनि नागरिकता पाएपछि भनिन्,‘पहिला–पहिला नागरिकता नहुँदा पनि भोट हाल्न पाइन्थ्यो तर आजभोली त नागरिकता माग्छन् । त्यसैले नागरिकता बनाए । आउने चुनावमा मैले पनि भोट हाल्न पाउँछु, नेताले देश बनाएनन् । भोट हाल्न हामिले यति दुःख गर्छौ ।’
नागरिकता वितरणमा चाप बढेपछि प्रजिअ अर्याल आफैं सेवाग्राही बस्ने कुर्सीमा बसेर सेवाग्राहीको गुनासो सुनेर सम्बोधन गर्दछन् । उनले सेवाग्राहीहरुसँग कार्यालयको सेवाबारे सोधपुछ गर्दै आफै विभिन्न फाँटमा गएर सेवा प्रदान गरिरहेको कर्मचारीहरु बताउँछन् । अर्घाखाँची जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नुमलाल पन्थिका अनुसार दशैं तिहारमा जिल्लामा आउनेको संख्या बढेको कारण नागरिकता बढाउनेको चाप बढेको हो । नागरिकता बनाउनको चाप बढेपनि सेवाग्राहीलाई दुःख नहोस् भन्ने उद्देश्यलाई मध्येनजर गर्दै अन्य शाखाका कर्मचारीलाई पनि नागरिकता शाखामा लगेर सहज रुपमा नागरिकता वितरणको व्यवस्था मिलाइएको कारण सेवाग्राहीलाई कुनै किसिमको दुःख नभएको पन्थीले दाबी गरे ।
उनले कार्यालयमा सेवाग्राहीको चाप बढेपनि कुनै कर्मचारी वा कार्यालय उपर सेवाग्राहीको कुनै किसिमको गुनासो नआएको दाबी गरे ।
यस आर्थिक वर्षमा महिनामा १५ सय भन्दा धेरै नागरिक्ता सोही हाराहारीमा राहदानी र २ हजार भन्दा धेरै राष्ट्रिय परिचयपत्र वितरण गरिएको जिल्ला प्रशासान कार्यालय नागरिकता शाखाका नासु तेज प्रसाद दमासेले बताए ।