काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले थप तीन श्रम गन्तव्यमा काउन्सिलर श्रम र चार गन्तव्यमा श्रम सहचारी नियुक्त गरेको छ । मन्त्रालयले दक्षिण कोरिया, मलेसिया र कतारका लागि उपसचिव स्तरको काउन्सिलर श्रम र यूएई, साउदी अरेबियाको जेद्दा, मलेसिया र ओमानका लागि शाखा अधिकृत स्तरका श्रम सहचारी नियुक्त गरेको हो ।
दक्षिण कोरियाका लागि मैया कँडेल, मलेसियाका लागि कृष्णप्रसाद भुसाल र कतारका लागि सीता सुवेदी काउन्सिलर श्रम नियुक्त भएका छन् । कँडेल वैदेशिक रोजगार विभाग र अन्य मन्त्रालयमा कार्यरत रहेका छन् । श्रम तथा रोजगार कार्यालय विराटनगरमा कार्यरत पुष्पराज कटुवाल प्रतीक्षा सूचीमा परेका छन् । उपसचिव कँडेल यसअघिको काउन्सिलर श्रमको नतिजामा प्रतीक्षा सूचीमा थिइन् ।
मन्त्रालयले यूएईको श्रम सहचारीमा पंकज लाभ कर्ण, साउदी अरेबियाको जेद्दाका लागि जीवन कुमार घिमिरे, मलेसियाका लागि विकास कुमार रजक र ओमानका लागि दामोदर ज्ञवालीलाई नियुक्त गरेको छ । कल्पना खनाल रेग्मी प्रतीक्षा सूचीमा रहेकी छन् । नियुक्ति पाएकामध्ये रजक विभाग र अन्य हाल मन्त्रालयमा कार्यरत रहेका छन् ।
मन्त्रालयले गत भदौ १८ गते तीन श्रम गन्तव्यमा काउन्सिलर श्रम र चार गन्तव्यमा श्रम सहचारीका लागि दरखास्त आह्वान गरेको थियो । यसअघि केही ढिलो गरी नतिजा सार्वजनिक हुने गरेकोमा यस पटक दरखास्त आह्वान गरेको दुई महिना नपुग्दै नतिजा प्रकाशित गरेको हो ।
यसअघि जस्तै ढिलो नतिजा सार्वजनिक हुने ठानेका कतिपय प्रतिस्पर्धीहरूले भनसुन र दौडधुप समेत गर्न पाएनन् । मन्क्रालय निकट सूत्रका अनुसार कतिपय प्रतिस्पर्धी सचिवलाई भेट्ने उपयुक्त मौका र अवसरको योजना बनाइरहेका थिए । तर उनीहरू सचिवको ढोकामा नपुग्दै नतिजा सार्वजनिक भएको बताइएको छ । सरकार परिवर्तन हुने हल्ला चलेपछि छिटोछिटो कार्यसम्पादन भएको बताइएको छ ।
मन्त्रालयले केही दिनअघि मात्रै साउदी अरेबिया र यूएईका लागि काउन्सिलर श्रम तथा कतार र बहराइनका लागि श्रम सहचारी नियुक्त गरेको थियो । साउदी अरेबियाको काउन्सिलर श्रममा उपसचिव कविराज उप्रेती र यूएईका लागि दिपेन्द्र पौडेल नियुक्त भएका छन् । उप्रेतीले वैदेशिक रोजगार विभाग र पौडेलले वैदेशिक रोजगार बोर्ड र मन्त्रालयमा लामो समय काम गरेका थिए ।
कतारको श्रम सहचारीमा सुनिता थापा र बहराइनका लागि प्रेम प्रसाद पोखरेल नियुक्त भएका छन् । छनोट भएका काउन्सिलर श्रम र श्रम सहचारीहरू परराष्ट्र मन्त्रालयले दिने ओरिएन्टेशन लिएर तोकिएको देशमा जाने छन् । हाल यूएईमा दीनबन्धु सुवेदी, साउदी अरेबियामा देवेन्द्र कार्की काउन्सिलर श्रम र बहराइन जमुना काफ्ले, कतारमा कृष्ण पौडेल श्रम सहचारीको जिम्मेवारीमा रहेका छन् ।
मन्त्रालयले सबै श्रम गन्तव्यमा काउन्सिलर श्रम र श्रम सहचारीको नियुक्ति गरेपछि मन्त्रालयमा लामै समयदेखि त्यससम्बन्धी चासो र कौतुहलता हालका लागि समाप्त भएको छ । नियुक्ति पाउन नसकेपछि केही उपसचिव र शाखा अधिकृत अब श्रम मन्त्रालय रूँगेर काम छैन भन्दै अन्यत्र आकर्षक ठाउँमा जान शक्ति केन्द्रका बारेमा सोधखोज शुरू गर्न थालिसकेका छन् ।
परराष्ट्र मन्त्रालयले पछिल्ला दिनमा मागपत्र प्रमाणीकरणको जिम्मेवारीलगायतका काममा काउन्सिलर श्रम र श्रम सहचारीहरूको भूमिका खुम्च्याइरहेको छ । तर श्रम मन्त्रालयमा कार्यरत उपसचिवलाई काउन्सिलर श्रम तथा शाखा अधिकृतलाई श्रम सहचारी पदमा उच्च आकांक्षा रहने गरेको छ ।
मन्त्रालय, वैदेशिक रोजगार विभाग, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र मातहत कार्यालय, राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान, वैदेशिक रोजगार बोर्ड र सामाजिक सुरक्षा कोषमा कम्तीमा एक वर्ष काम गरेकोे उपसचिवले काउन्सिलर श्रम र शाखा अधिकृत श्रम सहचारीमा आवेदन दिन पाउने व्यवस्था छ । मन्त्रालय मातहत काजमा आएका कर्मचारीले आवेदन दिन पाउँछन् भने मन्त्रालयमा दरबन्दी भइ एक वर्षअघि काजमा गएका कर्मचारीले भने आवेदन दिन नपाउने व्यवस्था छ ।
दुवै पदका आकांक्षीले अंग्रेजी भाषामा आईईएलटीएस टेष्टमा ओभरअलमा ६ प्वाइन्ट, टोफल, पिबिटी, सिबिटीमध्ये कुनै एक परीक्षामा कम्तीमा ५५०२१३.७९ हासिल गरेको वा पीटीई परीक्षामा कम्तीमा ५१ अंक प्राप्त गरेको हुनुपर्ने प्रावधान छ । ज्येष्ठता र अनुभवका लागि १५ अंक, अंग्रेजी भाषा ज्ञानका लागि १० अंक, व्यावसायिक कार्ययोजना र प्रस्तुतीकरणका लागि १० अंक र सचिवको मूल्यांकनबापत ५ अंक गरी ४० पूर्णांकको परीक्षामा छनोट हुन बढी अंक प्राप्त गर्नुपर्ने व्यवस्था छ । सबै प्रस्तुतिपछि सचिवले कार्यसम्पादन मूल्यांकन शीर्षकमा ५ अंक दिने गरेका छन् । कतिपयले दुवै पदको नतिजा धेरै हदसम्म सचिवको ५ अंकमा निर्भर हुने टिप्पणी पनि गर्ने गरेका छन् ।