तेज बन/मध्यान्ह
इटहरी, १७ माघ । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर २, ३ र १९ मा दैनिक जंगली हात्तीले आतंक मच्चाउन थालेपछि स्थानीयहरू त्रसित बनेका छन् । इटहरी २ शान्तिनगर, बौका, इटहरी १९ ब्रह्राम्पुर र भवानीपुर क्षेत्रमा दिउँसै हात्ती आतंक मच्चिएपछि स्थानीयहरू त्रसित बनेका हुन् । आँगनमा गफ गरिरहेकै बेला छावासहित ४ वटा हात्तीहरू आएर घरभित्रकै धान लैजान थालेपछि भवानीपुरका स्थानीयहरूले जिउ ज्यानको सुरक्षा माग गरेका छन् ।
जंगली हात्तीको समूहले मंगलबार बिहान मात्रै ४ वटा घरमा क्षति पुर्याएको छ । इटहरी १९ ब्रहमपुरकी पवित्रा अधिकारी, कृष्णबहादुर विक, भवानीपुरकी दिलमाया विक र विष्णु राईको घरमा हात्तीले क्षति पुर्याएको हो । भवानीपुरका राईको घरमा ४ वटा हात्ती छिरेर कटेज भत्काइ भाडाहरू फुटाइदिएको छ भने दिलमायाको घर नै भत्काएर भित्रबाट धानको बोरा लगेको पिडितहरूले मध्यान्हलाई बताएका छन् ।
पटक–पटक उपमहानगरसँग हात्ती नियन्त्रणको माग गर्दै आएपनि कुनै सुनुवाइ नभएको पीडित दिलमाया विकले बताइन् । हात्ती आतंककै कारण अहिले सो क्षेत्रका वासिन्दाहरू रातभर जाग्राम बस्ने गरेका छन् । दिनभरि आफ्नै काम, रातभर जाग्रम यस्तै छ यहाको अवस्था हात्ती धपाउन रातभरि जाग्राम बसेका इटहरी १९ का विष्णु राई बताउछन् ।
त्यस्तै इटहरी १९ भवानीपुरस्थित सूर्य टोलमा पनि स्थानीयहरू दैनिक हात्ती धपाउनकै लागि रातभरि जाग्राम बस्ने गरेका छन् । रातभरि आगो बालेर र थाल ठटाएर हात्ती धपाउने गरेको उनीहरू बताउछन् । इटहरी १९ का वासिन्दाले मंगलबार नै वडा कार्यालय पुगेर वडाध्यक्ष श्रीनारायण चौधरीलाई भेटि जिउ ज्यानको सुरक्षाका साथै विद्युतीय पोलहरूमा बत्ती र साइरन माग गर्दै लिखित निवेदन दिएका छन् । हात्ती आतंकबारे उपमहानगरसँग छलफल गरी समस्या समाधानका लागि आवश्यक पहल भइरहेको इटहरी १९ का वडाध्यक्ष चौधरीले मध्यान्हलाई बताए ।
यता उपमहानगरका मेयर हेमकर्ण पौडेलले पनि इटहरीको विभिन्न वडाहरूमा हात्ती आतंक मच्चिएको स्वीकार्दै कतिपय दिनहरूमा आफै पनि गस्तीमा निस्किएर हात्ती धपाउने गरेको बताए । समस्या समाधानका लागि सरोकारवालाहरूसँग छलफल भइरहेको र चाडै नै यो समस्या हल हुने मेयर पौडेलले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies