पुस्तक रेग्मी/मध्यान्ह
मड्रिड, १७ माघ । युरोपेली देश पोर्चुगलमा नेपाली दूतावास खोल्न त्यहाँ कार्यरत नेपाली समुदायबाट पहल भएको छ । पोर्चुगलमा रहेका आप्रवासीहरुलाई सहयोग गर्न खोलिएको नेपाली सहायता केन्द्रका अध्यक्षसमेत रहेका युवा व्यवसायी बिक्की सुवेदी लगायतले पोर्चुगिष्ट राष्ट्रपति मार्सेलो रेबेलो डे सोउसालाई भेटेर पोर्चुगलमा नेपाली दूतावास खोल्न आवश्यक पहल गरिदिन आग्रह गरेका हुन् ।
नेपालको पर्वत जिल्लाको सदरमुकाम कुश्मामा जन्मिएका सुवेदी गैरआवासीय नेपाली सघं (एनआरएनए) क्षेत्रीय समिति ओलेन्तेजोका उपाध्यक्षसमेत हुन् । व्यवसाय तथा समाजसेवामा समेत सक्रिय सुवेदीले पोर्चुगलमा नेपालीहरुका समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा पोर्चुगलका राष्ट्रपतिसँग भेटवार्ता गरेका छन् ।
पोर्चुगिष्ट राष्ट्रपति मार्सेलोसँगको भेटमा पोर्चुगलमा रहेका नेपालीहरुको समस्याबारे अवगत गराउदै त्यसको समाधानको उपायबारे छलफल भएको उनले बताए । सबैभन्दा पहिले हामी नेपालीहरु नै एकजुट हुन जरुरी रहेको उनको भनाइ छ । किनभने यहाँ व्यक्ति अनुसार फरक–फरक कुराले नयाँ आउने व्यक्तिहरु अल्मलमा पर्ने गरेका छन् । सहि सूचनाको अभावमा मनगणन्ते सूचना प्रवाह गरेर नयाँहरुलाई उचित परामर्श नदिई फसाइदिने, कानूनी प्रकृयाबाट काम नगरी दिने, काम गरे जस्तो बहानामा पैसा लिने तर काम नै नगर्ने तथा सम्पर्क विहीन भइदिने प्रवृत्तिबाट धेरै नेपालीले दुःख पाइरहेको उनले बताए ।
४० हजार भन्दामाथि नेपालीहरु रहेको देशमा राजदूतावास नहुनु नेपाल सरकारको लागि पनि लज्जास्पद विषय भएको सुवेदीले बताए । यसबारेमा एनआरएनए लगायतका संस्थाहरुबाट संस्थागत रुपमा धेरै पटक ज्ञापनपत्र बुझाइ सकेपनि कुनै चासो नदिइएको उनको भनाइ छ । दूतावासका लागि पटक–पटक नेपाल सरकारको ध्यानाकर्षण गराएपनि कुनै प्रतिक्रिया नपाएको अवस्थामा पोर्चुगिष्ट राष्ट्रपति मार्सेलोसँग भेटवार्ता भएको उनले बताए । भेटमा अन्य समसामयिक विषयमासमेत कुरा भएको सुवेदीले जानकारी गराए ।
भेटमा पोर्चुगलका राष्ट्रपतिको प्रतिक्रिया एकदमै सकारात्मक पाएको उनले बताए । राष्ट्रपतिसँगको भेटमा करिब ४०/५० हजार नेपालीहरु बसोबास गर्ने पोर्चुगलमा नेपाली राजदुतावास नहुदा आप्रवासी नेपालीहरू समस्यामा रहेकोबारे जानकारी गराउदै पोर्चुगलमा पनि नेपाली दूतावास कसरी ल्याउन सकिन्छ भन्ने विषयमा कुराकानी भएको सुवेदीले बताए ।
राष्ट्रपति मार्सेलो आप्रवासीको समस्याबारे एकदमै सकारात्मक रहेको र आफ्नो तर्फबाट गर्नसक्ने सहयोग गर्ने आश्वासन दिएको पनि सुवेदीले मध्यान्हलाई बताए । हाल पोर्चुगलमा बस्दै आएका सुवेदी विगत एक दशकदेखि व्यवसायमा संलग्न छन् । उनी पोर्चुगलकै कान्छा नेपाली व्यवसायीको रुपमा चिनिन्छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies