२०८१ कार्तिक २१ गते बुधवार / Nov 06 , 2024 , Wednesday
२०८१ कार्तिक २१ गते बुधवार

प्रकृति र मानवीय चेतना

ADV
२०८१ कार्तिक १४ गते ०६:२५
प्रकृति र मानवीय चेतना

–लेखनाथ ढकाल

“मानिस स्वतन्त्र जन्मन्छ तर, ऊ आफूलाई चारैतिर बन्धनमा पाउँछ ।” प्रख्यात दार्शनिकको यो भनाई सबैले जीवनमा महसुस गरेको विषय हो । मानिस जन्मेर आमा, वरिपरिको परिवेशसँगको सामिप्यताले नयाँ अनुभव गर्छ । आमाले बोलेको भाषा र वातावरणका आवाजबाट भाषाको सिकाई सुरु हुन्छ । खाली दिमागमा ज्ञान, अनुभव र वरिपरिको वातावरणको सिकाइले नयाँ कुरा भरिँदै जान्छन् । विस्तारै स्कुल, साथीभाइ र अन्य पक्षहरूबाट मानिसले ज्ञान सिक्छ । मानिसमा पहिलेको पुस्ताले आर्जन गरेको ज्ञान, अनुभव र प्रविधिलाई पुस्तान्तरण गर्ने क्षमता विकास भएपछि त मानिसको ज्ञानको विकासमा तीव्रता आउने नै भयो । परापूर्वकालका पुर्खाले आर्जन गरेका ज्ञान, सीप र अनुभव विकास तथा परिमार्जन हुँदै पुस्तान्तरण हुँदै आउँदा मानव जाति उच्च बुद्धिमान प्राणी बन्न पुग्यो । सम्भवतः प्रकृतिको सबैभन्दा उत्कृष्ट सिर्जना मानव जाति हो । प्रकृति ज्ञानको महान् गुरु हो । 

मानिसको सम्पूर्ण ज्ञानको स्रोत र उत्प्रेरक मात्र नभएर सृष्टिकर्ता प्रकृति हो । प्रकृतिले दिएको शक्तिले नै मानिसले कलाको विकास गर्‍यो । प्रकृति र कला एउटै दिशामा उन्मुख भएको जीवन पद्धति नै सबैभन्दा सुखी, समृद्धि र सन्तुलित हुन्छ । यो पनि प्रकृतिले सिकाएको हो । अतः प्रकृति महान् गुरु हो । 

प्रकृति स्वतः आफ्नो पारामा सनातनी प्रक्रियामा चल्छ । प्रकृति गतिशील छ, एक अवस्थाबाट अर्को अवस्थामा पुग्छ । प्रकृति पनि असन्तुलित छ र सन्तुलनको अवस्थाको लागि गतिशील रहन्छ । जब, सन्तुलनको निकट पुग्छ त्यसभित्र रहेका केही पक्षहरूले चरम असन्तुलनमा पुर्‍याई दिन्छन्, फेरी सन्तुलनका लागि अर्को चक्कर काट्नु पर्ने अवस्था आउँछ । मानौँ एउटा धागोले झुन्ड्याएको एउटा फलामको डल्ला अलिकति मच्चाई दिने हो र छोडी दिने हो भने दिनभरि हलिन्छ, फेरी सन्तुलनमा आउँछ । सन्तुलनमा आउँदा गतिका कारणले शक्ति आर्जन गर्छ सो शक्तिले अर्को दिशामा हुत्याई दिन्छ । फेरी त्यही प्रक्रिया दोहोरी रहन्छ । समुद्रको पानी छाल बनेर आउँछ, फेरी फर्केर समुन्द्रमा नै जान्छ । जीवित प्राणीको जन्म हुन्छ, वृद्धि हुँदै परिपक्व हुन्छ सन्तान जन्माउँछ अनि मर्छ । अर्को पुस्ताको पनि उही क्रिया दोहोरिन्छ । 

जीवित प्राणीको चेतना हुन्छ, बुद्धि हुन्छ । वातावरणको प्रतिकुलतालाई झेल्दै झल्दै बुद्धिको विकास हुँदै विकसित प्राणी बन्छ । लामो समयको यो संघर्षले मानिस जस्तो प्रकृतिका प्रतिकुलतालाई अनुकूल बनाउने क्षमता आर्जन गर्छ । मानिसले प्रकृतिलाई आफू अनुकूल बनाउने कलाको पनि विकास गर्‍यो । कतिपय कुरामा त प्रकृतिलाई समेत बेवास्ता गर्दै भड्किलो कलाको उपयोग गर्न थाल्यो । मानिसको जिन्दगी प्रकृति र कलाको संयोजन भन्न सकिन्छ । प्रकृति र कलाको बिचमा धेरै अन्तर्विरोध रहेमा मानिसका लागि उपयुक्त हुँदैन, किनकि प्रकृति नै सत्य हो । सत्यसँग पौठेजोरी खेल्नु अत्यास निम्त्याउनु हो । यदि मानिसले घमन्डी भएर आफ्नो स्वार्थका लागि उत्ताउलो हर्कतलाई बढवा गरे प्रकृतिसँगको सन्तुलन हुन कठिनाइ हुने अवस्था आउने अनुमान गर्न सकिन्छ । अर्को कुरा स्वतः सततः गतिशील रहने प्रकृतिमा कहिले काहीँ अचानक नयाँ अवस्था आउँछ, यसले जीव जगतमा ठूलो उथलपुथल ल्याउँछ । कयौं जातिहरू लोप हुँदै जान्छन् । 

प्रकृति सत्य हो । प्रकृति यथार्थ हो । प्रकृति सबै जीव जगतको सिर्जनाकर्ता हो । प्रकृति गुरु हो, शिक्षक हो । प्रकृति विशाल छ । प्रकृति पूर्ण छ । सत्य, यथार्थ र पूर्ण कुरा सरल हुन्छ, पारदर्शी हुन्छ, नियमबद्ध हुन्छ र अनुशासित हुन्छ । चेतनशील मानव जातिले सिक्ने सबै कुरा प्रकृतिको देन हो । प्रकृतिले सिकाएको ज्ञानलाई मानिसले विश्लेषण गर्छ, संश्लेषण गर्छ, आफ्नो कार्यकुशलताले व्यवस्थित गर्छ । आफ्ना लागि मानिसले आफ्नो बुद्धि विवेक कार्यकुशलताको प्रयोग गरेर कला र प्रविधिको विकास गर्‍यो । तथापि, कला र प्रविधिको ज्ञानको मूल गुरु प्रकृति नै हो । आफ्नो उत्पत्तिको आधार, संरक्षक, अभिभावक र गुरु प्रकृतिलाई उचित सम्मान नगर्नु मानिसको घमन्ड हो । प्रकृतिलाई सम्मान गर्ने नाममा पहाड, खोला, रुख, सूर्य, चन्द्रमा, तारा, ग्रह आदिलाई भोग बलि चढाउने र अनेक प्रकारका ईश्वरीय शक्तिका विम्ब खडा गरेर अन्धभक्त हुन थाल्यो ।

प्रकृतिलाई बुझ्न सकिन्छ । प्रकृतिलाई बुझ्न सक्ने क्षमता मानिसले आर्जन गरेको छ । मानिसको जातिभित्रै केही समूह प्रकृतिको अझ गहिराइसम्मको ज्ञान आर्जन गर्ने प्रयत्न गरिरहेका छन् । मानिसको जातिभित्रको केही समूह प्रकृतिलाई ईश्वरीय शक्तिका रूपमा पूजा गर्ने विषय बनाइरहेको छ । प्रकृतिको सिर्जना मानिस त आफैंमा जटिल मानसिक रनभुल्लमा अलमलिएको छ । मानिसको शत्रु मानिस नै भएको छ । मानिसको पीडक मानिस नै भएको छ । प्रकृतिको प्रदूषक मानिस भएको छ । अनि भ्रम र काल्पनिक आदर्शलाई विश्वास गर्ने मानिसको समूह सत्यलाई घृणा गरिरहेको छ । नेपाली समाजको कुरा गर्ने हो भने विज्ञान, चिकित्सा विज्ञान, आधुनिक प्रविधि र नयाँ आविष्कारका कुरा गर्दा पश्चिमा शिक्षाको प्रभाव परेको भन्ने लेबल लगाइन्छ । मानिसको सामाजिक चेतनालाई प्रदूषित बनाइएको छ । प्रदूषित सामाजिक चेतनाको फलस्वरूप खडा भएको सामाजिक सोच र संस्कारले हरेक परिवार र हरेक व्यक्तिलाई प्रभावित पारेको छ । कतिपय समाज त नयाँ र सत्य ज्ञानका लागि प्रतिकुल छ । सत्यको स्थान नै नहुने अवस्था रहेका समुदाय, परिवार हाम्रो वरिपरी नै देखिन्छन् ।

बालबच्चा जन्मने बित्तिकै गहना, आभूषणले सजाएर संस्कार सिकाउने काम हुन्छ । सम्भवतः बालबालिकाहरूले प्रकृतिको सत्य आवाजको प्रत्याभूति गर्ने वातावरण नै नपाएपछि त्यो बालक कसरी विद्धान हुनसक्ला । सानो उमेरमा नै नाक कान छेडेर गहना लगाउनु पर्ने, बालबालिकालाई सानो उमेरमा नै संस्कार सिकाउने नाममा ज्ञानको ढोका बन्द गर्ने प्रदूषित सोच बोकेका आमाबाबु ज्ञानका शत्रु बन्न पुगेका छन् । पढ्नु भनेको जागिर खाने प्रमाणपत्र पाउनु, लोकसेवा दिने प्रमाणपत्र पाउनु र पैसा कमाउनु नै परिभाषा बनाइएको छ, यो गलत नभए पनि पूर्ण होइन । ज्ञानको विकासमा मानव समुदायलाई नै योगदान दिन सक्ने तहको ज्ञान आर्जन गरोस् भन्ने सामाजिक व्यवहार छैन । प्रकृति, सत्य र विज्ञानमा आधारित ज्ञानको विकास गर्ने बालबालिका नै कुनै पनि क्षेत्रमा मास्टर हुन सक्छन् । ज्ञानको क्षेत्रमा मास्टर हुनु भनेको ज्ञानको विकासमा उच्चता प्राप्त गर्नु हो । 

सभ्यताको विकास क्रममा आधुनिक औद्योगिक युग र विश्वव्यापी बजारीकरणको युग आयो । यसमा सम्पत्ति, पुँजी, प्रविधि, उपभोग्य वस्तु, प्राकृतिक स्रोत, मानवीय शक्ति आदि विषयहरू प्रमुख रूपमा स्थापित भए । स्रोत र सम्पत्तिको वितरण तथा यसमाथिको स्वामित्वले सामाजिक संरचनाको ढाँचा बनेको छ । सत्य र वैज्ञानिक ज्ञानको हिसाबले यो तथ्यलाई आत्मसात् गर्छ । तर, हाम्रो समाजमा स्थापित सनातनी परम्परा र यसमा आधारित ज्ञानले समाजको संरचनालाई धर्म र ईश्वरीय देनका रूपमा लिन्छ । यी विरोधाभाषी विचारको सङ्गमको रूपमा रहेको समाजको अवस्था मूलतः अमानवीय बन्दै जान्छ । सामाजिक अर्थशास्त्र व्यक्ति केन्द्रित र अमानवीय हुनुमा सामाजिक ज्ञानमा कमी रहेको मान्न सकिन्छ । परिवर्तनको आवश्यकता मानवीय अर्थशास्त्रको स्थापनाका लागि रहेको मान्न सकिन्छ तर, यसका लागि काम हुन नसकेको गुनासो सबैतिर रहेको पाइन्छ । मूलतः मानवीय समाज निर्माणमा सत्य ज्ञानको आधारमा सामाजिक संरचना बनाउने, मानवीय अर्थशास्त्रले काम गर्ने ज्ञानको विकास आवश्यक हुन्छ । प्रकृति नै महान् गुरु हो, समयले परिवर्तन ल्याउँछ । समयले विकास क्रममा क्रान्ति ल्याउँछ ।

ADVADV

सम्बन्धित खबर

Advertise