२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

स्थानीय तहद्वारा साडी खरिदमा व्यापक भ्रष्टाचार गरेको आरोप

ADV
सत्येन्द्र प्रताप सिंह
२०८१ असार ३ गते २१:०७
स्थानीय तहद्वारा साडी खरिदमा व्यापक भ्रष्टाचार गरेको आरोप

रौतहट : रौतहटमा हिन्दु तथा मुस्लिमहरुको विभिन्न पर्वमा महिलाहरुलाई साडी वितरण गर्ने होडबाजी नै चलेको छ । साडी वितरणको पछाडि स्थानीय सरकारका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको व्यक्तिगत स्वार्थका कारण पनि यो चलन मौलाएको हो ।

जिल्लामा रहेका अधिकांश स्थानीय तहले हिन्दु र मुस्लिमहरुको विभिन्न पर्वको नाममा लाखौं लाख मूल्यको साडी वितरण गरी आफुलाई विकास पुरुष हो भन्ने छाप छाड्न साडी वितरण गर्ने गरेका र पछि उक्त साडीमा व्यापक भ्रष्टाचार गर्ने गरेका छन् ।

यहाँका अधिकांश स्थानीय तहले गौरमा रहेको चुकी इन्टरप्राइजेज, ओम साइ जनरल एण्ड अर्डर सप्लायर्स, अमान टेडर्सबाट २५ लाख भन्दामाथि साडी खरिद गरेको महालेखा परीक्षणको रिपोर्टमा देखिएको छ । माथि उल्लेखित फर्महरुले स्थानीय तहलाई बिक्री गरेको साडीको संख्यालाई हेर्ने हो भने विक्रेताले आयात गरेको संख्याको दोब्बर भन्दामाथि रहेको गौर भन्सारको तथ्यांकबाट प्रष्ट हुन सकिन्छ ।

सदरमुकाम गौर लगायतका बजारमा रहेका यी फर्महरुले अधिकांश साडी भारतबाट खरिद गर्ने गरेका छन्, जुन विभिन्न सीमावर्ती नाकाहरुबाट भन्सार छली गरेर यी व्यापारिक प्रतिष्ठानसम्म आइपुगेका हुन्छन् ।

यसरी भारतबाट भन्सार छलेर नेपाल भित्र्याइएका ४ देखि ६ सयसम्म मूल्यका भारतीय साडीलाई चुकी इन्टरप्राइजेज, ओमसाई जनरल एण्ड अर्डर सप्लायर्स, अमान टेडर्सले १४ सयदेखि २ हजारसम्मको बिल बनाइ स्थानीय तहका जनप्रतिनिधिहरुसँग मिलेर व्यापक भ्रष्टाचार गरेको प्रष्ट देख्न सकिन्छ ।

स्थानीय तहले खरिद गरिएको साडीका यी व्यापारी प्रतिष्ठानहरु फेरि बजारमा खोज्दा कतै नभेटिने किसिमले समेत रहेको बुझिएको छ । कुनै–कुनै स्थानीय तहले खरिद गरेको साडीको संख्यालाई विस्तृत रुपमा अनुसन्धान गर्ने हो भने सो पालिकामा रहेको महिला संख्याभन्दा अधिक रहेको समेत भेटिएको छ ।

जुनबाट यो प्रष्ट हुन्छ कि सो स्थानीय तहले कम साडी खरिद गरी बढी साडीको बिल बनाउन लगाइ महिलाको साडीमै भ्रष्टाचार गरेका छन् । यस सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरी घिमिरेले आफुहरु सो विषयमा छानबिन गरी दोषी भेटिए कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise