जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्रथम दीक्षान्त समारोहको तयारी पूरा भएको छ । कात्तिक २८ गते प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रतिष्ठानका कुलपति डाक्टर मंगल रावलका अनुसार प्रधानमन्त्री ओलीले दीक्षान्त समारोहको उद्घाटन गर्नुका साथै नवनिर्मित शैक्षिक भवनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
प्रतिष्ठानका अनुसार सो कार्यक्रमका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेल पनि जुम्ला आउने कार्यक्रम छ । उक्त दीक्षान्त समारोह कार्यक्रममा ५८ जना विद्यार्थी दीक्षित हुने भएका छन् । प्रतिष्ठानका सिनेट सदस्यहरु समेत जुम्ला आइ पुगिसकेका छन् ।
दीक्षान्त समारोहका लागि प्रधानमन्त्रीको तयारी टिम, सिनेट सदस्य तथा विद्यार्थी जुम्ला पुग्ने क्रम जारी रहेको छ । दीक्षान्त समारोहमा प्रतिष्ठानका संस्थापक संयोजक कर्णाली प्रदेश सरकारका पूर्व कानूनमन्त्री नरेश भण्डारी र सहसंयोजक पूर्वराज्यमन्त्री बलबहादुर महत पनि जुम्ला आएका छन् । यस अघि गत्त भदौ २३ गते प्रधानमन्त्रीको व्यवस्तताका कारण दीक्षान्त समारोह स्थगित भएको थियो । यस पटक उक्त कार्यक्रम पुनः हुने भएको हो ।