२०८१ कार्तिक २४ गते शनिवार / Nov 09 , 2024 , Saturday
२०८१ कार्तिक २४ गते शनिवार

ओझेलमा परेको विज्ञान पत्रकारिता

ADV
२०८१ असार ५ गते ०६:३०
ओझेलमा परेको विज्ञान पत्रकारिता

–खिमराज गिरी

पत्रकारिताका विविध विधाहरूमा विज्ञान पनि एक हो । अन्य विधाहरू जस्तैः राजनीतिक, सामाजिक, आर्थिक, धार्मिक, सांस्कृतिक, खेलकुद, मनोरञ्जन, स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रका विविध विधामा समाचार प्रेषित गरेजस्तै विज्ञान पत्रकारिता पनि एक महत्वपूर्ण विधाको रूपमा चिनिन्छ । खासमा विज्ञानसँग सम्बन्धित विषयबारे अनुसन्धान तथा वैज्ञानिकले पत्ता लगाएका कुराहरूलाई सत्य र तथ्यमा आधारित भई समाचार दिइन्छ भने त्यसलाई विज्ञान पत्रकारिता भनिन्छ । विज्ञान पत्रकारितामा भ्रम जहिले पनि टाढा हुन्छ र सत्य तथा तथ्य जहिले पनि नजिक हुन्छ । जस्तैः सूर्य ग्रहण लाग्दा मानिसले अनिवार्यरूपमा नुहाउने, खाना नखाने, सम्भवतः त्यो दिन बिदा दिने, सोझो आँखाले नहेर्ने जस्ता प्रचलन परम्परागत रुढिवादीतामा आधारित छन् तर, विज्ञानमा भने पृथ्वीले सूर्यको परिक्रमा गर्दै गर्दा सूर्य, चन्द्रमा र पृथ्वी एउटै सरल रेखामा पर्दाका परिणाम नै ग्रहण हो । वास्तवमा यो छायाँ हो भनेर प्रमाणित गराएको छ भने त्यस्तो विषयलाई पत्रकारहरूले सही सत्य र तथ्यमा आधारित भएर समाचार प्रकाशित गरे भने तबमात्र विज्ञान पत्रकारिताको औचित्यता रहन्छ । अन्यथा, चन्द्रमालाई कष्ट हुन्छ भनेर नुहाउने, त्यो दिन खाना नै नखाने आदि कामलाई पत्रकारले महत्व दिएर सामाग्री प्रकाशित गर्दछन् भने त्यो विज्ञान पत्रकारिता हुन सक्दैन । 

विज्ञान पत्रकारितामा धेरै प्राविधिक कुराहरू थाहा पाउनु पर्दछ । यसको लागि सम्बन्धित विषयको अध्ययन गरेको व्यक्ति भए अझ राम्रो हुन्छ अन्यथा, यस विषयका विज्ञसँग कुनै पनि विषयबारे लेख्न खोज्दा विस्तृतरूपमा सोधखोज गरेर मात्र सामाग्री प्रस्तुत गर्दा राम्रो हुन्छ । ‘दोलखा भीमसेनलाई पसिना आयो रे !’ अनि ‘गणेशले दूध खाए रे !’ भनेको भरमा समाचार प्रकाशित गर्न थाल्ने हो भने त्यसमा जनतालाई दिग्भ्रमित मात्र पार्नु हो । 

विज्ञान पत्रकारिताको विकासक्रम

विज्ञान सञ्चारको विकास पहिला परम्परागत दृष्टिकोणका साथै एकेडेमिक पत्रिकाहरूमा मात्र सीमित थियो । यसको पहुँच सीमित श्रोताहरूमा मात्र थियो । पछि यस विधामा पनि विकासको क्रमसँगै विस्तारै डिजिटल माध्यममा रूपान्तरण भयो । पछि इन्टरनेटको विकासले यस क्षेत्रमा वैज्ञानिकहरूले कसरी काम गरेका छन्, यसको सतही वास्तविकता के रहेछ भन्ने कुरा पत्ता लाग्न थाल्यो । जसले गर्दा यसको क्षेत्र फराकिलो र अध्ययन झन् गहिरिएर हुन थाल्यो । आधुनिक विज्ञान सञ्चारकर्मीहरूले भिडियो र इन्फोग्राफिक्सदेखि अन्तरक्रियात्मक वेव अनुभवहरूसम्म विविध श्रोताहरूलाई विभिन्न कुराहरूमा सूचित पारेको पाइन्छ ।

यसको महत्व

विज्ञान पत्रकारिता डिजिटल युगमा प्रवेश गरेपछि यसको दायरा फराकिलो भएको छ । विज्ञानको चमत्कारिता तथा पुरानो रूढिवादिताको भ्रमलाई चिरेर कुनै पनि कुराको यथार्थलाई स्वीकार गर्ने बानी बसाइदिएको छ । यसले विश्वव्यापी समुदायसँग राम्रो सम्बन्ध राख्न मद्दत गरेको छ । यसबाट तथ्यगतरूपमा विभिन्न अन्तरक्रियाहरू भइरहन्छन्, जसले गर्दा धरातलीय यथार्थबाट मानिसहरू टाढा रहन सक्दैनन् । यसले पत्रकारहरूलाई हरेक विषयको अन्तरक्रियाको लागि सक्षम बनाएको छ । डिजिटलाइजेसनले नयाँ–नयाँ रचनात्मक कुराहरू प्रति रुचि र चासो बढेको छ । पहिला पृथ्वी गोलो नभई चेप्टो छ र यसलाई माछा तथा नागले धानेर राखेको हो भन्ने जस्ता धेरै भ्रमलाई विज्ञानले सत्यता के हो भन्ने कुरा प्रष्टयाएको छ । र, यसलाई पत्रकारहरूले पनि सधैँ लगनशीलताको साथ सत्य र तथ्यमा आधारित भई यसप्रति झन्झट नमानी खोजी कार्यमा अग्रसर भइरहनुपर्छ । तसर्थ, भन्ने गरिन्छ किः विज्ञान र अडियन्सको पुलको रूपमा पत्रकारहरूले काम गर्नुपर्दछ । तबमात्र यसको वास्तविकता आमदर्शक, श्रोता, पाठक तथा प्रयोगकर्तालाई बुझाउन र बुझ्न सजिलो पर्दछ ।

नेपालको अवस्था

वास्तवमा नेपालमा पहिलादेखि नै अन्य विधाभन्दा विज्ञान विधाको पत्रकारिता अलि पछि परेको अवस्था हो । यसको प्राविधिक पक्षमा असहजता अर्थात् यसका प्राविधिक शब्दहरू जान्न पत्रकार आफैंलाई अप्ठ्यारो महसुस हुन्छ भने आम पाठकलाई कसरी बुझाउने ? त्यस्तै, यसमा पत्रकारिताको लागि प्रायः सम्बन्धित विषयमा ज्ञान हासिल गरेको पत्रकार भएमा सहज हुन्छ तर, यस्ता पत्रकार विरलै पाइन्छ । अर्कोतिर, प्रायः मिडिया हाउसहरूले यो बिटमा पत्रकारिताको खोजी नै गर्दैनन्, किनकी महँगो पर्दछ र गरिएता पनि सेकेन्डरी डाटामा निर्भर रहन्छन् । तथापि, हाम्रो जीवनको प्रत्येक पाइलासँग विज्ञान जोडिएकोले यसप्रति ध्यान दिन जरुरी देखिन्छ । 

विज्ञान सञ्चारको चुनौतीहरू

वास्तवमा नेपालमा विज्ञान पत्रकारिताको लागि विभिन्न कारणले गर्दा धेरै नै चुनौतीहरू देखिएका छन् । जसको उदाहरणमा शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको लागि राज्यले छुट्याएको बजेटमा शिक्षा र विज्ञान प्रविधिमा दिइने प्राथमिकता पृथक छ । शिक्षाको लागि बजेट धेरै दिइन्छ तर, विज्ञान र प्रविधि मन्त्रालयलाई न्यून बजेट दिइन्छ र सरकारले पनि यसको विकासमा त्यति ध्यान दिएको पाइँदैन । विज्ञानको क्षेत्रमा नयाँ–नयाँ आविष्कार गर्नको लागि राज्यले पनि थप लगानी गर्नुपर्दछ र सोही मन्त्रालयबाट भए गरेका राम्रा तथा नराम्रा कार्यप्रति जनतालाई सचेत गराउने मामलामा पत्रकारिता क्षेत्र पनि त्यति सक्रिय रहेको पाइँदैन । किनकी यसको लागि नेपालमा प्रायः मिडियाद्वारा छुट्टै बिट खोलिएको पनि छैन । यस सम्बन्धमा पृथक बिट खोलेर पत्रकारिता पेशालाई सुदृढ गर्नको लागि महँगो पर्न जान्छ । तसर्थ, यसमा सहयोगको भावना नहुनु, पत्रकारिता क्षेत्रमा काम गर्ने पत्रकारहरूमा लगातार सिक्ने तत्परताको कमी हुनु, प्रशस्त मात्रामा फन्ड नहुनु नै यसका मुख्य चुनौतीका विषयहरू हुन् । 

त्यस्तै, अन्य चुनौतीहरूमा ग्रामीण क्षेत्रमा भरपर्दो इन्टरनेट र डिजिटल प्रविधिको अभाव छ । विज्ञानको साक्षरता दर कम भएकोले यो विधामा पनि पत्रकारहरू बिरलै पाइन्छ, जसले गर्दा हरेक जनतालाई विज्ञानको नयाँ–नयाँ आविष्कारबारे जानकारी कमै मात्रामा पुग्ने गरेको छ । डिजिटल प्रविधिको सुविधा भएता पनि मिस इन्फरमेसन तथा डिस इन्फरमेसनको कारणले अनावश्यक बिना तथ्यका समाचार छापिएका हुन्छन् । यो पनि चुनौतीको विषय हो । 

अर्को समस्या तथा चुनौती भनेको भाषागत अस्पष्टता हो । प्रायजसो विज्ञानको विद्यामा अंग्रेजी भाषाको प्रयोग गरिएको हुन्छ, किनकी त्यसमा प्राविधिक शब्दहरू हुन्छन् । जसले गर्दा त्यसलाई नेपालीमा उल्था गर्न मिल्दैन र सर्वसाधारण जनतालाई बुझाउन पत्रकारलाई धेरै अप्ठ्यारो हुन्छ । त्यस्तै, बहुभाषिक दृष्टिकोण, सांस्कृतिक संवेदनशीलता, भिजुअल स्टोरी टेलिङ्ग, इन्फोग्राफिक्स जस्ता कुराहरूमा असहजता पाइन्छ । 

शुरुदेखि नै एक त विज्ञानको विधामा पत्रकारिता क्षेत्रको पहुँच अलि कमै थियो भने त्यसमा पनि मिडिया हाउसमा लगानी गर्ने लगानीकर्ताको विपक्षमा कुनै समाचार प्रसारण गरियो भने सम्पादकलाई अप्ठ्यारो पर्दथ्यो । अहिले पनि कुनै–कुनै मिडियामा यस्ता व्यवहार गरिन्छन् ।

निष्कर्षमा

फेरि पनि नेपालमा विज्ञान पत्रकारिताको चर्चा गर्दा ‘नेपाल फोरम अफ साइन्स जर्नालिस्ट’का अनुसार पत्रपत्रिका, अनलाइन प्लेटफर्म, टेलिभिजन र अन्य विविध समाचार माध्यममा विज्ञानसँग सम्बन्धित विषयवस्तुहरूको सीमित संख्यामा मात्र हाइलाइट हुनेगरि समाचार दिइन्छ र यसको लागि अझै पनि खुलेर र स्पष्टरूपमा प्रचार र प्रसार गर्न सकिएको छैन । 

यदि विज्ञानलाई पृथक विधामा राखेर अगाडि बढाउने हो भने पक्कै पनि यसतर्फ सकारात्मक परिणाम आउन सक्ला । तथापि, अझै पनि कतिपय मिडिया हाउसले राजनीतिक, सामाजिक, आर्थिक, धार्मिक, सांस्कृतिक, खेलकुद तथा मनोरञ्जनलगायतलाई मात्रै प्राथमिकतामा राखेको पाइन्छ । विज्ञानको क्षेत्र भने अझै पनि परै छ । तर, विज्ञानसँग सम्बन्धित सामाग्रीहरू केही पत्रपत्रिकाहरूमा मात्र प्रकाशित गराइन्छ, त्यही पनि स्रोतको राम्रो पहिचान भएको हुँदैन । 

तसर्थ, अहिलेको समय भनेको विज्ञान प्रविधिको समय हो । जति पनि मानिसहरूले सुखसुविधा, हरेक कार्यमा सहजता पाएका छन् ती सबै विज्ञानको योगदानले नै सम्भव भएको हो । आज मानिस काठमाडौंमा ब्रेकफास्ट खाएर दिल्लीमा लञ्चको लागि पुग्दछ र डिनरको लागि जापान जान सक्दछ । त्यस्तै, विश्व अहिले यति साँघुरिएको छ कि अमेरिकामा घटेका घटनाहरू नेपालमा तत्कालै थाहा पाउन सकिन्छ । त्यो सबै आधुनिक सञ्चार माध्यमको कारणले हो र यसमा विज्ञान पनि सँगसँगै जोडिएको हुन्छ । तसर्थ, अन्य देशको तुलनामा नेपालमा सञ्चार क्षेत्रमा विज्ञान बिटमा धेरै नै मिहिनेतका साथ समाचार सम्प्रेषण गर्नको लागि प्रयत्न  गर्नुपर्ने देखिन्छ । 

ADVADV

सम्बन्धित खबर

Advertise