जुम्ला : आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने संवैधानिक अधिकार छ । यो संवैधानिक हक र कानुनी अधिकार कार्यान्वयनका लागि सरकारले लगानी गर्दै आएको छ ।
तर, विद्यालयमा पुगेकाहरू नटिक्ने समस्याले अहिलेसम्म माध्यमिक शिक्षा परीक्षा (एसईई) पास गराउनै नसक्ने गाउँ पनि नेपालमा भेटिन्छन् । एक हो– जुम्लाको तातोपानी गाउँपालिकास्थित गोप्थाडा गाउँ, जहाँ एसईई पास गरेका नगारिक एक जना पनि छैनन् ।
तातोपानी गाउँपालिका वडा– २ मा अवस्थित गोप्थाडा गाउँमा २५ घरधुरीका बसोबास रहेको छ । उक्त गाउँबासीहरू भविष्यमा कुनै न कुनै व्यक्तिले आफ्नो गाउँबाट एसईई पास गर्ने आसमा छन् ।
स्थानीय शेरबहादुर डाँगीका अनुसार विभिन्न प्रयास गरिए तापनि कसैले एसईई पास गर्न सकिरहेका छैनन् । गोप्थाडा गाउँमा कक्षा ३ सम्म अध्ययन गर्ने विद्यालय छ । त्यसपछि हाई स्कुल अध्ययन गर्न विद्यार्थीहरू तातोपानीको हिम शिखर माविमा जाने गर्दछन् । बिडम्बना, कतिपय हिम शिखर माविमा पढ्न पुग्छन्, कतिपय पुग्दैनन् । पढ्न पुगेकाहरूमध्ये साह्रै कामले एसईई परीक्षा दिएका छन् तर कसैले पास गर्न भनेका सकेका छैनन् ।
स्थानीयका अनुसार अधिकांशले ८ कक्षा, ९ कक्षा पढेर छाड्छन् । परिणाममा गाउँ नै एसईई पास गर्ने व्यक्ति शून्य गाउँका रूपमा रहन बाध्य छ ।
नेपाल ३ तहको संघीयतासहितको अभ्यासमा गएको एक दशक हुन लाग्यो । स्थानीय सरकार निर्वाचित भएर एक कार्यकाल सकिएर दोस्रो कार्यकाल पनि आधार सकिँदै छ । तर, ३ वटै तहको सरकारले विद्यालय जाने विद्यार्थीलाई बीचमै स्कुल छाड्ने प्रवृति रोक्न गरेको प्रयासले जुम्लाको तातोपानी गाउँपालिकास्थित गोप्थाडा गाउँमा काम गरेन ।
सरकारले बजेट भाषणमा शिक्षालाई प्रथामिकता दिएको भनेर नीति तथा कार्यक्रम ल्याउँछ । तर, व्यवहारमा गोप्थाडा गाउँले एसईई पास गरेको व्यक्ति नभएको गाउँको आफ्नो परिचय बदल्न सकिरहेको छैन ।
स्थानीयका अनुसार गोप्थाडा गाउँको ३ कक्षासम्म पढाइ हुने विद्यालयमा अध्यापन गराउने शिक्षक गाउँबाहिरका छन् । यसो हुँदा ३ कक्षासम्मको पढाइसमेत नियमित र प्रभावकारी हुन नसकेको स्थानीयको गुनासो छ ।
कक्षा ३ सम्म पढाइ भइरहेको पैकेला आधारभूत विद्यालयका प्रधानाध्यापक बलबहादुर रावल गोप्थाडाबाट कसैलाई पनि एसईई पास गराउन नसकिएको बताउँछन् ।
तथापि, एसईई पास गरेका २ जना महिला भने बिहे गरेर गोप्थाडा पुगेका छन् ।
‘गोप्थाडाबाट कसैलाई पनि एसईई पास गराउन सकिएको छैन । तर पछिल्लो समय विवाह गरेर अन्य गाउँबाट आएका २ जना बुहारीले भने एसईई पास गरेको पाइएको छ ।’
गोप्थाडा गाउँका २ जना हाल कक्षा ९ मा अध्ययनरत छन् । स्थानीयका अनुसार सो गाउँका एक विद्यार्थी महेश डाँगी तातोपानीको हिमशिखर माविमा र बिष्णुमाया डाँगी जुम्ला सदरमुकामको चन्दननाथ माध्यामिक विद्यालयमा अध्ययन छन् ।
तातोपानी गाउँपालिका शिक्षा शाखा प्रमुख सुरतबहादुर शाही गोप्थाडामा एक अभिमुखीकरण कार्यक्रम राख्ने तयारी रहेको बताउँछन् । उनी भन्छन्, ‘गोप्थाडाको अवस्था सुधार्न तयार छौं । यसका लागि अभिभावक, शिक्षकसहितको कार्यक्रम राख्न आवश्यक छ ।’
तातोपानी गाउँपालिका वडा– २ का अध्यक्ष चन्द्रमान बुढाले गोप्थाडामा २५÷२६ घरधुरी रहेको बताए । उनले विद्यार्थीहरू स्कुलको पढाइ छाडेर भारत तर्फ जाने गरेको बताए । उनले आगामी दिनहरूमा एसईई दिने बिद्यार्थीलाई पालिकाले निशुल्क ट्युसन पढाइका लागि व्यवस्था गर्ने बताए ।
जुम्ला शिक्षा विकास तथा समन्वय इकाई जुम्लाका प्रमुख रमेश मल्ल २१औं शताब्दीमा पनि गोप्थाडा जस्तो गाउँ हुनु राज्यलाई चुनौती रहेको बताउँछन् ।
शिक्षा विकास तथा समन्वय इकाई जुम्लाका प्रमुख मल्ल भन्छन्, ‘अब गोप्थाडामा अध्ययन गर्न जाने सोच बनाएको छु । अब यो समस्या समाधान कसरी गर्न सकिन्छ, सबै मिलेर अगाडि बढ्न आवश्यक छ ।