प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार प्रतिनिधिसभा अवरोध गरिरहेको छ । प्रतिनिधिसभासँगै राष्ट्रियसभा पनि एमालेले चल्न दिएको छैन । सोमबार राष्ट्रियसभा बैठक एमालेले अवरोध गरेको थियो । पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरिएको भन्दै एमालेले अवरोध कायमै राखेको छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सहित १४ सांसदलाई एमालेले पदमुक्त गर्ने निर्णय गएको ३१ साउनमा गरेको थियो । तर पार्टीले पदमुक्त गर्ने निर्णय गरेपनि सभामुख अग्निप्रसाद सापकोटाले कार्यान्वयन नगरेको भन्दै एमाले सांसदहरुले सदन अवरोध गर्दै आएको छ । सभामुख सापकोटाले १४ सांसदलाई पदमुक्त नगर्दा पार्टी विभाजन भएको भन्दै एमालेले गएको २३ भदौदेखि प्रतिनिधिसभा अवरोध गर्दै गएको छ ।
एमाले सांसदहरुको अवरोधका बीच चालु आर्थिक वर्ष २०७८÷०७९ को संशोधित बजेट सरकारले ल्याएको छ । एमाले सांसदहरुको नाराबाजी र रोष्टम घेराउ बीच अर्थमन्त्री जनार्दन शर्माले संशोधित बजेट ल्याएका थिए । संसद्को बहुमतबाट संशोधित बजेट पारित भएको छ । तर सदन अवरोध कायम रहँदा केही समय सरकारले राज्यकोष खर्च गर्न नपाउने अवस्था समेत आएको थियो । सदन अवरोध एमालेले कायमै राखेको छ भने सभामुख सापकोटाले संसद् बैठक स्थगित गर्दै र नयाँ मिति तोक्दै आएका छन् । यसबीचमा सभामुख सापकोटाले एकपटक र प्रधानमन्त्री शेरबहादुर देउवाले सदनको अवरोध खुलाउन केहीपटक प्रयत्न गरेका छन् । तर एमालेको अडान कायमै छ भने सदन खोलाउने प्रयोजनका साथ बोलाइएको सर्वदलीय बैठकमा सहभागी भएको छैन ।
यसले जनताका दैनिक समस्याबारे प्रतिनिधिसभामा छलफल हुन पाएको छैन । जनप्रतिनिधिहरुले सरकारको कार्यशैली, जनताका समस्या लगायत विषय संसद्मा पुग्न सकेको छैन । हुन त राजनीतिक समस्याकै कारण गएको दुई वर्ष यता नै संसद्ले प्रभावकारी काम गर्न सकेको छैन । तत्काली नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक कलहकै कारण संसद् प्रभावकारी बन्न सकेको थिएन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले त दुई (५ पुस २०७७ र ७ जेठ २०७८) पटक त प्रतिनिधिसभा नै विघटन गरिदिए । तर दुवैपटक सर्वोच्च अदालतबाट पुनस्र्थापित संसद् फेरि एमाले अवरोधकै कारण सञ्चालन हुन सकेको छैन । तर समाधान भनेको दलहरुबीच सहमति नै हो । एकले अर्कालाई निषेध गरेर न विद्यमान समस्या हल हुनेछ, न त आगामी यात्रा सुगम हुनेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies