काठमाडौं : निजी विद्यालयका सञ्चालक संगठनहरूले भदौ १८ गतेसम्म माग सम्बोधन नभए अनिश्चितकालीन विद्यालय बन्द गर्ने चेतावनी दिएका छन् ।
प्याब्सन, नेसनल प्याब्सन, हिसान, अपेन र एनएमएलगायतका छाता संगठनहरूले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै विद्यालय शिक्षा विधेयक सच्याउनुपर्ने माग गर्दै चरणबद्ध आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका हुन् ।
सञ्चालकहरूले विधेयकमा राखिएका ‘विद्यालयलाई गैरनाफामूलक बनाउने’ र ‘आवासीय विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउनुपर्ने’ प्रावधानलाई अस्वीकार गर्दै त्यसलाई सच्याउन सरकारसँग आग्रह गरेका छन् ।
आन्दोलनका कार्यक्रममा भदौ १२ गते देशभरका जिल्ला सदरमुकाममा खबरदारी सभा, काठमाडौंमा माइतीघर मण्डलाबाट र्याली र कोणसभा गर्ने, भदौ १६ गते विद्यालय बसमा कालो झण्डा र ब्यानरसहित देशव्यापी र्याली निकाल्ने र भदौ १८ गते सबै जिल्लामा बहुत् ठूलो खबरदारी सभा गर्ने रहेको विज्ञप्तिमा उल्लेख छ ।
माग पूरा नभए भदौ १८ गतेबाट अनिश्चितकालीन विद्यालय बन्द गर्ने उनीहरूको घोषणा छ । संयुक्त विज्ञप्तिमा भनिएको छ, '२०८२ भदौ १८ गतेसम्म पनि हाम्रो मागको सकारात्मक सुनवाइ नभएमा अनिश्चितकालसम्मका लागि विद्यालय बन्दसम्मका कार्यक्रम घोषणा गर्ने ।”