काठमाडौं : सामाखुसी क्षेत्रमा कार्यालय स्थापना गरेका वैदेशिक रोजगार व्यवसायीलाई घरधनीहरुले साथ दिएका छन् । काठमाडौं महानगरपालिकाको ७ दिनभित्र कार्यालय हटाउनुपर्ने उर्दीपछि भएको म्यानपावर व्यवसायी र घरधनीहरुबीचको छलफलमा घरधनीहरुले म्यानपावर कम्पनीहरुले घर छोड्नुपर्ने पक्षमा आफूहरु नरहेकाले ट्राफिक व्यवस्थापन गरेर पूर्ववतरुपमा कार्यालय सञ्चालन गर्न आग्रह गरेको विस्डम ह्युमेन रिसोर्स प्रा.लि.का सञ्चालक भेष केसीले जानकारी दिए ।
महानगरपालिकाले ७ दिनभित्र कलकारखानासहित म्यानपावर कम्पनीका कार्यालय आवासीय क्षेत्र बाहिर सार्न माइकिङ गरेपछि वैदेशिक रोजगार व्यवसायी एकता समितिले वडाध्यक्षलगायतसग महानगरपालिकाले गरेको माइकिङका सम्बन्धमा छलफल गरेको थियोे । छलफलमा वडाध्यक्ष ख्यामराज तिवारीले म्यानपावर कम्पनीको कार्यालय राख्न नदिने वा दिने भन्ने कानूनमा स्पष्ट नभएको, तर आवासीय क्षेत्र छुट्याइएको अवस्थामा आवासीय क्षेत्रमा मापदण्डअनुसार हुनुपर्ने मध्यमार्गी धारणा सार्वजनिक गरेका थिए ।
व्यवसायी केसीले महानगरपालिको उर्दीपछि पहिलेदेखि नै कार्यालय सार्ने योजना बनाएका बाहेक उर्दीकै कारणले कुनै पनि म्यानपावर कम्पनी नसरेको जानकारी दिए । व्यवसायीहरुले कार्यालय सार्न वैदेशिक रोजगार विभागको अनुमतिसहित अन्य कानूनी प्रक्रिया पूरा गर्नुपर्ने भएकाले महानगरपालिकाले भन्नेबित्तिकै कार्यालय सार्न नसकिने बताएका छन् ।
काठमाडौं महानगरले माइकिङ गर्दै उक्त क्षेत्रमा सञ्चालनमा रहेका म्यानपावर कम्पनीसहित उद्योगहरु ७ दिनभित्र स्थानान्तरण गर्न निर्देशन दिँदै ७ दिनको अवधिमा स्थानान्तरण नगरेमा कानूनी कारबाही गर्ने बताएको थियोे । तर त्यसपछि महानगरपालिकाबाट थप कुनै निर्देशन आएको छैन । व्यवसायी केसीले वैदेशिक रोजगार व्यवसायीहरुबीच पार्किङको समस्यालाई समाधान हुने गरी पार्किङ तथा अन्तर्वार्ताका गतिविधि सञ्चालन गर्ने सहमति भएको र सोही अनुसार पार्किङ र अन्तर्वार्ताको कामहरु भइरहेको बताए ।
काठमाडौं : ईपीएस कोरिया शाखाले शुरु गरेको कोरियन भाषा परीक्षा आगामी २०८१ पुस २ गते सकिने भएको छ । सोमबार पहिलो चरणअन्तर्गत शुरु भएको उक्त परीक्षामा ४७ हजार पाँच सय १९ जना सहभागी हुने र परीक्षा आउँदो चैत २४ गते सकिने ईपीएस कोरिया शाखाका निर्देशक मैयाँ कँडेलले जानकारी दिइन् । उनका अनुसार दोस्रो चरणमा ७९ हजार नौ सय ३७ जनाको परीक्षा लिइने र उक्त परीक्षा आउँदो २०८१ को वैशाख ३१ गतेदेखि साउन १६ गतेसम्म सञ्चालन हुने छ ।
यसैगरी तेस्रो चरणको परीक्षामा ३६ हजार एक सय ७९ जना परीक्षार्थी सहभागी हुने तथा उक्त परीक्षा २०८१ कात्तिक २६ गतेदेखि शुरु भएर २०८१ पुस २ गतेसम्म सञ्चालन हुने भएको छ । सन् २०२३ का लागि कोरियाको उत्पादनमूलक क्षेत्रतर्फ एक लाख ६३ हजार ६ सय ३५ जनाले आवेदन दिएको ईपीएस कोरिया शाखाले जनाएको छ ।
राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा शुरु भइसकेको र उक्त परीक्षाका लागि एक दिनमा पाँच वटा सिफ्ट तयार गरी दिनमा एक हजार जनाले परीक्षा दिन थालेको ईपीएस कोरिया शाखाका निर्देशक कँडेलले जानकारी दिइन् । उनले भनिन्, ‘पहिलो सिफ्टमा करिब ४७ हजार पाँच सय १९ जनाले कोरियन भाषा परीक्षा दिनेछन्, शनिबार पनि परीक्षा लिने गरी व्यवस्था मिलाएका छौं, तीन चरणमा सञ्चालन हुने उक्त परीक्षा आगामी २०८१ पुस २ गते सकिन्छ ।’
परीक्षाको अघिल्लो दिन आफ्नो सिफ्टअनुसार ईपीएस शाखा, कार्यालय ग्वार्कोमा बायोमेट्रिक रजिस्ट्रेसन फिङ्गरप्रिन्ट दर्ताका लागि उपस्थित भइ परीक्षाको दिन परीक्षा केन्द्र भैँसेपाटीमा बायोमेट्रिक भेरिफाइ हुने ईपीएस कोरिया शाखाका शाखा अधिकृत कमल श्रेष्ठले जानकारी दिए ।
परीक्षा समयभन्दा एक घण्टाअघि परीक्षा हलमा परामर्श शुरु हुने र निर्धारित समयमा उपस्थित नभएमा परीक्षामा सहभागी नगराइने निर्देशक कँडेलले बताइन् । उनका अनुसार उक्त परीक्षामा मोबाइल फोन, स्मार्ट वाचलगायतका कुनै पनि विद्युतीय सञ्चारका साधन लैजान निषेध गरिएको छ ।
यसैगरी परीक्षामा चिट, कपी गरेको तथा अरु अवाञ्छित गतिविधि गरेको भेटिएमा परीक्षा रद्द गर्नुका साथै चार वर्षसम्मका लागि परीक्षामा समावेश हुन निषेध गरिएको ईपीएस कार्यालयले जनाएको छ ।
काठमाडौं : वैदेशिक रोजगारीका लागि पोर्चुगललगायतका देश पठाइदिन्छु भनि रकम ठगी गरेको उजुरीका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले भोजपुरको रामप्रसादराई गाउँपालिका वडा नं.३ घर भइ हाल काठमाडौंको काडाँघारी बस्ने विजय राईलाई पक्राउ गरेको हो ।
उनले मिन बहादुर थापासमेतलाई वैदेशिक रोजगारीका लागि पोर्चुगल, दुबई, साउदी अरब र रोमानिया पठाइदिने आश्वासन दिएर त्यसका लागि प्रतिव्यक्ति ९ लाख रुपैयाँ लाग्ने बताएर ६ लाख ८८ हजार रुपैयाँ लिइ सम्पर्कविहीन भएको प्रहरीले बताएको छ ।
राईले थापालाई विश्वास दिलाउन एमटी ओभरसिज नामको कम्पनीमा लगेर रकम लिएका थिए । त्यसपछि राईले थापालाई दुबईको भिसा लागेको भनि विमानस्थलमा बोलाएर टिकट रद्द भएको बताएर सम्पर्कविहीन भएका थिए ।
त्यसैगरी प्रहरीले वैदेशिक रोजगारको नाममा ठगी गरेको आरोपमा धादिङको सिद्धलेक गाउँपालिकाका घर भइ हाल काठमाडौं चन्द्रागिरि नगरपालिका बस्ने श्रीराम पण्डितलाई पनि पक्राउ गरेकोे छ । पण्डितले श्रीराम अधिकारीलाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भन्दै पटक–पटक गरी एक लाख रुपैयाँ लिएको प्रहरीले बताएको छ । प्रहरीले थप अनुसन्धान तथा कारबाहीको लागि दुवै जनालाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको बताएको छ ।
तिलोचन गौतम/मध्यान्ह
काठमाडौं : मलेसियाको पेनाङ्गमा रहेको एक सेक्युरिटी गार्ड कम्पनीमा काम गर्दै आइरहेका बर्दिया १ बर्दियाका ४० वर्षीय शिव प्रकाश थारुलाई जनउद्धार केन्द्र मलेसियाले उद्धार गरि स्वदेश फर्काएको छ ।
अवैधानिकरुपमा काम गर्दै आएका थारु प्यारालाइस भएर तीन महिनादेखि बिरामी थिए । साथमा कागजात नभएको कारण अस्पताल भर्ना गरेर उपचार गराउन सम्भव नभएपछि केन्द्रले र नेपाली दूतावासको सम्मन्वयमा हिमालय एअरलाइन्समार्फत बिहीबार बिहान स्वदेश फर्काएको जनउद्धार केन्द्र मलेसियाका अध्यक्ष केशु थापाले जानकारी दिए ।
थारुलाई जनउद्धार केन्द्रका कोषाध्यक्ष विरस पुनले विमानस्थलसम्म पुर्याएर २ जना साथीहरूको साथ लगाएर नेपाल पठाएका थिए । थारुलाई जनउद्धार केन्द्रका संरक्षक तथा वरिष्ठ हास्य कलाकार मनोज गजुरेलले त्रिभुवन विमानस्थलमा पुगेर आफन्तको जिम्मा लगाएका थिए । प्यारालाइसिस बिरामी थारु अहिले आफन्तहरुको सहयोगमा वीर अस्पताल भर्ना भइ उपचाररत छन् ।
काठमाडौं : ईपीएस कोरिया शाखाले लिने कोरियन भाषा परीक्षा सोमबारदेखि शुरु गरेको छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा शुरु भएको शाखाले जनाएको छ ।
परीक्षा एक दिनमा पाँच वटा सिफ्टमा लिइने व्यवस्था मिलाएको शाखाले जनाएको छ । ईपीएस कोरिया शाखाकी निर्देशक मैयाँ कँडेलले त्यसमा एक हजार जनाले परीक्षा दिन पाउने गरी व्यवस्था मिलाइएको जानकारी दिइन् । पहिलो सिफ्टमा करिब ४७ हजार पाँच सय १९ जनाले कोरियन भाषा परीक्षा दिने र शनिबार पनि परीक्षा दिने गरी व्यवस्था मिलाएको भन्दै कँडेलले अन्य सिफ्ट त्यसपछि तय गरिने बताइन् ।
परीक्षार्थीहरु परीक्षाको एक दिनअघि सिफ्टअनुसार ईपीएस शाखा, कार्यालय ग्वार्कोमा बायोमेट्रिक रजिस्ट्रेशन फिङ्गर प्रिन्ट दर्ताका लागि उपस्थित हुनुपर्ने व्यवस्था शाखाले गरेको छ । परीक्षा शुरु हुनुअघि एक घण्टा अगाडि परीक्षा हलमा ओरियन्टेसन शुरु हुने र निर्धारित समयमा उपस्थित नभए परीक्षामा सहभागी नगराइने व्यवस्था मिलाइएको पनि निर्देशक कँडेलले जानकारी दिइन् ।
परीक्षामा मोबाइल फोन, स्मार्ट वाचलगायतका कुनै पनि विद्युतीय सञ्चारका साधनहरु लैजान निषेध गरिएको छ । परीक्षामा चिट चोर्ने, नक्कल गरेकोलगायतका अवाञ्छित गतिविधि गरेको भेटिएमा परीक्षा रद्द गर्नुकासाथै चार वर्षसम्मका लागि परीक्षामा समावेश हुन निषेध गरिने कार्यालयले जनाएको छ । सन् २०२३ का लागि कोरियाको उत्पादनमूलक क्षेत्रतर्फ एक लाख ६३ हजार ६३५ जनाले आवेदन दिएका छन् ।
सर्लाही : सोमबार अपराह्न आफ्नै आँगनमा छोरा विनय कुमार महराका मलेसियाली रोजगारदाता हावर्ट ओवार्ड हालखबर बुझ्दै आइपुगेपछि उनका बुबा मिश्री महरा हर्षले पुलकित थिए । स्थानीय स्तरमा रंगरोगनको काम गर्ने ४० वर्षीय महराले हतार–हतार मोबाइल खोलेर मलेसियामा रहेको छोरासँग भिडियो कलमा जोडिए । स्थानीय भाषामा उनले भने, ‘तोहर मालिक हमार घरमे आईलेबानी ।’ अर्थात ‘तेरो मालिक हाम्रो घरमा आएको छ ।’
पहिलोपटक आफ्नो कम्पनीमा काम गर्ने कामदारको घर र परिवारको वास्तविक अवस्था बुझ्न आएका रोजगारदाता हावर्ट ओवार्डले लामो जिज्ञासा नराखी मिश्रीको सुत्ने, खाना पकाउने, गाईबस्तु तथा अन्न राख्ने सबै ठाउँ नियाले । आफूसँग भएको मोबाइल फोनले सबै ठाउँको तस्बिर लिए । टायलले छाएको साँघुरो घर भएका कारण उनी राम्रोसँग उभिन पनि पाएनन् ।
त्यसपछि हावर्डले मिश्रीलाई सोधे, ‘मलेसियामा तिम्रो छोराको तलब सुविधा वा अन्य विषयमा शिकायत केही छ भने भन, नेपालबाट मलेसिया जाँदा कति खर्च लाग्यो त्यो पनि सुनाउ ।’ जवाफमा मिश्रीले भने, ‘अहिलेसम्म कुनै शिकायत छैन, मलेसिया जाँदा कुनै खर्च लागेन सबै राम्रो छ । तर छोराले मलेसियामा ओभरटाइम गर्न पाएको छैन । ओभरटाइम मिलाइदिनु पर्यो ।’ जवाफमा हावर्टले भने, ‘ओभरटाइमको ग्यारेन्टी गर्न सकिँदैन, अरू समस्या भए भन्नुस् ।’ त्यस जवाफमा मिश्रीले कुनै प्रतिक्रिया जनाएनन् ।
मिश्रीसँग कुराकानी गरेपछि हावर्ट नजिकै रहेको अर्का कामदारको घर उमेश महराको घरमा गए । उमेशकी श्रीमतीले पनि रोजगारदाता हावर्टलाई आफ्ना श्रीमानको तलब बढाइदिन माग गरिन् । जवाफमा हावर्टले त्यसमा सहानुभूतिपूर्वक विचार गर्ने बताए ।
राजधानीमा रहेको एलायन्स ह्युमन रिसोर्स प्रा.लि.मार्फत मलेसियाको अत्याधुनिक फर्निचर उत्पादन गर्ने बेलायती लगानीको बीएसएसबी एसडीएन बीएचडी कम्पनीमा गएका हरिपुरका मात्रै ४७ जना कामदार छन् । उक्त कम्पनीले सोमबार हरिपुरबाट थप ७० जना छनोट गरेको छ । उनीहरु सबै स्वच्छ एवम् मर्यादित भर्ना प्रक्रियाबाट शून्य लागतमा मलेसिया जान लागेका हुन् ।
एलायन्स ह्युमन रिसोर्स प्रा.लि.का सञ्चालक रहेका नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान महासचिव सुजित श्रेष्ठले मलेसियाली रोजगारदाताले कामदारका परिवारको अवस्था बुझ्न र कम्पनीको सामाजिक उत्तरदायित्व (सीआरएस) अन्तर्गत सहयोग पु¥याउने इच्छा व्यक्त गरेपछि आफूले भेटघाटको प्रबन्ध मिलाएको बताए । रोजगारदाता र कामदारका पारिवारिक सदस्यको भेटघाटले कामदार र रोजगारदाता दुवैलाई फाइदा पुग्ने श्रेष्ठको भनाइ छ ।
कामदारका परिवारका सदस्यहरूसँगको भेटघाटपछि रोजगारदाता हावर्टले सबै पक्षसँगको छलफलपछि आफ्नो कम्पनीमा कार्यरत कामदारका बालबालिका र परिवारलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रम ल्याउने उल्लेख गरे । उनको कम्पनीमा विगत २१ वर्षदेखि नेपालीले काम गरिरहेका छन् । कम्पनीमा भियतनाम, बंगलादेश र म्यानमारबाट पनि कामदार गएको, तर नेपालीको मेहनत र लगनशीलताबाट आफू प्रभावित भइ उनीहरूको घर र परिवारलाई भेट्न आएको उनले बताए ।
त्यसअघि आयोजित कार्यक्रममा हरिपुर नगरपालिकाका प्रमुख गोपाल पन्जियारले पूर्णतया शून्य लागतमा कामदार लैजाने मलेसियाली कम्पनीको कार्यले आफ्नो नगरपालिकाका युवाहरूलाई आर्थिकरुपमा धेरै सहज भएको भन्दै शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा सहयोग गरिदिन आग्रह गरे । उनले यसअघि कम्पनीमा काम गरेका नेपाली कामदारको लगनशीलता, इमानदारिताका कारण रोजगारदाता कम्पनीका सञ्चालक कामदारको घरदैलोमा आउने वातावरण बनेको भन्दै छनोट भएर जाने नयाँ युवाहरूले पनि लगनशीलता, इमानदारिता देखाउन जरुरी रहेको बताए ।
स्थानीय समाजसेवी उदय नारायण चौधरीले मलेसियामा कार्यरत नेपाली कामदारको पे रोल र अन्य सुविधा गोप्य राखिने गुनासो आइरहेको अवस्थामा रोजगारदा नै कामदारको घरदैलोमा पुगेर उनीहरूले पाउने सेवा सुविधा र शून्य लागतका विषयमा जानकारी गराउने कार्यले विपन्न अवस्थामा रहेका कामदारलाई फाइदा पुगेको बताए ।
म्यानपावर कम्पनीका सञ्चालक श्रेष्ठले मलेसियाली कम्पनीले शून्य लागतमा कामदार लैजाने भएकोले रोजगारीमा छनोट हुनका लागि आवेदन गरेकाहरूलाई कुनैपनि शीर्षकमा रकम नलिइने भएकाले छनोटका लागि कुनै दबाब नदिन र कसैको प्रलोभनमा नपर्न आग्रह गरे ।
कार्यक्रममा नगरपालिकाकी उपप्रमुख नीलमदेवी राय यादव, वडाध्यक्ष गजेन्द्र चौधरी, वडा अध्यक्ष प्रेमहरि श्रेष्ठ, वडा सदस्य नगेन्द्र महतो, वरिष्ठ प्रहरी नायव निरीक्षक अर्जुनकुमार साहलगायतको उपस्थिति रहेकोे थियो ।
काठमाडौं : प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले साउदी आईडीलगायतका समस्या समाधानका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै नेपाली वैदेशिक रोजगार व्यवसायी संघका साउदी संयोजक वैकुण्ठ पौडेल ‘वैभव’लाई सम्मान गरेको छ । मञ्चको कार्यालय पिंगलास्थानमा आइतबार एक संक्षिप्त कार्यक्रम गरी पौडेललाई सम्मान गरेको हो ।
मञ्चका अध्यक्ष जनक रावलले संघ कार्यसमितिमा रहेर पदीय दायित्वलाई कर्तव्य ठानी संघको गरिमा वृद्धिमा उल्लेखनीय भूमिका खेलेका कारण मञ्च सदस्यसमेत रहेका व्यवसायी पौडेललाई सम्मान गरिएको बताए । साउदी संयोजक पौडेलले लामो समयदेखि व्यवसायीले झेल्दै आएको साउदी आईडीको समस्यादेखि नेपाली दूतावास रियाद तथा कन्सुलर कार्यालय जेद्दासँग समन्वय गरी व्यवसायी तथा कामदारका समस्या समाधान गरी सहज परिस्थिति निर्माण गरेकोे अध्यक्ष रावलले बताए ।
कार्यक्रममा मञ्चका महासचिव मिलन कट्टेलले संयोजक पौडेल साउदी अरेबियाको वैदेशिक रोजगार प्रक्रियामा रहेका सबै प्रकारका जटिलताका विषयमा जानकार रहेकाले समस्याको समाधान हुने हुँदा व्यवसायीलाई सहज भएको धारणा राखे ।
मञ्चको सम्मानले आफूलाई कामदार र व्यवसायीका समस्या समाधानका लागि अझ धेरै चनाखो हुन प्रेरणा मिलेको भन्दै पदीय जिम्मेवारीको अवस्थामा नरहेको स्थितिमा पनि आफ्नो क्षमताले भ्याएसम्म व्यवसायी तथा कामदारका समस्या समाधानका लागि दत्तचित्त भएर लागिपर्ने प्रतिबद्धता जनाए ।
मञ्चका अध्यक्ष रावलको अध्यक्षतामा भएको कार्यक्रममा संघका प्रथम उपाध्यक्ष डिक बहादुर खत्री (कुमार), द्वितीय उपाध्यक्ष सञ्जु गुरूङसहित मञ्चका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेकोे थियो ।
खोटाङ : जिल्ला प्रहरी कार्यालय खोटाङले बैंकिङ कसुर तथा वैदेशिक रोजगारसम्बन्धी ठगी गर्ने व्यक्तिलाई पक्राउ गर्न थालेको छ । विभिन्न समयमा विविध बहाना बनाएर लिएको रकम नतिर्ने तथा विदेश पठाइदिन्छु भन्दै रकम लिएर विदेश नपठाउने व्यक्तिलाई प्रहरीले पक्राउ गर्न थालेको हो ।
बैंकिङ कसुर तथा वैदेशिक रोजगारसम्बन्धी ठगी मुद्दाका पीडक पक्राउ अभियान शुरु गरिएको महिनादिनमै सात जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए । ‘पीडितले दिएको जाहेरीको आधारमा आरोपितलाई विभिन्न ठाउँबाट पक्राउ गरेर कारबाहीको प्रक्रिया अगाडि बढाएका छौँ । उनीहरुले पीडितबाट एक लाख २५ हजारदेखि रु ३५ लाख २५ हजारसम्म ठगी गरेको पाइएको छ,’ उनले भने, ‘पक्राउ परेकामध्ये केहीले सम्बन्धित व्यक्तिलाई आफूले लिएको पैसाको साँवा÷ब्याज फिर्ता गरेका छन् । फिर्ता गर्न नसकेकालाई पुर्पक्षका लागि जिल्ला कारागार पठाउनेछौँ ।’
गत पुस १७ गतेदेखि माघ मसान्तसम्ममा विभिन्न ठाउँबाट पक्राउ परेका आरोपितलाई जिल्ला अदालतबाट म्याद थप गरेर हिरासतमा राखिएको जनाइएको छ । पक्राउ पर्नेमा बैंकिङ कसुरसम्बन्धी ठगीको आरोपमा छ जना र वैदेशिक रोजगारसम्बन्धी ठगीको आरोपमा एक जना रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता बेनु कार्कीले जानकारी दिए ।
बैंकिङ कसुरसम्बन्धी ललितपुर महानगरपालिका–१४ थसिखेल निवासी सुनिता खड्कालाई गत पुस १७ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ । खड्काले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी निर्मला भुजेलको ३५ लाख २५ हजार रकम विभिन्न बहानामा ठगी गरेको पाइएको छ । खड्काले आफूले लिएको रकम फिर्ता गर्न तथा धरौटी रकम बुझाउन नसकेपछि माघ–३ गते पुर्पक्षका लागि कारागार पठाइएको प्रहरीले जनाएको छ । सस्तोमा घडेरी दिलाइदिन्छु भन्दै ठगी गर्ने खड्कालाई अदालतले दश लाख धरौटी तोकेको छ ।
यस्तै, युवराज बस्नेतको जाहेरीले गत माघ–९ गते काठमाडौं महानगरपालिका–७ काठमाडौंबाट पक्राउ परेका कल्याण खत्रीलाई बैंकिङ कसुरसम्बन्धीकै अर्को मुद्दामा बिहीबार गौशाला पठाइएको प्रनाउ खड्काले जानकारी दिए । आरोपित कल्याणले बस्नेतको चार लाख २० हजार रकम लिएर फिर्ता नगरेको जनाइएको छ ।
बस्नेतकै जाहेरीको आधारमा कल्याणका बुबा मोहनकुमार खत्रीलाईसमेत प्रहरीले पक्राउ गरेको छ । गत माघ ११ गते नवलपारासीको सुनवल नगरपालिका–१२ भूमहीबाट पक्राउ परेका मोहनकुमारले समय समयमा विभिन्न व्यक्तिबाट तीन करोड ४० लाख रकम लिएर फिर्ता नगरेको जनाइएको छ ।
दिक्तेलस्थित प्रहरी हिरासतमा रहेका मोहनकुमारलाई जिल्ला अदालत खोटाङको प्रक्रिया पूरा गरेर झापाको बिर्तामोड पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ । मोहनकुमारविरुद्ध विर्तामोडबाट ठगी मुद्दासम्बन्धी नै पक्राउ पुर्जी आएको जनाइएको छ । पक्राउ परेकामध्ये मोरङको बेलबारी नगरपालिका–१ बेलबारीका सुवास न्यौपाने र दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ छोरम्बुस्थित याङ्सोलाका चण्डीकुमार राईले रकम फिर्ता गरेको प्रनाउ खड्काले जानकारी दिए ।
खगेन्द्र राईको जाहेरीले गत पुस १९ गते पक्राउ परेका न्यौपानेले १५ लाख तथा समिर राईको जाहेरीले माघ १६ गते पक्राउ परेका चण्डीकुमारले एक लाख २५ हजार रकम फिर्ता गरेका हुन् । यस्तै, युवराज आचार्यको जाहेरीले गत माघ २७ गते पक्राउ परेका सिन्धुली जिल्लाको दूधौली नगरपालिका–११ राजावास बस्ने उपेन्द्र साह सुरीले दुई लाख ३४ हजार पाँच सय ५० ठगी गरेको जनाइएको छ । उनलाई हिरासतमा राखेर अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
वैदेशिक रोजगारसम्बन्धी ठगी मुद्दामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित तालखर्क घर भइ भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका–२ बालकोट बस्दै आएका प्रेम पुरी पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ईन्द्रबहादुर खड्का ‘माइकल’ सहित छ जनाको जाहेरीमा गत माघ २१ गते पक्राउ परेका पुरीले रु आठ लाख ९५ हजार ठगी गरेको आरोप छ ।
विभिन्न समयमा विदेश पठाइदिन्छु भन्दै धरौटीबापत लिएको रकम फिर्ता नगरेपछि कारबाहीको लागि प्रहरीमा उजुरी दिएको माइकलले बताए । पक्राउ परेका पुरीलाई हिरासतमा राखेर कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । दश स्थानीय तह रहेको जिल्लामा सबैभन्दा बढी वैदेशिक रोजगारसम्बन्धी ठगीका घटना बढिरहेको पाइएको छ । विदेश पठाउने नाममा ठगी गर्ने एजेन्ट जिल्ला बाहिरका हुँदा ठगी वापतको रकम फिर्ता गराउन समस्या हुने गरेको सुरक्षित आप्रवासन परियोजना सामीका कार्यक्रम संयोजक सन्तोषकुमार राईले जानकारी दिए ।
यसैबीच, फरार प्रतिवादी पक्राउ अभियान शुरु गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले गत साउनदेखि हालसम्म ९८ जनालाई पक्राउ गरिसकेको जनाइएको छ । अभियानका क्रममा ३० वर्षअघिदेखि फरार रहेका प्रतिवादीसमेत पक्राउ गरिएको प्रनाउ खड्काले जानकारी दिए ।
काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आगामी मार्च महिनाको पहिलो हप्ता यूएईमा हुने रोजगार मेला ‘जव फेयर’लाई बृहत्तररुपमा सफल बनाउन सल्लाहकार समिति, मूल समिति र ५ वटा उपसमिति गठन गरेको छ । संघका अध्यक्ष राजेन्द्र भण्डारीको अध्यक्षतामा फागुन २ गते बसेको संघ कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।
यसअघि फागुन ३ गते यूएईमा सम्पन्न गर्ने गरी निर्णय गरिएको जव फेयर आवश्यक तयारी नपुगेको भन्दै करिब तीन हप्ताको समय लम्ब्याएर फागुन १९ गते अर्थात मार्च २ तारिकमा गर्ने गरी नयाँ निर्णय गरिएको हो ।
संघका महासचिव तथा प्रवक्ता मेघनाथ भुर्तेलका अनुसार जव फेयरका लागि पूर्वअध्यक्षहरु, संघका वर्तमान अध्यक्ष र सम्पूर्ण शुभेच्छुक संघ संस्थाका अध्यक्ष रहेको सल्लाहकार समिति गठन गरिएको छ । संघले प्रथम उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय कोअर्डिनेटर डिक बहादुर खत्रीको संयोजत्वमा मूल समिति गठन गरेको छ । मूल समितिमा द्वितीय उपाध्यक्ष सञ्जु गुरुङ, तृतीय उपाध्यक्ष रोशन कटुवाल, सचिव कर्णराज कटुवाल सदस्य रहेको मूल समिति गठन गरेको छ । महासचिव मेघनाथ भुर्तेल मूल समितिको सदस्य सचिव रहेका छन् ।
त्यसैगरी कोषाध्यक्ष सरिता घले संयोजक रहेको आर्थिक उपसमिति गठन गरिएको छ । आर्थिक उपसमितिमा कार्यसमिति सदस्यद्वय सोम बहादुर तामाङ र कैलाश पठाक सदस्य रहेका छन् । संघको कार्यसमिति सदस्य बैकुण्ठ प्रसाद पौडेल संयोजक रहेको प्रचारप्रसार उपसमिति गठन गरिएको छ । उक्त उपसमितिमा कार्यसमिति सदस्द्वय विक्रम श्रेष्ठ र तोरण कुमार कार्की सदस्य रहेका छन् ।
संघले कार्यसमिति सदस्य देवेन्द्र नारायण श्रेष्ठको संयोजकत्वमा प्रेस छपाइ उपसमिति गठन गरेको छ । उक्त उपसमितिमा कार्यसमिति सदस्यद्वय अनिल कुमार राई र देउमान नेङमाङ सदस्य रहेका छन् । त्यस्तै कार्यसमिति सदस्य नारायण भुषाल संयोजक रहेको भ्रमण व्यवस्थापन उपसमिति गठन गरिएको छ । उक्त उपसमितिमा कार्यसमिति सदस्यद्वय आनन्द कोइराला र देवीमाया थापा सदस्य रहेका छन् । जव फेयरको आन्तरिक व्यवस्थापन उपसमिति संयोजकमा कार्यसमिति सदस्य राजेन्द्र बस्नेत रहेका छन् । उक्त उपसमितिमा कार्यसमिति सदस्यद्वय चन्द्र बहादुर लिम्बू र सुर्य कुमार श्रेष्ठ सदस्य रहेका छन् ।
यूएईमा रोजगार मेलाको समय आउन दुई हप्ता र केही दिनमात्रै बाँकी रहेकाले सबै संयोजक र सदस्यहरुलाई आफ्नोतर्फको जिम्मेवारीको कामलाई प्राथमिकतामा राखेर अघि बढाउन बैठकले निर्देशन दिएको पनि महासचिव भुर्तेलले बताए ।
यूएईको होटल मरिनामा हुने तय भएको जव फेयरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार बोर्ड सचिवालय र यूएईस्थित नेपाली दूतावासको सहकार्य रहने संघले बताएको छ । जव फेयरमा यूएईस्थित रोजगारदाताहरु, सबै स्टेटका चेम्बरहरु, इन्डियन इन्भेष्टमेन्ट ग्रुप, सबै बिजनेस कम्युनिटी, एचआर एशोसिएसन र आधिकारिक नेपाली चेम्बरहरुलाई सहभागी गराइने तयारी रहेको पनि महासचिव भुर्तेलले जानकारी दिए ।
यूएईमा नेपाली कामदारका लागि धेरै क्षेत्रमा रोनगारीको सम्भावना भएपनि बिचौलियाहरुका कारणले समस्या रहेकोले रोजगारदाताहरुसँग नेपाली म्यानपावर व्यवसायीहरुको प्रत्यक्ष सम्बन्ध स्थापित गर्न जव फेयर आयोजना गरिएको संघका प्रथम उपाध्यक्ष, अन्तर्राष्ट्रिय कोअर्डिनेटर तथा रोजगार मेला संयोजक खत्रीले बताए । उनले आगामी एक दशकका लागि प्रभाव छोड्ने गरी व्यापक सहभागितामा जव फेयर हुने उल्लेख गरे ।
नेपालले १७ वर्षअघि २००७ को जुन ६ तारिकमा दुबईको ग्रान्ड हयात होटलमा जव फेयर गरेपनि त्यसलाई निरन्तरता दिन सकेको छैन । त्यतिबेला २६ कम्पनीले स्टल राखेर आ–आफ्ना सूचनाहरु प्रवाह गरेका थिए भने वैदेशिक रोजगार विज्ञ डा. गणेश गुरुङले नेपालमा उपलब्ध अदक्ष, अर्धदक्ष तथा दक्ष कामदारहरुको बारेमा विस्तृत जानकारी गराएपछि नेपालमा कामदारहरु अदक्ष मात्र उपलब्ध छन् भन्ने यूएईका रोजगारदाताहरुको सोचाइ नै परिवर्तन भएको थियो ।
पछिल्ला महिनाहरुमा यूएई धेरै नेपाली कामदार जाने श्रम गन्तव्य मुलुकको शीर्ष स्थानमा रहेको छ । माघ महिनामा म्यानपावर कम्पनीमार्फत १० हजार ८ सय ६१ जना कामदार गएका थिए भने रिइन्ट्री र अन्य माध्यमबाट गरी १७ हजार बढी नेपाली उक्त मुलुकमा रोजगारीका लागि गएका छन् । यूएई र नेपाल सरकारबीच यसअघि भएको सम्झौताअनुसार नेपाली कामदारको खर्च रोजगारदाताले नै व्यहोर्नुपर्ने व्यवस्था छ । सम्झौतामा कामदारले कुनै पनि शुल्क भुक्तानी गर्नु नपर्ने भएपनि रोजगारदाताको कमीकमजोरीका कारण कतिपय अवस्थामा शुल्क तिरेर जाने गरेका छन् ।
भरत प्रधान/रासस
लिस्बन : वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका नेपालीले राहदानी नवीकरण तथा नयाँ राहदानी बनाउन नपाउँदा समस्यामा परेका छन् ।
विभिन्न मुलुक हुँदै पोर्चुगल आएका नेपालीले नयाँ राहदानी बनाउन र नवीकरण गर्न बनाउन नपाउँदा समस्यामा परेका हुन् । राहदानीको समस्याले गर्दा विशेषतः पोर्चुगल बसाइको वैधानिकताका लागि यहाँको अध्यागमन निकाय एकीकरण, आप्रवासन र शरणमा बायोमेट्रिकको तयारीमा रहेका नेपालीहरू बढी मारमा परेका छन् ।
पोर्चुगलमा नेपाली दूतावास स्थापनाका लागि राजदूत नियुक्त भइसकेको भए पनि दूतावास कहिलेसम्म आउने भन्ने तिथिमिति तय भइसकेको छैन । राहदानीलगायतका कागजातसम्बन्धी समस्यामा परेका नेपालीहरूले दूतावास आउन ढिलाइ भए पनि तत्काल राहतका लागि घुम्ती टोलीसम्म पनि नआएको भन्दै गुनासो गरेका छन् ।
राहदानीको म्याद सकिनै लागे पनि नयाँ राहदानी बनाउन नपाउँदा आफू समस्यामा परेको फ्रान्स हुँदै २० महिनाअघि पोर्चुगल आउनुभएका पोखराका रवि थापाले बताए ।‘मेरो राहदानीको म्याद सकिन अब डेढ महिनामात्रै बाँकी छ, मेरा धेरै साथीहरूको पनि राहदानीको म्याद सकिन लागेको छ । हामी यहाँको वैधानिक बसाइका लागि बायोमेट्रिकको पर्खाइमा छौँ । तर राहदानी बनाउन नसक्दा समस्यामा परेका छौँ’, थापाले भने । राहदानी बनाउनका लागि जोखिम मोलेरै भए पनि स्पेनको मेड्रिडस्थित रहेको नेपाली दूतावास जाने तयारी गरेको उनले बताए ।
स्याङ्जाका युवराज रोकाको समस्या पनि उस्तै छ । क्रोसिया हुँदै डेढ वर्षअघि पोर्चुगल आएका रोकाको राहदानीको म्याद सकिन दुई महिनामात्रै बाँकी छ । हाल मदेइरामा कार्यरत रहेका उनी राहदानीको म्याद सकिन थालेपछि चिन्तित छन् । राहदानी बनाउन ढिलाइ भए यहाँको कागजी प्रक्रियामा समस्या हुने रोकाले बताए । ‘सरकारले छिट्टै टोली पठाइदिए त हामीजस्ता समस्यामा परेकालाई ठूलै राहत हुने थियो’, रोकाले भने ।
थापा र रोकाको जस्तै समस्या दाङका जनप्रसाद पुनको पनि छ । पुन पनि राहदानीको म्याद सकिन लागेपछि तनावमा परको छन् । ‘धेरै अघिदेखि टोली आउने भन्ने सुनेको हो, मजस्ता धेरै साथी राहदानी बनाउनका लागि टोलीको पर्खाइमा छौँ’, पुनले भने । ‘टोली नआउने हो भने त हामी समस्यामा पर्छौ, टोली नआउने नै भए त स्पेन, फ्रान्ससम्म धाएर भए पनि राहदानी त बनाउनैपर्छ, तर ती मुलुकसम्म धाउन पनि वैधानिक कागजात नहुँदा जोखिम मोल्नुपर्ने बाध्यता छ’, पुनले अगाडि थपे ।
विगत लामो समयदेखि परिवारसहित पोर्चुगल बस्दै आएका गोरखाका दिनेश श्रेष्ठले पनि राहदानीको म्याद गुज्रेका कारण धेरै सास्ती खेप्नुपरेको सुनाए । दुई छोराछोरी र आफ्नो गरी तीन जनाकै राहदानी बनाउनुपर्ने भए पनि नेपाली दूतावास रहेको छिमेकी मुलुक धाउनैपर्ने बाध्यता भएको उनले बताए । छोराको रेसिडेन्सी कार्डको म्याद सकिएर तीन पटकसम्म समय लिएर नवीकरण गर्न आप्रवासी मामिला हेर्ने सरकारी कार्यालय धाए पनि राहदानीको म्याद नै नभएको भन्दै कार्डसमेत नवीकरण गर्न नसकेको पीडा श्रेष्ठले सुनाए ।
‘टोलीको आशमा बस्दा बाबुको कार्डसमेत नवीकरण गर्न सकिनँ, त्यसैले नयाँ राहदानी बनाउनका लागि अहिले स्पेन आएको छु । यहाँ आएर राहदानीसम्बन्धी सबै काम सकाएँ, दुःख पाए पनि अब राहदानी बन्ने ढुक्क भयो’, श्रेष्ठले भने ।
लिस्बनमा रहेको अवैतनिक नेपाली महावाणिज्य दूतावासको कार्यालयले दिएको तथ्यांकानुसार राहदानी नवीकरण तथा नयाँ राहदानी बनाउने नेपालीको संख्या दुई हजार छ सयभन्दा बढी छ । जसअनुसार दुई हजार ९७ जनाको नवीकरण, चार सय ५० जनाको हराएको र ६५ जना बालबालिकाको नयाँ राहदानी बनाउनुपर्ने आवेदन छ । विशेषगरी पोर्चुगल बसाइको वैधानिकताका लागि यहाँको अध्यागमन कार्यालय एकीकरण, आप्रवासन र शरणमा बायोमेट्रिकको तयारीमा रहेका नेपालीले राहदानी बनाउन नपाउँदा बढी समस्यामा परेको पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदूत मकरबहादुर हमालले बताए ।
‘हामीले तत्कालको समस्या समाधानका लागि फ्रान्सस्थित दूतावासबाट घुम्ती टोली ल्याउन पहल गरिरहेका छौँ, टोली आउने/नआउनेबारे अहिलेसम्म आधिकारिक जानकारी आइसकेको छैन । तर तत्काल टोली नआउने हो भने त यहाँको वैधानिक बसाइका लागि बायोमेट्रिकको तयारीमा रहेका धेरै नेपालीलाई सस्या हुने अवस्था छ’, महावाणिज्यदूत हमालले भने ।
राहदानी नवीकरण तथा नयाँ राहदानी बनाउन भन्दै धैरै नेपाली दैनिकजसो महावाणिज्य दूतावासको कार्यालय धाउने गरेको र कार्यालय परिसरमा भीडभाड नै लाग्ने गरेको उनले सुनाए ।
गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष उमेश खड्काले राहदानीसम्बन्धी समस्या समाधानका लागि घुम्ती टोली ल्याउन पहल भइरहेको बताए । ‘घुम्ती टोलीका लागि फ्रान्सस्थित नेपाली दूतावास र मन्त्रालयमा पटक–पटक अनुरोध गरेका छौँ, तत्कालको राहतका लागि दुई साताका लागि भए पनि टोली ल्याउने हाम्रो पहल जारी छ’, खड्काले भने ।
विभिन्न मुलुक हुँदै पोर्चुगल आउने नेपालीको सङ्ख्या बढेसँगै राहदानीलगायतका कागजातसम्बन्धी समस्या पनि बढ्दै गएको छ । पोर्चुगलमा नेपाली दूतावास खुलिनसकेका कारण राहदानी बनाउन छिमेकी मुलुक स्पेन, फ्रान्स, बेल्जियम र डेनमार्कस्थित रहेको नेपाली दूतावाससम्म पुगेर राहदानी बनाउन सकिने व्यवस्था छ । तर राहदानीविहीन नेपालीहरू राहदानी बनाउन स्पेन, फ्रान्स, बेल्जियम र डेनमार्कमा रहेका नेपाली दूतावाससम्म धाउनका लागि वैधानिक कागजात छैन ।
पोर्चुगलमा रहेका नेपालीको समस्याका विषयमा आफू जानकार रहेको र राहदानी बनाउने सन्दर्भमा जतिसक्दो छिटो टोली आउने तयारीमा रहेको फ्रान्सको पेरिसस्थित नेपाली दूतावासका नियोग उपप्रमुख सीता बस्नेतले बताइन् । ‘दूतावासबाट पोर्चुगल जाने यसअघि नै हाम्रो कार्यतालिकामा थियो, तर कर्मचारी अभावका कारण त्यो सम्भव भएन’, बस्नेतले भनिन् ।
राहदानीसम्बन्धी देखापरेको समस्याका सन्दर्भमा परराष्ट्र मन्त्रालय र राहदानी विभागलाई यसअघि नै पत्राचार गरी जानकारी गराइसकेको उनले बताइन् । ‘हामीले पोर्चुगललाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेका छौँ, आवश्यक प्रक्रियाका लागि मन्त्रालयको निर्देशनको पर्खाइमा छौँ’, बस्नेतले भनिन् । विभागबाट निर्देशन आएलगत्तै टोलीे लिस्बन आउने उनको भनाइ छ ।
पछिल्लो समय रोजगारीका सिलसिलामा पोर्चुगल आउने नेपालीको सङ्ख्या बढ्दै गएको छ । पोर्चुगलमा नेपालीको यकिन तथ्यांक नभए पनि अनुमानित ५० देखि ६० हजार हाराहारीमा रहेको अनुमान छ । यसअघि गत वर्ष पनि फ्रान्सस्थित नेपाली दूतावास र राहदानी विभाग काठमाडौंको टोली आएर राजधानी लिस्बनमा करिब एक महिनासम्म राहदानीसम्बन्धी सेवा प्रदान गरेको थियो । उक्त घुम्ती सेवाबाट दुई हजार तीन सय आठ नेपालीको प्रत्यक्ष दर्ता प्रणालीमार्फत विद्युतीय राहदानीका लागि आवेदन संकलन गरिएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies