काठमाडौं : कैलाली दुईका प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी जेल चलान भएका छन् ।
बिहीबार पक्राउ परेका चौधरीलाई प्रहरीले आज जिल्ला अदालत पेश गरेकोमा अदालतले फैसला कार्यान्वयनका लागि जिल्ला कारागार कैलाली चलान गरेको हो ।
फरार प्रतिवादीको सूचीमा रहेका चौधारी बाँकेमा कोहलवपुरवाट बिहीबार पक्राउ परेका थिए ।
चौधरी संसदीय निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेर कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।
उनै प्रतिनिधि सभा सदस्य चौधरी विगत १० वर्षदेखि प्रहरीको फरार सूचीमा रहेका थिए ।
उनलाई ट्याक्टर जलाएको सरकारीवादी फौजदारी मुद्दामा जिल्ला अदालत कैलालीको फैसलाले करिब १० वर्ष पहिले ६ महिना कैद तोकेको थियो ।
तर अदालतको उक्त फैसला अनुसार उनले कैद सजाय भुक्तान नगरी फरार बनेका थिए ।
काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मुलुकमा रहेका गुठी जग्ग संरक्षण गरी प्राप्त हुने देवस्वको सही उपयोगका लागि पहल शुरु गरेको छ ।
गुठी मठमन्दिर र धार्मिक पक्षसँग जोडिएको ऐतिहासिक महत्वयुक्त क्षेत्र भएकाले मन्त्रालयले उपयोगको प्रभावकारिता बढाउन जग्गाको संरक्षण तथा व्यवस्थित अभिलेखका लागि प्रभावकारी पहल आरम्भ गरेको हो ।
मन्त्रालयका सचिव डा दामोदर रेग्मीले गुठी जग्गा उपयोग गरी देवस्व बुझाउँदै आएका व्यक्तिलाई अपनत्वबोध गराई जग्गा व्यवस्थापनलाई चुस्त र पारदर्शी बनाउने उद्देश्यले छलफल शुरु गरिएको जानकारी दिए । मन्त्रालयले पछिल्लो समय जनकपुर, धादिङ र पाल्पाको अमरनारायण गुठीका सरोकारवाला र गुठी संस्थानका पदाधिकारीसँग छलफल गरिसकेको छ ।
मन्त्रालयले गुठीको ऐतिहासिक पक्ष यसका मूल्य, मान्यता, कानुनी व्यवस्था र जनसरोकारको विषयमा सरोकारवालासँग अन्तरक्रिया गरेर उपयुक्त समाधान निकाल्न शीघ्र गृहकार्य गर्न गुठी संस्थानलाई निर्देशन दिएको छ । सरोकारवालासँगको छलफलका आधारमा गुठी संस्थानले केही दिनभित्रै प्रतिवेदन पेस गर्नेे सचिव रेग्मीले बताए ।
तानसेन पाल्पाको अमरनारायण गुठीको जग्गाको ऐतिहासिक महत्व र यसमा जनताको सहभागिता विषयमा पाल्पाबाट प्रतिनिधित्व गर्ने सांसद नारायण आचार्य र पूर्वसांसद कुलप्रसाद नेपाललगायतले संसद्को प्राकृतिक स्रोत समितिले दिएको सुझाव कार्यान्वयन गर्नु उपयुक्त हुने धारणा राखे । गुठी संस्थानका प्रशासक किरण शाक्यले नयाँ गुठी ऐनको अभावमा यस्ता विषयहरू सम्बोधन गर्न अप्ठ्यारो परेको बताए ।
कान्ति न्यौपाने/मध्यान्ह
काठमाडौं : कायममुकाय प्रधानन्यायधीशको भरमै सर्वोच्च अदालत सञ्चालन हुन थालेको एक वर्ष पुग्न लागिसकेको छ । तर अहिलेसम्म पनि प्रधानन्यायाधीश नियुक्तिबारे सरकार मौन छ । गत फागुनमा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएसँगै कामु प्रधानन्यायाशीसको जिम्मेवारी न्यायाधीश दीपककुमार कार्कीले सम्हालेका थिए । तर उनले पनि गत १५ असोज, २०७९ मा ६५ वर्षे उमेरहदका कारण अनिवार्य अवकाश पाएका छन् । कार्कीपछि न्यायाधीस हरिकृष्ण कार्कीले सर्वोच्चको कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
अहिले संवैधानिक परिषदले पूर्णता पाए पनि संसदीय विशेष सुनुवाई समिति गठन नभएका कारण प्रधानन्यायाधीश नियुक्तिमा अझै समय लाग्ने देखिएको छ । संविधानको धारा १०१ मा महाअभियोगसम्बन्धी व्यवस्था गरिएको छ भने महाअभियोग प्रस्ताव दर्ता भएपछि प्रधानन्यायाधीश स्वतः निलम्बन हुने उपधारा ६ मा रहेको छ ।
सर्वोच्च अदालतले एक वर्षसम्म नेतृत्व नपाउनु दुखद पक्ष हो, अब छिट्टै सर्वोच्चको प्रधानन्यायाधीश र देशभरि रिक्त रहेको पदमा न्यायाधीश नियुक्त हुनु जरुरी छ’ वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले भने । उनले सरकार नै अस्तव्यस्त भएकाले रिक्त रहेका पदको सुनुवाई र नियुक्तिमा ढिलाइ भएको दाबी गरेका छन् ।
न्याय परिषद्को तथ्यांकअनुसार सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित पाँच न्यायाधीशको पद रिक्त छ । त्यस्तै, देशभरका ७ उच्च अदालतमा मुख्य न्यायाधीशको पद रिक्त छ भने देशभरका जिल्ला अदालतमा ३२ न्यायाधीशको पद खाली छ ।
उच्च अदालत समेत कामु न्यायाधीशकै भरमा
सर्वोच्च मात्रै होइन, देशभरका सात उच्च अदालतमध्ये ६ वटामा कायममुकायम मुख्य न्यायाधीशले नेतृत्व गरिरहेका छन् । गत भदौमा छनोट गरिएका न्यायाधीशलाई न्यायापरिषद्ले ६ महिना बितिसक्दा समेत मुख्य न्यायाधीशमा नियुक्त गर्नसकेको छैन । हाल उच्च अदालत पाटनमा महेशप्रसाद पुडासैनी, उच्च अदालत विराटनगरमा सत्यमोहन जोशी थारू, जनकपुरमा गुणराज ढुङ्गेल, पोखरामा डिल्लीराज आचार्य, तुलसीपुरमा गोपाल भट्टराई र सुर्खेतमा माधवप्रसाद पोखरेलले कायममुकायम मुख्य न्यायाधीशको नेतृत्व गरिरहेका छन् ।
कानूनमन्त्री नहुँदा न्यायापरिषदमा गणपुरक संख्या नपुग्ने भन्दै न्यायाधीश सिफारिस र पदस्थापना नगरेको परिषद्ले पूर्णता पाएको २ हप्ता बढी बितिसक्दा समेत प्रक्रिया अघि बढाउन सकेको छैन । संघदेखि प्रदेशसम्म धेरै दलको समर्थनमा अस्थिर सरकार गठन भएकाले अदालतमा समेत प्रधान्यायाधीश र न्यायाधीश नियुक्तिमा ढिलाइ भएको छ । न्यायाधीश नियुक्तिमा ढिलाइ हुँदा चलखेल बढेको भन्दै समयमै नियुक्तिका लागि कार्यविधिसमेत बनाइएको छ । तर, कार्यविधिअनुसार छनोट गरी नाम सार्वजनिक गरे पनि नियुक्तिमा ढिलाइ हुँदा थोरै जनशक्तिको भरमै मुद्दा फस्र्यौट हुँदै आएको छ ।
बझाङः सामाजिक सञ्जालको प्रयोगलाई धेरैले गलतरूपमा टिप्पणी गर्छन् । केहीे सूचनाको माध्यम भए पनि धेरै दुरूपयोग हुने गरेको भन्दै विश्वसनीय मान्दैनन् । तर त्यसै सामाजिक सञ्जालबाट सिकेर नै एक युवा उद्यमी बनेका छन् भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । सामाजिक सञ्जाल फेसबुक, युट्युब, टिकटक, ट्वीटरमा रातदिन नै व्यतित गर्ने अधिकांश युवामाझ फरक तरिकाले उद्यमी बनेका युवा हुन् भुवन जोशी । करिब एक दशकसम्म शिक्षक पेसामा आबद्ध जोशीले युट्युबकै सहारामा गत वर्ष न्यू मालिका फुड्स एण्ड प्रोडक्ट नामक उद्योग सञ्चालनमा ल्याए ।
खप्तडछान्ना गाउँपालिका–७ धर्तिवाडा बझाङका जोशीले व्यवसाय शुरु गरेको एक वर्षमै दोब्बर कमाइ गरे । स्नातक उत्तीर्ण गरेलगत्तै निजी तथा सामुदायिक विद्यालयमा अध्यापन गराएका जोशी विद्यालयमा झन्झटिलो भएर काम गर्नुभन्दा स्वतन्त्र हुन व्यवसाय गर्न चाहन्थे । दैलेखको एक निजी विद्यालयमा तीन वर्ष र अछामको एक सामुदायिक विद्यालयमा छ वर्ष काम गरेपछि उहाँलाई कुनै नै कुनै व्यवसायमा आबद्ध हुने सोच पलायो ।
‘अब कुनै न कुनै व्यवसायमा हात हाल्नुप¥यो सोचिसकेको थिएँ’, उनी भन्छन्, ‘दिनभरि विद्यालयमा पढाउँदा पनि डाकै (स्वर) सुकिहाल्ने । बिहान–बेलुका मोबाइल हेर्दैमा ठिक्क । एक दिन युट्युबमा प्रेरणादायी कथा सुन्दै गर्दा सडकबाट करोडपति भएका व्यवसायीसँग ठोक्किए । तिनका कुराहरू बुझ्दै जाँदा जुनसुकै पेसा व्यवसायमा पनि मेहनतले फल दिन्छ भन्ने बुझेँ र अछामबाट दशैं बिदामा घर आएँ ।’
दशैं बिदामा घर आएको बेलामा शिक्षक पेसा छोडेर व्यवसाय गर्छुभन्दा जोशीलाई परिवारले ठाडै अस्वीकार ग¥यो । भएको शिक्षक पेसा छाडेर व्यवसाय गर्छु भन्दै डुल्न खोजेको भन्दै कसैले पनि उनको कुरा सुन्नै चाहेन । परिवारको सुझाव बेवास्ता गर्दै जोशीले विद्यालय छाडिदिए । आफू विद्यालयमा आउन नसक्ने भन्दै प्रअलाई टेलिफोन गरे र गाउँमै बस्न थाले ।
दुई–चार दिन परिवारमा नरमाइलो भयो । जोशी गडरायतिर डुलिरहे । पालिकाभरि नै डुले । बाहिरबाट ल्याएको चाउमिन महँगोमा किन्नुपर्ने व्यवसायीको गन्थन सुने । त्यसपछि उहाँको सोच चाउमिन उद्योगमा गयो । ‘गडरायमा चाउमिन उद्योग सञ्चालन गर्नुप¥यो भनेर कैलालीका उद्योगीसँग सल्लाह लिएँ’, उनी भन्छन्, ‘कैलालीबाट फर्कँदा मेसिनलगायतका सामान लिएर आएँ । युट्युब हेर्दै जडान गरेँ । त्यसरी नै सिके । युट्युब हेर्दै सिक्न एक महिना नै लाग्यो । त्यसपछि चाउमिन बनाउने भइसकेँ ।’
बिहान चाउमिन बनाउने र दिउँसो गडराय बजारकै होटलमा बेच्नु उनको दैनिकी भयो । विस्तारै व्यवसाय बढ्दै गएपछि दुई जनालाई रोजगारीसमेत दिए । गत वर्ष गडरायलाई मात्र पुग्ने चाउमिन अहिले दुई पालिकाभर जान्छ । आजभोलि दैनिक डेढ क्विन्टल चाउमिन उत्पादन गरिरहेको उनी सुनाउँछन् । जोशीको उद्योगबाट अहिले बझाङ, बाजुराका क्रमशः खप्तडछान्ना र खप्तडछेडेदह गाउँपालिकाका होटलमा चाउमिन छ्यापछ्याप्ती छ ।
जोशीका अनुसार मागअनुसार चाउमिन उत्पादन गरिन्छ । ‘हामी मागअनुसार चाउमिन उत्पादन गर्छाैँ । नियमित डेढ क्विन्टल हो । मागअनुसार चार–पाँच क्विन्टल पनि बनाउँछौँ’, उनले भने । बाजुरामा मात्रै जोशीले उत्पादन गरेको चाउमिन दैनिक ७०–८० केजी जान्छ । बझाङमा भने माग पु¥याउनै नसकेको उनी बताउछन् । उनी बजारमा चाउमिन पु¥याउन पनि आफैँ जान्छन् । बिहानभर चाउमिन बनाउने र दैनिक बिक्री गर्ने गरेको उनी बताउछन् ।
तीन महिनामै असुल भयो लगानी
जोशीले चाउमिन उद्योग सञ्चालन गरेको तीन महिनामै लगानी असुल भइसकेको थियो । ‘शुरूवाती तीन महिनामै लगानी असुल भइसक्यो’, उनी भन्छन्, ‘अब जति गर्न सक्यो, त्यो आफ्नै फाइदा हुन्छ, तर भने जति पुर्याउन सकेको छैन ।’ उनका अनुसार अहिलेसम्म कतैबाट अनुदान सहयोग भने प्राप्त भएको छैन । ‘अहिलेसम्म माग गरेको ठाउँबाट केही पाइएन, अहिले पनि दुई ठाउँमा अनुदानका लागि निवेदन हालेको छु’, उनले भने, ‘अनुदान पाइयो भने उद्योग नै बढाउने थिएँ । दुई–चार जना कर्मचारीसमेत थपेर व्यवसाय बढाउने सोच छ । त्यसका लागि लागिरहेको छु ।’
जोशीले उद्योग शुरु गर्दा शुरुमा रु पाँच लाख लगानी गरेका थिए । ‘शुरु गरेको एक महिनामा सिक्नै लाग्यो । अलि–अलि बिक्री पनि भयो । दोस्रो महिनाबाट भने दशैंको सिजनमा गडरायमै चाउमिन जति पनि खपत हुने भयो । त्यही दुई महिनाको आम्दानीबाट लगानी असुल भयो । अहिले हरेक महिना डेढ–दुई लाखसम्मको कारोबार भइरहन्छ’, उनी भन्छन् ।
अहिले भुवनको काम देखेर परिवारमा पनि सबै खुसी छन् । ‘शुरुमा जागिर नछोड् भनेका हौँ’, उनका दाजु वाल्मीकि जोशीले भने, ‘अहिले भने घरमै भाइले धेरै राम्रो व्यवसाय गरिरहेको छ । त्यसको कामप्रति परिवारमा सबै खुसी छन् ।’
जोशी अहिले बेरोजगार युवाका लागि प्रेरणाका स्रोत बनेका छन् । ‘काम गर्नेलाई यहाँ पनि राम्रै छ । यसै छान्नामा पनि चार–पाँचवटा चाउमिन उद्योग राम्र्रै चल्छन् । तर गर्ने मान्छे छैनन् । चाउमिनमा मात्रै नभई मिल, काठे उद्योग, तरकारी खेतीलगायतका काम गर्न सकिन्छ ।’
उनले चाउमिनमा भने कम मेहनत, छोटो समयमा धेरै राम्रो उपलब्धि हुने गरेको बताए । चाउमिनमा दैनिक चार घण्टा काम गरे प्रयाप्त हुने उनी बताउँछन् । ‘दैनिक चार घण्टा त मेसिनमा पिठो तयार बनाउनसम्म खटेरै काम गर्नुपर्छ । बाँकी समय त बजार डुल्ने हो । यसमा खर्च पनि दाउरा र इन्धनमात्रै लाग्छ, धेरै खर्च पनि हुँदैन’, उनी भन्छन् । रासस
तेजबहादुर बन/मध्यान्ह
इटहरी, १९ माघ । इटहरीमा कुनै कार्यक्रम गर्नुपर्दा त्यसको चाँजोपाँजो कस्तो होला ? अझ त्यसमा प्रमुख अतिथि माननीय वा बहालवाला मन्त्री नै भइदिए तयारी कहाँ सम्मको गरिएला ? आफैँ अनुमान लगाउनुस् । इटहरी जस्तो सौखीनहरूको शहरमा कुनै कार्यक्रम गर्नुपरे प्रमुख अतिथिलाई रातो कार्पेट विछ्याएर, फुलमाला खादा लगायत अन्यले स्वागत गर्नैपर्छ ।
तर बिहीबार इटहरीभित्रै एक कार्यक्रम सम्पन्न भएको छ । जहाँ प्रमुख अतिथिलाई न कुनै कार्पेट, न फुलमाला, न अविर जात्रा सामान्य स्वभावमै कार्यक्रम सम्पन्न गरियो । महिलाहरूले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथिदेखि सबै अतिथिहरू महिलाहरू नै रहेका थिए ।
फाट्टफुट्ट पुरूषको सहभागिता देखिएपनि कार्यक्रम महिला मैत्री बनेको थियो । कार्यक्रमकी प्रमुख अतिथी रहेकी थिइन बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी उनलाई आयोजकले कुनै ताम झाम नगरी सामान्य अवस्थामै स्वागत गरेका थिए । कार्यक्रमस्थलमा सजिएका स्टेज, महंगा सोफा सेट त्यस्तो केहि थिएन । थियो त सबै प्लास्टिकका कुर्सी, उपस्थित सबै विशिष्ट अतिथिदेखि अतिथिहरूले त्यहि कुर्सीमा बसेर कार्यक्रम समापन गरेका थिए ।
यसैबीच सुनसरीको इटहरी उपमहानगरपालिका २ स्थित माया घर नेपालको नयाँ भवन शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । बिहीबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले भवनको शिलान्यास गरेकी हुन् । कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी मन्त्री चौधरीले शिलान्यासपछि नेपाल सरकारले महिला बालबालिका तथा ज्येष्ठ नागरिक र अल्पसंख्यक नागरिकहरूका लागि विभिन्न उपयोगी योजनाहरू ल्याउने बताइन् ।
देशलाई सडक मानवमुक्त बनाउने दौडमा लागेको माया घर नेपालको काम साच्चै नै प्रशंसनीय रहेको भन्दै मन्त्री चौधरीले भवन निर्माणमा पनि सहयोग गर्ने प्रतिवद्धता जाहेर गरिन् । उनले सरकार र आफ्नो तर्फबाट माया घर नेपाललाई सक्दो सहयोग गर्ने प्रतिवद्धता जाहेर गरिन् । साथै उनले आफ्नो तर्फबाट तत्काल ५० थान म्याट र २ थान फिल्टर उपलब्ध गराइन् । माया घर नेपालको अवलोकन गर्दै उनले पीडादायी जीवन व्यतित गर्दै आएकाहरूलाई शरण दिएर राखेको देख्दा केहि क्षण भावुक पनि बनिन् ।
त्यस्तै कार्यक्रमकी विशिष्ट अतिथि सुनसरीको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आफु सुनसरी आउनु अघिनै माया घरको बारेमा सुनेको र आज प्रत्यक्ष देख्न पाउँदा खुसी लागेको बताइन् । उनले प्रशासन र आफ्नो व्यक्तिगत तर्फबाट गर्न सक्ने सक्दो सहयोग गर्ने प्रतिवद्धता जाहेर गरिन् । त्यस्तै प्रदेश सांसद मिना श्रेष्ठले व्यक्तिगत तवरबाट गर्न सकिने उद्धारका कामहरूमा सदैव तत्पर रहने प्रतिवद्धता जनाइन् ।
कार्यक्रम माया घर नेपालकी संस्थापक अध्यक्ष राधिका दासीको सभापतित्वमा शुरू भएको थियो भने संस्थापक सदस्य कमला खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथिदेखि विशिष्ट र अन्य अतिथिहरू समेत महिला रहेका थिए । माया घर नेपालकी सचिव सुभद्रा प्याकुरेलका अनुसार ५ करोड २९ लाखको लगानीसहित तीन तले पक्की भवन निर्माणार्थ बिहीबार शिलान्यास कार्यक्रम सम्पन्न भएको हो । महिलाहरूको साहस र परिश्रमले जन्माएको माया घर नेपालमा हाल १ सय ३२ जनाले आश्रय लिँदै आएका छन् । विभिन्न कारणवस सडकमा जीवन व्यतित गर्न बाध्य भएकाहरूलाई माया घर नेपालले संरक्षण दिँदै आएको छ ।
यसैबीच माया घर नेपालको नयाँ भवन निर्माणका लागि इटहरीका समाजसेवि तथा सेन्ट्रलप्लाजाका सञ्चालक राजेश श्रेष्ठको परिवारले रू.३ लाख ३ हजार प्रदान गरेको छ । त्यस्तै इटहरीकी व्यवसायी बालिका भट्टराईले व्यक्तिगत ५ हजार रूपैयाँ प्रदान गरेकी छिन् । भवन निर्माणार्थ माया घर नेपालले सबैसँग सहयोग माग गरेको छ ।
काठमाडौं : कालिकोटको रास्कोट नगरपालिका वडा नम्बर १ हेप्कोट स्थायी निवासी अशोककुमार शाहीले मध्यान्ह दैनिकको अनलाइन संस्करणमा प्रकाशित समाचारको खण्डन गरेका छन् ।
मध्यान्ह डेली डटकममा २०७९ पुस ९ गते प्रकाशित ‘अश्लील शब्द प्रयोग गर्दै जातीय विभेद, कारबाहीको माग’ शीर्षकको समाचार एकपक्षीय भएको भन्दै शाहीले माघ १८ गते मध्यान्हमा लिखित पत्र पठाई खण्डन गरेका हुन् ।
‘हुँदै नभएको कुरालाई बढाइचढाइ गरी समाचार प्रकाशन गरिएकाले मेरो ध्यानाकर्षण भएको छ’ शाहीले भनेका छन् । उक्त समाचार आधारहीन भएको र त्यसमा कुनै सत्यता नरहेको उनको दाबी छ । ‘समाचारले म र मेरो परिवारको सामाजिक, सांस्कृतिक, राजनीतिकसँगै व्यक्तिगत रूपमासमेत आघात पुगेको छ,’ शाहीले मध्यान्हलाई पठाएको खण्डनमा उल्लेख छ ।
विनोद अधिकारी/मध्यान्ह
चितवन, १९ माघ । भरतपुर १९ रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सम्बन्धी गलत प्रचार भइरहेको धुर्मस सुन्तली फाउन्डेसनले जनाएको छ । कोरोना महामारी र त्यसले पारेको आर्थिक प्रभावको कारण रंगशाला निर्माणमा कठिनाइ भए पनि सामाजिक सञ्जालमा भ्रम फैलाउने र उत्तेजित बनाउने सामग्री सम्प्रेषण भएकोमा फाउन्डेसनले दुःख व्यक्त गरेको छ ।
रंगशाला निर्माणको नेतृत्व पाएको धुर्मुससुन्तली फाउन्डेसनले आर्थिक सहयोग जुटाउन नसकेको भन्दै रंगशाला भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरेको थियो । २०७५ माघ १६ गते रंगशाला निर्माण कार्य शुरु भएको थियो । रंगशालाको अहिले ३ सुरक्षाकर्मी र ३ जना कर्मचारीहरुले रेखदेख गर्दै आएका छन् । लामो समय निर्माण कार्य स्थगित हुँदा रंगशाला निर्माणस्थलमा बनाइएका केही संरचनाहरु बिग्रिसकेको छ भने केहि बिग्रने तरखरमा पुगेको छ ।
फाउन्डेसनका अनुसार अहिलेसम्म रंगशालाको ३५ प्रतिशत निर्माण काम सम्पन्न भएको छ । बाँकी संरचनाको पुनः निर्माण गरेर महानगरले परियोजना अघि बढाउनेमा फाउन्डेसनका प्रतिनिधि टेकेन्द्रजंग शाही आशावादी छन् । पछिल्लो समय सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भएकोमा शाहीले दुख व्यक्त गरे । ‘महालेखाले अध्ययन गरेपछि फाउन्डेसनले पत्रकार सम्मेलन गरी सम्पूर्ण हिसाब बुझाउनेछौं, बाहिर हल्ला गरेको भन्दा भित्री कुरो फरक छ’ शाहीले मध्यान्हसँग भने ।
उनकाअनुसार रंगशालामा एकैपटक ३० हजार दर्शक बसेर खेल हेर्न मिल्ने प्यारापिटको पहिलो चरणको काम सकिएको छ । तर प्यारापिटमा उठाइएका २ सय ८६ वटा पिलर र प्यारापिटका फलाम खिया लागेर कामै नलाग्ने अवस्थामा पुगेको छ ।
रंगशाला निर्माणको शुरुवाती समयमा स्थानीय र खेलप्रेमीको चहलपहल भए पनि अहिले निर्माण कार्य स्थगित हुँदा सबै चिन्तित भएका छन् । भरतपुर महानगरपालिका रंगशालाको बाँकी निर्माण कार्यलाई निरन्तरता दिन सकरात्मक भए पनि फाउन्डेसनले देखाएको १८ करोड ऋण अहिले मूख्य समस्या भएको महानगर स्रोतले जनाएको छ । त्यसैले ऋण कसरी तिर्ने भन्ने बारे टुङ्गो लगाएपछि मात्र रंगशाला निर्माणले तीव्रता पाउने महानगर स्रोतको भनाइ छ ।
ओबराज शाही/मध्यान्ह
हुम्ला, १९ माघ । हुम्लामा दैनिक सोह्र घण्टासम्म लोडसेडिङ शुरु भएको छ । हिल्दुम साना जलविद्युत आयोजनाले दैनिक चौधदेखि सोह्र घण्टासम्म लोडसेडिङ शुरु गरेको हो । आयोजनाका लागि पानीको स्रोत कम हुनुका साथै पानीमा बरफ जम्ने भएपछि लोडसेडिङ समयमा वृद्धि भएको हो ।
स्थानीय भागिन्द्र शाहीले हाल दैनिक चौधदेखि सोह्र घण्टासम्म लोडसेडिङको समस्या खेप्नु परेको बताए । उनकाअनुसार बिहानबाट बेलुकाको अधिकांश समय लोडसेडिङ हुँदा नियमित काममासमेत बाधा पर्ने गरेको छ । राति साढे नौ बजेपछि भने विद्युत् आपूर्ति हुने गरेको छ ।
हिल्दुम विद्युत वितरण केन्द्रले हिउँदको समयमा पानीको स्रोत कम हुने भएको कारण लोडसेडिङ तालिका वृद्धि भइरहेको जनाएको छ । आयोजनाले हाल दैनिक ८० किलोवाट विद्युत् उत्पादन गर्ने गरेको छ । तर पानीको स्रोतको अभावमा वर्षामा भन्दा हिउँदमा बढी लोडसेडिङ हुने गरिएको हिल्दुम साना जलविद्युत् हुम्लाका कार्यालय प्रमुख सानज ऐडीले बताए ।
प्रमुख ऐडीका अनुसार जिल्ला सदरमुकाम सिमकोटमा बत्तीको अनावश्यक खपत बढी हुँदा सबै गाउँमा विद्युत् पुर्याउन गाह्रो भएको स्वीकारेका छन् । उनकाअनुसार केन्द्रले सिमकोट र खार्पुनाथ गाउँपालिकाका दुई हजार एक सय भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।
काठमाडौंः नेपाल प्रहरीका १५० जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा भएको छ ।
बिहीबार प्रकाशित सरूवा सूचीअनुसार १ सय १६ जना डीएसपीको सरुवा र ३४ जनाको काज सरुवा भएको छ ।
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष आर्थिक मिडिया सञ्चालक संघ (इमान)ले सञ्चारमाध्यमलाई सेवामूलक उद्योगको मान्यता दिन मागसहित सुझावपत्र हस्तान्तरण गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटेर संघका अध्यक्ष रोयल आचार्यसहितको प्रतिनिधिमण्डले सो ध्यानाकर्षपत्र बुझाएको हो ।
इमानले बैंक तथा वित्तीय संस्थाका सूचना तथा सार्वजनिक खरिद ऐनअनुसारका सूचना अनलाइन सञ्चारमाध्यममा पनि प्रकाशन गर्न मिल्ने गरी कानून संशोधन गर्न माग गरेको छ । संघले सञ्चारमाध्यमलाई उद्योगको मान्यता दिन, धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, नेपाल टेलिकम, राष्ट्रिय वाणिज्य बैंकलगायत सरकारको स्वामित्व भएका संस्थामा रहेको अव्यवस्थित विज्ञापन वितरण प्रणालीलाई व्यवस्थित बनाउन आग्रह गरेको छ ।
साथै आउँदो बजेटमार्फत आर्थिक मिडियालाई आयकरमा विशेष छुटको व्यवस्था गर्न अर्थ मन्त्रालयलाई आवश्यक सुझाव तथा निर्देशन दिन आग्रह गरिएको इमानका उपाध्यक्ष माधवप्रसाद तिवारीले जानकारी दिए । सो अवसरमा प्रधानमन्त्री दाहालले सुझावलाई सकारात्मकरूपमा लिई कार्यान्वयनका लागि पहल गर्ने आश्वासन दिए ।
देशको अर्थतन्त्र मजबुत बनाउन राज्य र निजी क्षेत्रको बीचमा सञ्चारमाध्यमले सेतुको भूमिका निर्वाह गर्दै ‘मिडिया प्रतिपक्षीमात्र होइन उत्प्रेरक पनि हो’ भन्ने मान्यता लिएर सो संघ स्थापना भएको हो । संघले बुधबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा ‘अर्थतन्त्रका चुनौती र समाधानका उपाय’ विषयक छलफल आयोजना गरेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies