काठमाडौं। काठमाडौंका नन्दीकेशर मन्दिर, शंकरकीर्ति महाविहार र नक्साल भगवती मन्दिरको चिनारी सम्बन्धी जानकारी दिने क्युआर कोड राखिएको छ । सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्व बोकेका स्मारक घुम्न आउने आगन्तुकहरुले सजिलै जानकारी पाउन सकुन भनेर वडाले प्रविधिको प्रयोग थालेको हो, वडा नं. १ का अध्यक्ष भरतलाल श्रेष्ठले जानकारी दिए । ‘अहिले घुम्न आउने जसले पनि स्मार्ट फोन बोकेको हुन्छ,’ उनले भने, ‘क्युआर स्क्यान गरेपछि मन्दिरको प्राचीन इतिहास, यससँग सम्बन्ध जोडिएका जात्रा पर्व, सामाजिक तथा धार्मिक संस्कारलगायत विषय जान्न कसैलाई सोध्नु नपरोस् भन्ने हाम्रो चाहना हो ।’
वडा सदस्य रसला तण्डुकारका अनुसार वडाभित्र ४ वटा प्राचीन ढुंगेधारा छन् । यस्तै नागपोखरी, हिटी पोखरी, चतुर्भुज नारायण, गोमा गणेश, नन्दीकेशर बगैँचा, हरिहर नारायण (आधा विष्णु आधा शिव), साइ केन्द्र, सोराहिटी (तीनधारा), जमल विहार, लाल गणेश जस्ता प्राचीन सांस्कृतिक सम्पदा छन् ।
यी सम्पदाको प्रवर्धनका लागि क्युआर कोडमार्फत काम थालिएको हो । वडा सचिव सर्वज्ञराज पौडेल भन्छन, ‘ठमेल, दरबारमार्ग घुम्न आउने पर्यटकहरु वडा नं. १ का विभिन्न मन्दिर, ढुंगेधारा, महाविहारजस्ता सम्पदा क्षेत्रमा आउनुहुन्छ । उहाँहरुलाई स्मारकका बारेमा जान्न सजिलो होस् भनेर प्रयोगका रुपमा हामीले अहिले २ वटा मन्दिर र एउटा महाविहारको चिनारी क्युआर कोडमा राखेका हौँ । यसको पृष्ठपोषण हेरेर थप कामको योजना बनाउने छौँ ।’
वडाले द सारङ्गको प्राविधिक सहयोगमा क्यु आर कोड राखेको हो । क्युआर कोडमा नेपाली, अंग्रेजी, जर्मन, हिन्दी, फ्रेन्च, चाइनीज, कोरियन, स्पेनिस, जापानीज, अरेविक गरी १० भाषामा अडियो सुन्न सकिन्छ।
दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ आमडाँडास्थित चण्डेश्वरी आधारभूत विद्यालयले विद्यार्थीलाई सीपसँग जोड्न थालेको छ । पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत विद्यालयले विद्यार्थीलाई सीपसँग जोड्दै व्यवहारिक सीप प्रदान गरेको हो ।
गाउँपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमबमोजिम विद्यालयमा लहरे बालीको नर्सरी स्थापना गरी त्यहाँबाट उत्पादित बेर्ना बिक्री थालिएको विद्यालयका प्रधानाध्यापक कुवेर ढकालले जानकारी दिए। उनका अनुसार ८० विद्यार्थीले लहरे बालीको नर्सरी व्यवस्थापनमा प्राविधिक ज्ञान हासिल गर्नाका साथै बेर्ना उत्पादन भएर बिक्री सुरु गरिएको छ ।
पहिलो चरणका चार सय बेर्ना दोस्रो आँबुखैरेनी महोत्सवमा लगेर बिक्री गरिएको प्रधानाध्यापक ढकालले बताए। उनले भने, ‘पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत अहिलेको मौसमअनुसार लहरे बालीलाई अगाडि बढाउनुपर्छ भन्ने हेतुले विद्यार्थी, शिक्षक र अभिभावकको सहभागितामा बेर्ना उत्पादन गरेका थियौं । चार सय बेर्ना उत्पादन भएकामा अधिकांश बेर्ना बिक्री भइसकेको छ ।’
प्रधानाध्यापक ढकालका अनुसार लहरे बालीको बेर्ना बिक्रीका लागि आँबुखैरेनी महोत्सव फलदायी भएको छ । गाउँपालिकाले बेर्ना बजारीकरणका लागि सहजीकरण गरिदिएको थियो । उक्त विद्यालयका विद्यार्थीले गत वैशाखमा अदुवा र हलेदोखेतीको सुरुआत गरेका थिए । दुई रोपनी जमिनमा अदुवा र हलेदो रोपिएको थियो । उनले भने, ‘यो कार्यक्रमले अध्ययनका साथै व्यवहारिक सीप सिकाउन मद्दत मिलेको छ । यसले विद्यार्थीलाई धेरै कुराको ज्ञान भएको छ ।’
शिक्षासँग सीप अभियानलाई अगाडि बढाउन गाउँपालिकाले चालु आर्थिक वर्षमा विभिन्न विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम सुरु गरेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। उनका अनुसार मित्रता माध्यमिक विद्यालयमा चित्रकला, सयपत्री फूलखेती, कन्यादेवी माध्यमिक विद्यालयमा कुखुरापालनलगायत कार्यक्रम सुरु गरिएको छ ।
उनले भने, ‘विद्यार्थीहरूलाई आत्मनिर्भर बनाउन सकिन्छ भन्ने दृढ इच्छाशक्तिका साथ शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोड्नुपर्छ । सीपयुक्त एवं स्वावलम्बी नागरिक उत्पादन गर्ने मुख्य लक्ष्यसहित यो कार्यक्रम सुरु गरेका हौँ ।’ गाउँपालिकाले विद्यालयको माग र आवश्यकताका आधारमा अन्य विद्यालयमा पनि यो कार्यक्रम सुरु गर्ने तयारी गरेको छ । रासस
सिरहा। राजनीतिमा सक्रिय अधिकांश मानिसहरू त कुनै इलमबिनै रहरलाग्दो जीवन बाँचिरहेका पनि देखिन्छन् । एकपटक सार्वजनिक लाभको पद र जिम्मेवारी बहन गरिसकेपछि बाँकी के चाहियो र ? भन्नेहरू पनि छन् । तर यो धारणा सधैँ र सबैका लागि लागू नहुनसक्छ । त्यसैको उदाहरण हुन सिरहाको धनगढीमाई नगरपालिकाका पूर्वप्रमुख हरिनारायण चौधरी ।
विसं २०७४ को स्थानीय निर्वाचनबाट नगरप्रमुख भएका चौधरीले आफ्नो कार्यकाल सकिएसँगै राजनीतिसँगै कृषिलाई मुख्य पेसा बनाएका छन्। ‘सार्वजनिक पदमा हुँदा वा नहुँदा पनि मैले कृषिकर्म छोडिनँ । मलाई माटोमा नङ्ग्रा खियाउन, भकारो सोर्न, डोको बोक्न कहिल्यै अप्ठ्यारो लागेन । मेरो यो कर्म पछिल्लो एक दशकदेखि चलिरहेको छ’, चौधरीले भने, ‘नगरप्रमुखको जिम्मेवारी सकिएपछि त झनै सक्रियताका साथ लागेको छु। काम त गरिखानुपर्यो नि सबैले ।’
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्यसमेत रहेका चौधरीले आफ्नो आम्दानीको स्रोत नै कृषि पेसा बताउँछन्। उनले डेढ बिघामा तोरी, दुई बिघामा हिउँदे मकै र अढाई बिघामा घाँसखेती गरिरहेका छन्। एउटै याममा १५ क्विन्टल तोरी, ९० क्विन्टल हिउँदे मकै र घाँस तथा बीउ बेचेर करिब १० लाखसम्म रुपैयाँसम्म आम्दानी हुने गरेको उनले सुनाए।
‘राजनीतिमा नाम छ तर आर्थिकरूपमा जीवन धान्न धौधौ छ । राजनीति विशुद्ध समाजसेवा हो । त्यसैले परिवारको जोहो टार्न र जीवनयापन गर्न केही त गर्नैपर्छ’, चौधरी भन्छन्, ‘त्यसैकारण मैले व्यावसायिक कृषि सुरु गरेको हुँ । अहिले राजनीतिमा मात्रै हुँदाजस्तो आर्थिक अभाव झेल्नुपरेको छैन ।’
उनी सार्वजनिक पदधारण गरेका हरेक व्यक्तिको जीवनशैली पारदर्शी हुनुपर्ने भन्दै त्यसको उदाहरण आफैँबाट सुरु गर्नुपर्ने मान्यतासहित उद्यममा जोडिएको बताए। ‘सार्वजनिक ओहोदामा रहेका व्यक्तिबारे गलत धारणा छ । काम नगरेरै बाँचिरहेका छन् भन्ने आरोप बारम्बार सुन्नुपरिरहेको छ । त्यो स्वाभाविक पनि हो । समाजलाई डोहोर्याउने जिम्मेवारीमा रहेका नेतृत्वकर्मीले बोलेरभन्दा पनि व्यवहारबाटै जवाफ दिन आवश्यक छ । अहिले कृषिकर्ममा जोडिएपछि मैले परिवारको जीवनयापन सहजरूपमा गर्न सकेको छु । साथै राजनीतिकर्मीका रूपमा लाग्ने गरेको आरोपबाट पनि मुक्ति मिलेको आभास हुने गरेको छ’, उनले भने।
राजनीतिकर्मी वा सार्वजनिक ओहदामा बसेका व्यक्तिलाई उद्यमबाट आर्जेको पैसाभन्दा त्यसबाट कमाएको इमान र प्रतिष्ठाले अझ बढी खुसी मिल्ने गरेको बताउने चौधरीले अहिले तीन छोराछोरीको पढाइ, घरपरिवारको लालनपालन र आवश्यकतामा ढुक्कले दुई पैसा खर्च गर्ने साहस पनि बढेको बताए।
चौधरीको व्यावसायिक कृषिकर्ममा बढेको लगावले परिवारको आम्दानीमात्रै बढेको छैन त्यसबाट आर्जेको सामाजिक प्रतिष्ठाले अझ बढी खुसी दिने गरेको छ। त्यो खुसीले उनकी श्रीमती बचकुनदेवी चौधरीको खुसीको दायरा पनि फराकिलो बनाएको छ । ‘गाउँघरमा राजनीतिकर्मी केही गर्दैनन् भन्ने आरोप सुन्छु । पहिले मेरो श्रीमान्को पनि कुरा काटेको सुन्थेँ । मन अमिलो हुन्थ्यो’, बचकुनदेवीले भने, ‘श्रीमान्ले राजनीतिलाई समाजसेवा र कृषिकर्मलाई आम्दानीको स्रोतका रूपमा अपनाएपछि अहिले भने राम्रो प्रतिक्रिया सुन्छु । त्यसो सुन्दा राजनीतिक नाम, पद, पैसाभन्दा उद्यमबाट आर्जेको प्रतिष्ठा ठूलो हुँदोरहेछ जस्तो लाग्यो । र यसले निकै खुसी हुन्छ ।’
चौधरीले कृषिकर्म गरे पनि पार्टी काम छोडेका छैनन् । त्यसरी राजनीतकर्ममा व्यस्त भएका बेला खेतीपाती सम्हाल्ने सारथी पनि श्रीमती बचकुनदेवी नै छन् ।
उत्पादनसँग जोडिऔँ
अधिकांश जनता कृषि पेसामा भए पनि राज्यको लगानी र सामाजिकरूपमा हेयको दृष्टिले हेर्दा उचित लाभ लिन नसकिएको चौधरीको बुझाइ छ । उनले कृषिबाटै नेपाललाई समृद्ध बनाउने सोचसहित अगाडि बढ्नुपर्ने जरुरी रहेको बताए। सोही भावनाअनुसर आफू नगरप्रमुख भएका बेला धनगढीमाई नगरपालिकाका किसानलाई प्रोत्साहन, आलु पकेट क्षेत्र घोषणा र सहयोगलगायतका काम गरेको उनले सुनाए।
‘हामीसँग उर्बर माटो छ । अनुकूल वातावरण छ’, उनले भने, ‘सिँचाइ सुविधा, समयमै मलखाद, कृषि पूर्वाधारमा लगानी, उत्पादनको बजारीकरण गर्ने राज्यको नीति र आफ्नो माटोलाई माया गर्ने हुने हो भने यहाँ अन्न मात्र होइन सुनै फलाउन सकिन्छ भन्ने आत्मविश्वास नागरिकमा जगाउन जरुरी छ ।’
जनतालाई परिवर्तनमा ल्याउने तथा आत्मनिर्भर र राष्ट्रिय स्वाभिमान निर्माण गर्ने माओवादीका नेता कार्यकर्ताले त उत्पादनमा जोडिएर उदाहरण पेस गर्नुपर्ने बेला आएको चौधरीको भनाइ छ । माओवादीले विसं २०६९ माघमा हेटौँडामा सम्पन्न सातौँ राष्ट्रिय महाधिवेशनमा पार्टीका नेता, कार्यकर्ता उत्पादनसँग जोडिने नीति पास गरे पनि त्यसअनुसार हुन नसकेकामा चौधरीको चित्त दुखाइ छ ।
‘जनयुद्धमा हुँदाका सपना त छँदैछन् । हाम्रो पार्टीको हेटौँडा महाधिवेशनले उत्पादन ब्रिगेडको नीति अख्तियार गर्यो तर नेताहरूले सोअनुसारको व्यवहार अंगिकार गर्न सकिएन । हरेक नागरिक र पार्टी सदस्यलाई श्रम र उत्पादनसँग नजोडी विकास र समृद्धिको सपना पूरा हुन सक्दैन । त्यसैले अधिकांश युवाहरू विदेशिइरहेको बेला नेपालका पार्टीहरूले नै श्रम र उत्पादनसँग जोड्ने अभियान सुरु गर्नुपर्छ’, उनले भने।
राजनीति पेसा होइन, सेवा हो
राजनीतिलाई सेवाभन्दा पनि पेसा बनाउने प्रवृत्ति बढ्दै गएकामा पनि चौधरीको चिन्ता छ । देशमा बेतिथि र कुशासनको जड पनि परनिर्भर संस्कृतिको विकास हो भन्ने चौधरी आफ्ना दैनिक आवश्यकता चलाउनसमेत आम्दानीको स्रोत नभएका व्यक्तिहरूबाट राजनीति स्वच्छ हुन्छ भन्ने कुरा नागरिकले पत्याउन छाडिसकेको उनको धारणा छ ।
‘राजनीतिमा उद्योग, व्यापार, जागिर वा आयआर्जनको अरु केही कुरा छैन तर पनि अधिकांशले ऐयासी जीवन बिताइरहेका छन् । त्यो प्रवृत्तिबाट देशको हित हुन सक्दैन र नागरिकलाई आशावादी पनि बनाउन सकिँदैन’, चौधरी भन्छन्, ‘समृद्धि, सुशासन, निराशाको अन्त्य र आम युवाहरूमा आशाको सन्देश फैलाउन पनि हरेक पार्टी र पार्टीका नेता, कार्यकर्ता उद्यमशील बन्न सक्नुपर्छ । म आफैँले त्यो बाटो रोजिसकेको छु । अरुलाई पनि आह्वान गर्छु ।’ रासस
काठमाडौं । भवन निर्माण इजाजतका लागि काठमाडौं महानगरपालिकाले नयाँ नक्सा दर्ता गर्दा घरधनीको बायोमेट्रिक लिन सुरु गरेको छ। मंगलबार सहरी व्यवस्थापन विभागको रजिष्ट्रेसन डेक्सबाट यो सेवा थालिएको हो। विभागका स्ट्रक्चरल इञ्जिनियर सन्तोष पाण्डेका अनुसार अहिले बुढी औला र चोर औलाको चिन्ह लिइन्छ । यसलाई अद्यावधिक गरेर रेटिना र हस्ताक्षरसहितको बनाउने योजना छ।
पाण्डेकाअनुसार अहिले केन्द्रमा थालिएको सेवा सबै वडामा लगिनेछ । इवीपीएस प्रणालीबाट आवेदन दिनु अघि इञ्जिनियरले नक्सा बनाउँछ। यससँग सम्बन्धित कागजात संकलन गरेर फाइल (बुकलेट) तयार हुन्छ । यो डकुमेन्ट अनलाइनबाट भवन निर्माण इजाजतका लागि पेश गरिन्छ। सामान्यतया यो प्रक्रियाका लागि घरधनीले इञ्जिनियर वा परामर्शदाताको सहयोग लिएका हुन्छ। यसरी पठाइएको विवरण ठिक छ कि छैन भनेर घरधनी महानगरपालिकामा जाँच गर्न आउँदा बायोमेट्रिक लिइने हो । पाण्डे भन्छन, ‘महानगर आउँदा घरधनीले लालपूर्जा र नापी नक्साको सक्कल लिएर आउनुपर्छ । विवरण दोहोरो नहोस् भनेर हेर्नका लागि यो चाहिएको हो । सक्कल कागजपत्र तत्काल फिर्ता हुन्छ ।’
एकपटक बायोमेट्रिक गरिसकेपछि घरधनीले जहाँ जहाँ हस्ताक्षर गर्नुपर्ने हो, त्यो ठाउँमा प्रणालीले नै हस्ताक्षर राखिदिन्छ । यो प्रणालीलाई अहिले सम्पत्ति कर आवद्ध भइसकेको छ । बैंकिङ प्रणालीसँग अटोमेसन भइसकेको छ । भवन नक्सा स्वीकृतिका लागि तिर्नु बुझाउनु पर्ने सबै प्रकारका शुल्क मोवाइलबाटै तिर्न सकिन्छ । प्रणालीमा घरधनीकै मोवाइल नम्बर हुने भएकोले प्रमाणिकरण गर्न सहज हुनेछ । सम्पत्ति करसँग प्रणाली आवद्ध भइसकेकोले सम्पत्ति कर तिरेको ट्याक्स पेयर कोड (संकेत नं) राखिसकेपछि मात्र पेज खुल्छ ।
तुलसीपुर (दाङ)। नेपाल संस्कृत विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता ल्याउन पहल थालिएको छ। विश्वविद्यालयको टोलीले जग्गा फिर्ता गर्ने विषयमा सम्बन्धित निकायमा छलफल तथा बहस थालेको हो।
टोलीले विश्वविद्यालयको जग्गा फिर्ताका लागि सर्वदलीत र सर्वपक्षीय पहल थालिरहेको उपप्रशासक विनयकुमार पोख्रेलले बताए। उनका अनुसार कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि ध्यानाकर्षण गराइएको छ।
प्रधानमन्त्री दाहालले आवश्यक अध्ययन गरेर समाधान गर्ने प्रतिबद्धता जनाएको उपप्रशासक पोख्रेलले बताए। विश्वविद्यालयको दाङका चार स्थानीय तहमा जग्गा छ।
तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका तथा गढवा र राजपुर गाउँपालिकामा विश्वविद्यालयको एक हजार छ सय ६२ बिघा जग्गा छ। तीमध्ये लमहीको सतबरियामा एक सय ६८, राजपुरमा एक हजार १३२, तुलसीपुरस्थित बेलझुण्डीमा तीन सय २६ र गढवाको गोबरडिहामा ३६ बिघा जग्गा रहेको उपप्रशासक पोख्रेलले जानकारी दिए। उनका अनुसार ती सबै जग्गा अतिक्रमणमा परेका छन्।
विसं २०५७ भन्दाअघि जग्गाको आयस्ता पनि विश्वविद्यालयले पाउने गरेको थियो। त्यसपछि विश्वविद्यालयले कुनै पनि जग्गाको आयस्ता पाउन नसकेको जनाउँदै आएको छ। पहिले आयस्ता बुझाउने सर्त रहेपनि अहिले नबुझाएको उपप्रशासक पोख्रेलले बताए।
नक्कली मोहीले समस्या
जग्गामा मोही रहेपनि समस्या समाधान गर्न आफूहरु तयार रहेको विश्वविद्यालयका रजिष्ट्रार माधव अधिकारीले बताए। नक्कली मोही खडा हुँदा समस्या भइरहेको उनको भनाइ छ।
‘खासमा मोही भनेको चार सय आठ बिघा जग्गामा मात्रै हो', अधिकारीले भने,‘अहिले नक्कली मोही खडा हुँदा समस्या उत्पन्न भएको छ।’ राजनीतिक दलहरुले समस्या समाधान गर्न चाहेमा समाधान छिटो हुने उनको बुझाइ छ। उनका अनुसार अहिले उक्त जग्गामा ३० वटा पक्की घरसमेत बनिसकेका छन्।
विश्वविद्यालयको जग्गा भएको छ धूरमा एक जना मात्रै सुकुम्बासी रहेको भन्दै अरु कोहीपनि सुकुम्वासी नरहेको उनले दाबी गरे।‘जग्गामा तेरो/मेरो भन्ने अवस्था सृजना भएको छ’, उनले भने,‘हामीसँग लालपुर्जा छ। उहाँहरुले पनि लालपुर्जा छ भनेपनि अहिलेसम्म देखेका छैनौँ।’
समाधानका प्रयास
विसं २०७४ मा स्थानीय तहको निर्वाचन हुनुपूर्व जग्गाको विषयमा उत्पन्न समस्या समाधानका लागि विश्वविद्यालयका तीन कर्मचारी खटाएर यहाँका किसानको फाराम भर्ना लगाइएको थियो।
किसानको फाराम भरिसकेपछि कार्यालय खोलेर समस्या समाधान गर्न खोजिए पनि स्थानीय चुनाव नजिकिँदै गरेकाले आचारसंहिता लागेपछि कार्यालय खोल्ने अवस्था आएन।
त्यतिबेला कार्यालय खोल्ने अवस्था नभएपछि हालसम्म पनि उक्त कार्यालय खुल्न नसकेको विश्वविद्यालयका रजिष्ट्रार अधिकारीले जानकारी दिए।अहिले पनि अतिक्रमण भएको स्थानमा गएर घर नबनाउन पटक–पटक ताकेता गर्ने गरिएको भन्दै विचौलियाले जग्गा किनबेच गरिरहेका उनले बताए।अतिक्रमित जग्गाको विषय समाधानका लागि आयोग बनाएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो। रासस
गलेश्वर (म्याग्दी) । प्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थीहरु पढाइका अतिरिक्त आम्दानीसँग पनि जोडिएका छन् । मंगला गाउँपालिका–२ स्थित मंगला माध्यमिक विद्यालय र मालिका गाउँपालिका–७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा बाली विज्ञान विषय अध्ययनरत विद्यार्थीले तरकारी, फलफूल च्याउ उत्पादन गरी बिक्री गरेर आम्दानी गर्न थालेका हुन्।
मंगला माविमा प्राविधिक धार कक्षा (९–१२) मा बाली विज्ञान विषयमा पढाइ सुरु भएपछि विद्यार्थी कक्षा कोठाबाहेक खेतबारीमा समेत पुगेर च्याउ उत्पादन गरी बाबियाचौरमा बिक्री गर्दै आएका विद्यालयका प्रधानाध्यापक गमबहादुर खत्रीले जानकारी दिए। बजारमा विद्यार्थीले उत्पादन गरेको च्याउलाई ‘विद्यार्थी च्याउ’ पनि भन्ने गरिएको छ।
विद्यालयले प्रयोगात्मक अभ्यासका लागि जग्गा भाडामा लिएर च्याउ खेती सुरु गरेका हुन् । सो विद्यालयका प्रधानाध्यापक खत्रीका अनुसार विद्यार्थीले उत्पादन गरेको च्याउ बजारमा प्रतिकेजी एक सय २५ रुपैयाँमा मा बिक्री वितरण हुँदै आएको छ।
‘विद्यार्थीले उत्पादन गरेको च्याउ अहिले बाबियाचौर बजारमै खपत हुने गरेको छ, विद्यार्थीलाई आवश्यक कृषि औजारदेखि बीउबिजन सबै उपलब्ध गराउँछौं,’ उनले भने, ‘विद्यार्थीले लगाएको च्याउको बजार खोज्न समेत सघाउछौँ ।’
विद्यालयमा आधुनिक कृषि प्रणाली र उत्पादनका बारेमा सिकेको ज्ञान परम्परागत खेती गर्दै आएका अभिभावकलाई समेत सिकाउने गरेको प्रअ खत्रीको भनाइ छ। गत माघदेखि च्याउ उत्पादनमा लागेका विद्यार्थीले फागुनको पहिलो सातादेखि बिक्री गर्न थालेका छन् । बाली विज्ञान अध्ययनरत ४४ जना विद्यार्थीले सामूहिकरुपमा च्याउ खेती गरेका छन् । विद्यार्थीको समय कक्षाकोठा र खेतबारीमा धेरै बित्ने गरेको छ । गाउँमै बाली विज्ञान पढ्न पाएकामा विद्यार्थी खुसी छन् ।
एक महिनामै उत्पादन गरी बजारमा लैजान सकिने र थोरै लगानीमा प्रशस्तै आम्दानी गर्न सकिने भएकाले च्याउ खेतीका लागि समुदायलाई समेत सन्देश प्रवाह गरेको विद्यार्थी दीपेश थापाले बताउए। आइतबारसम्म बारीबाटै १७ केजीभन्दा बढी च्याउ बिक्री गरिएको उनको भनाइ छ ।
नेपाल सरकारको नमूना विद्यालय मंगला माविले भाडामा लिएको दुई रोपनी जग्गामा यहाँ अध्ययनरत विद्यार्थीले च्याउ, बैमौसमी तरकारी, टमाटर, प्याजको बीउलगायत उपज फलाउने गरेका छन् । विद्यालयमा २०७६ सालमा नेपाल सरकारबाट कृषि विज्ञान सञ्चालनको अनुमति पाई नियमित पढाइ भइरहेको छ । रासस
बारा । अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी विवादमा हालसम्म सात सय ७९ वटा उजुरीमा मिलापत्र भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
विसं २०८० वैशाख १७ गतेदेखि जिल्ला प्रशासन कार्यालयमार्फत अनुचित लेनदेनसम्बन्धी उजुरी लिन सुरु गरिएको थियो। जसमा तीन हजार तीन सय २२ वटा उजुरी दर्ता भएका थिए।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता दधीराम न्यौपानेले गत वैशाख १७ गतेदेखि हालसम्म सात सय ७९ वटा उजुरीमाथि छलफल, समन्वय, सहकार्य गरी मिलापत्र गराइएको जानकारी दिए।
उनका अनुसार कूल २३ करोड ९२ लाख ३१ हजार सात सय ८२ रुपैयाँ बराबरको दाबी उजुरी परेकोमा हालसम्म विभिन्न माध्यमबाट सहमति, मिलापत्रमार्फत १५ करोड ११ लाख ३७ हजार चार सय ११ रुपैयाँको टुंगो लगाइएको छ।
फिक्कल (इलाम) । माङसेबुङ गाउँपालिका–६ रक्से बजारकी वसन्ता राईको बिहान पानी बोक्दैमा बित्छ। रक्से बजारमा रहेको उनको सानो होटल सञ्चालनका लागि पानीका लागि उनलाई हरेक विहान डेढ घण्टाभन्दा बढी समय उकालो ओरालो गर्नुपर्छ । उनी मात्रै होइन यहाँका अधिकांशको विहानी पानी जोहोमै बित्ने गरेको छ।
‘बजारमा पानीको ठूलो समस्या छ । बजारभन्दा करिब एक किलोमिटर तल धाराखामबाट गाग्रीमा बोकेर जीविका चलाउनुपरेको छ’, उनले भने, ‘बिहान ३ बजेदेखि नै लाइन लागेर पानी थाप्नुपर्छ, पानी सानो भएकाले गाग्री भरिन समय लाग्छ। लाइन लाग्नुपर्दा कहिलेकाहीँ डेढ घण्टासम्म खर्चनुपर्छ।’
सोही ठाउँकी कमलकुमारी राईको पीडा पनि उस्तै छ। उनले खानेपानीको व्यवस्थापन चिन्ताको विषय भएको बताइन्। चिसोपानी पञ्चमीबाट अस्थायीरुपमा पाइपमार्फत ल्याएको पानी निकै कम भएकाले एक गाग्री पनि भर्न नपाइने उनको भनाइ छ। त्यसैले पानीको जोहो गर्न धाराखाममै जानु परेको उनले सुनाइन्।
‘चिसोपानीबाट ल्याइएको पानी त विहान एक घण्टा मात्र आउँछ। कहिलेकाँही त एक गाग्री भर्नै नपाइ बन्द हुन्छ’, उनले भनिन्, ‘त्यसैले धाराखाममा भर पर्नुको विकल्प छैन। कहिलेकाहीँ त ट्यांकरबाट पानी किनेर समेत प्रयोग गर्नुपरेको छ।’
रक्से बजारमा पानीको समस्याकै कारण विकासले गति लिन नसकेको स्थानीयको बझाइ छ। पानी अभावका कारण विकास निर्माणमा पछि परेको स्थानीयवासी सुनिता राई बताउँछिन। ‘विकासको काम गर्न वा कुनैपनि संरचना बनाउनका लागि पानीकै आवश्यकता पर्दो रहेछ। यहाँ खानेपानी नै छैन, अन्य प्रयोजनका लागि त पानी झन् टाढाको कुरा भयो’, उनले भनिन्, ‘खानेपानीको व्यवस्थापन गर्न जनप्रतिनिधिसँग पटकपटक माग राखेका छौंँ, आश्वासन पनि नपाएको होइन तर भएन, यसपटक पम्पिङ सिस्टमबाट खानेपानी आउने आश्वासन पाएका छौं ।’
रक्से बजारकी बसन्ता, कमलकुमारी र सुनिता मात्र होइन, यहाँका करिब ५० घरपरिवारले वर्षौंदेखि खानेपानीको लागि घण्टौँसम्म उकालोओरालो गर्नुपर्ने बाध्यता झेल्दै आएका छन्। खानका लागि मात्र होइन, शौचालय जान, नुहाइधुवाइ गर्न, लुगाकपडा धुन तथा वस्तुभाउलाई खुवाउन झनै समस्या भोग्नुपरेको कमलकुमारी बताउँछिन्। सरकारसँग चाँडो खानेपानीको दिगो व्यवस्थापन गरिदिन उनको माग छ। बोकेर ल्याएको पानीले खान नै नपुग्ने अवस्थामा शौचालयमा प्रयोगलगायत अन्य प्रयोजनमा प्रयोग गर्न झनै समस्या हुने गरेको उनीहरुको भनाइ छ।
त्यस ठाउँमा खानेपानी आयोजना सञ्चालन नभएको भने होइन । तर, दिगो मुहान नभएका कारण समस्या झेल्नुपरेको स्थानीयवासी किरणकुमार राई बताउँछन्। ‘आर्थिक वर्ष २०६७÷६८ मा मावाखोलाको शिर खालेधाराबाट अस्थायी खानेपानीको व्यवस्थापन गरेका थियौँ, त्यो पनि ६ महिना आउँछ त्यसपछि मुहान सुक्छ । असारमा मूल फुटेपछि मात्र आउँछ”, उनले भने, ‘अहिले त्यो पानी मुहान सुकेर बन्द भइसकेको छ, घण्टौँसम्म पर्खेर डोकोबाट पानी ओसार्नुको विकल्प छैन।’
खानेपानीको माग गर्दै सरकारी निकाय, विकासे संस्थालाई गुहार्दासमेत आफूहरुको समस्या ज्यूँकात्यूँ रहेको स्थानीयको भनाइ छ। नजिकै खानेपानीको स्रोत नभएपछि सरकारी निकाय र विकासे संस्था समेत पन्छिएर जाने गरेको उनीहरुको गुनासो छ । समुद्री सतहदेखि करिब दुई हजार मिटर उचाइमा अवस्थित रक्से बजारमा नजिकै पानीको स्रोत नभएको र सरकारी निकायले समेत खानेपानी आयोजना निर्माणमा गम्भीर चासो नदेखाएका कारण लामो समयदेखि पानीको समस्या भोग्दै आउनुपरेको राई बताउँछन्।
खानेपानीको अभावकै कारण स्थानीय माङमालुङ आधारभूत विद्यालयका शिक्षक–विद्यार्थी समेत समम्यामा परेका छन् । पानीको अभावका कारण रक्से बजार सरसफाइमा समेत बाधा पुग्ने गरेको छ।
माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले आगामी वर्षसम्म रक्सेबजारबासीको खानेपानीकै समस्या समाधान हुने दाबी गरे। संघीय सरकारको विशेष अनुदानबाट दुई करोडको लागतमा मिक्लाजुङ खानेपानी आयोजना अन्तर्गत गढेरे खोलालाबाट एक सय ७१ घरधुरीका लागि पम्पिङ सिस्टमबाट वृहत खानेपानी आयोजना सञ्चालन हुने तयारी भइरहेको बताए । रासस
काठमाडौं । सवारी ज्यान मुद्दामा क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्र बाँस्तोला दोषी ठहर भएका छन्।
सोमबार जिल्ला अदालत, दाङका न्यायाधीश मनोजकुमार श्रीवास्तवको इजलासले उनलाई दोषी ठहर गर्दै १ वर्ष कैद सजाय गर्ने आदेश सुनाएको हो ।
दशैं मनाउन सुर्खेत जाने क्रममा बाँस्तोलाले चलाएको स्कर्पियोले मोटरसाइकललाई ठक्कर दिँदा २९ वर्षीय वसन्तराम चौधरीको मृत्यु भएको थियो।
चौधरीको मृत्यु भएपछि बास्तोलालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। केही समयपछि उनी धरौटीमा छुटेका थिए।
काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको ८२ वर्षको उमेरमा निधन भएको छ। उपचारका लागि सोमबार दिउँसो उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो ।
उनको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ ।
झण्डै ४ सय गीतमा स्वर तथा संगीत दिएका आचार्य भजन शिरोमनी उपनामले समेत चिनिन्छन् । उनका मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरुको जस्ता थुप्रै गित लोकप्रिय छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies