काठमाडौं : कोरोना महामारीपछि अर्थतन्त्र चलायमान हुँदा विश्वका अधिकाश मुलुकमा आप्रवासी कामदाको माग बढेको छ । स्पष्ट नीति लिन सकेको अवस्थामा रेमिट्यान्स र वैदेशिक रोजगारमा निर्भर नेपालले त्यसबाट ठूलो लाभ लिन सक्ने देखिएको छ ।
मूलतः ट्रेड युनियन अधिकारका दृष्टिकोणले अनुदार खाडी र मलेसियामाथिको परम्परागत निर्भरता हटाई युरोपको उदार श्रम बजारमा नेपाली कामदारको पहुँच वृद्धि हुने पनि देखिएको छ । युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक जर्मनीले यस वर्षको अन्त्यसम्ममा २ लाख जना दक्ष विदेशी कामदार भित्र्याउने बताएको छ । यो संख्या गत वर्ष सन् २०२३ को तुलनामा १० प्रतिशतले बढी हो ।
उक्त मुलुकले दक्ष कामदार भित्र्याउने प्रक्रिया सहज बनाउन अध्यागमन नियमहरू खुकुलो पारेको छ । जर्मनीले विगत ५ वर्षमा लगभग १६ लाख रोजगारी सिर्जना गरेको छ । त्यसको ८९ प्रतिशत पदहरूमा विदेशी कामदार भर्ना गरिएको छ ।
दक्ष विदेशी कामदार आकर्षित गर्न उसले क्यानाडाबाट प्रेरित पोइन्ट प्रणालीमा आधारित अवसर कार्ड सुरुवात गरेको छ । यसलाई ‘अपच्र्युनिटी कार्ड’ भन्ने गरिएको छ, जसले नेपाल जस्ता युरोपियन युनियनभन्दा बाहिरी मुलुकबाट दक्ष कामदार लैजान छिटो र सहज हुने बताइएको छ ।
जर्मन विदेशमन्त्री एनालेना बेरबकले आप्रवासन ऐन सुधार गरेर युरोपमा सबैभन्दा आधुनिक अध्यागमन कानुन बनाएको र अन्ततः त्यसले आप्रवासी कामदारको भिसा प्रक्रियालाई सरल बनाउने बताएका छन् । आप्रवासी कामदारहरूको कमी पूरा गर्न उमेर, जर्मन र अंग्रेजी भाषा सीप जस्ता सामान्य विषयलाई प्राथमिकता राखेको जर्मन सरकारले बताएको छ ।
हाल जर्मनीले सिरियाली गृहयुद्धबाट भागेका ठूलो संख्याका सिरियन नागरिकलाई रोजगारीमा लगाएको छ । सन् २०२२ को सुरुमा रुस–युक्रेनमा युद्ध सुरु भएदेखि नै आप्रवासीको ठूलो लहर जर्मनीमा पुगेको छ तर पनि दक्ष कामदारको अभाव नटरेको बताइएको छ ।
यता, सन् २०३५ सम्म जापानमा १ करोड विदेशी कामदार आवश्यक पर्ने यसअघि नै सार्वजनिक भएको छ । हाल जापानमा कामदार पठाएका पूर्वी एसियाली मुलुकहरूमध्ये भियतनाम, थाइल्यान्ड र इन्डोनेसियाका कामदारले काम गरिरहेका छन् । तर, तीव्र आर्थिक विकास भई आफ्नो देशमा नै रोजगारीका अवसर सिर्जना भएकाले ती मुलुकबाट कामदार जाने क्रम घटेको छ । त्यसको लाभ पनि नेपाली कामदारले पाउने संभावना रहेको स्वयं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले बताएका छन् ।
तर, समयमै नेपाली कामदार सहज रूपमा आकर्षक गन्तव्यमा पठाउने भरपर्दो पहल नहुँदा ‘लंकामा सुन छ, कान मेरो बुच्चै’ भन्ने पुरानो नेपाली उखान चरितार्थ भएको धेरैको भनाइ छ ।
नेपाली कामदारको आकर्षक गन्तव्य मलेसिया अनिश्चित बनेका बेला जर्मनी तथा जापानमा देखिएको अवसर भरपर्दो विकल्पसमेत बन्ने धेरैको बुझाइ छ ।