काठमाडौं : काठमाडौंको पुतलीसडकस्थित कान्तिपुर सिटी कलेज (केसीसी)ले प्रत्येक वर्षझैं यस वर्ष पनि 'केसीसी एक्जिबिट' कार्यक्रम आयोजना गरेको छ । साउन १६ गते उद्घाटन गरिएको प्रदर्शनी साउन १७ गते सम्पन्न भएको थियो ।
शुक्रबारदेखि सुरु भएको दुईदिने प्रदर्शनीको उद्घाटन नेपाल सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका थिए । कलेजका अध्यक्ष सुमन कटुवालको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा राष्ट्रिय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) का सचिव डा. रवीन्द्रप्रसाद ढकाल विशिष्ट अतिथि थिए ।
कार्यक्रममा अन्य विशिष्ट अतिथिहरूमध्ये सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौडेल, क्यान महासंघकी अध्यक्ष सुनैना पाण्डे, म्यानका महासचिव इन्द्रकुमार श्रेष्ठ, कलेजका प्रबन्ध निर्देशक डा. प्रल्हाद कार्की, आमसञ्चार विभाग प्रमुख प्रा. रामकृष्ण रेग्मी, प्राचार्य राजु कट्टेल, र कार्यक्रम संयोजक इञ्जि. रवी श्रेष्ठ प्रमुख रुपमा सहभागी थिए ।
उद्घाटन समारोहमा मन्तव्य राख्दै मन्त्री गुरुङले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र फाइभजी प्रविधिलाई युगानुकूल आवश्यकता भएको भन्दै यसै वर्षदेखि सरकारद्वारा यसको पूर्वाधार विस्तार सुरु गरिने जनाए । उनले आगामी एक वर्षभित्र नेपाललाई प्रविधिमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरे ।
उत्कृष्ट नवप्रवर्तनका लागि डाटा सेन्टरहरूको विस्तार र प्रविधिमैत्री प्रणालीको विकासलाई सरकारले प्राथमिकता दिएको पनि उनले उल्लेख गरे ।
नाष्टका सचिव डा. ढकालले देश विकासमा इञ्जिनियरहरूको भूमिकालाई उजागर गरे। सूचना प्रविधि विभाग प्रमुख पौडेलले 'केसीसी एक्जिबिट' जस्ता कार्यक्रमहरूले विद्यार्थीलाई व्यवहारिक ज्ञानमा हौसला प्रदान गर्ने बताए । उनले सरकार, उद्योग र शैक्षिक संस्थाबीचको त्रिकोणात्मक सहकार्यले मात्र दिगो प्रविधि विकास सम्भव हुने धारणा राखे ।
अन्य वक्ताहरू सुनैना पाण्डे, प्रा. रामकृष्ण रेग्मी, इन्द्रकुमार श्रेष्ठलगायतले कलेजस्तरमा यस्ता कार्यक्रम हुन थालेकोप्रति सन्तोष व्यक्त गर्दै व्यवहारिक शिक्षाको पहुँच विस्तार भएको बताए ।
कार्यक्रममा केसीसीका सञ्चार विभागका उपनिर्देशक राजीव तिमल्सिनाले शैक्षिक प्रदर्शनीमार्फत उद्यमशीलता र व्यवहारिक शिक्षाको विकास भएको बताए । प्राचार्य राजु कट्टेलले दुईदिने प्रदर्शनीले विद्यार्थीहरूको सिर्जनशील क्षमताको अभिव्यक्ति भएको बताए ।
दुई दिनमा विविध खालका परियोजनाहरू प्रदर्शन गरिएको थियो । जसमा शैक्षिक प्लेटफर्महरू, एआई तथा सफ्टवेयर एप्लिकेसनहरू, भूकम्प प्रतिरोधी संरचना, स्मार्ट एटेन्डेन्स प्रणाली, रियल टाइम डिटेक्सन टेक्नोलोजी, मौसमी डाटा प्रणाली, स्मार्ट डोर लक र आवाजमार्फत चल्ने प्रणाली, केसीसी भ्वाइस असिस्टेन्स, स्थानीयस्तरका परिकारहरू रहेका थिए ।
यसका अतिरिक्त, लोकप्रिय गायिका एञ्जिला रेग्मीको लाइभ कन्सर्ट र हास्य कलाकार जितु नेपालको प्रस्तुतिले दोस्रो दिनको कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
दुई दिनको अवधिमा करिब ११ हजारभन्दा बढी विद्यार्थी, शिक्षक, अभिभावक, सञ्चारकर्मी, उद्यमी तथा सर्वसाधारणहरूले प्रदर्शनीको अवलोकन गरेका थिए । यस्तो सहभागिताले 'केसीसी एक्जिबिट'लाई राजधानीमै एक सशक्त शैक्षिक प्लेटफर्मको रूपमा उभ्याएको छ ।
प्रदर्शनीले नेपाली शैक्षिक क्षेत्रमा सैद्धान्तिक शिक्षाको सीमाभन्दा बाहिर गएर व्यवहारिक र उद्यमशील शिक्षा कस्तो हुन सक्छ भन्ने उत्कृष्ट नमुना प्रस्तुत गरेको छ ।
पूर्वाञ्चल विश्वविद्यालयसँग आबद्ध केसीसीको स्थापना सन् २००० मा डा. प्रह्लाद कार्की र सुमन कटुवालको नेतृत्वमा भएको हो । हाल कलेजमा एक हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
यहाँ आईटी, इन्जिनियरिङ, व्यवस्थापन, मानविकी र पत्रकारितासम्बन्धी विषयमा अध्ययन गराइन्छ । निकट भविष्यदेखि एआई विषयसमेत पाठ्यक्रममा समावेश गरिने कलेज प्रशासनले जनाएको छ ।
यस कलेजले समय–समयमा यस्ता व्यवहारिक तथा परियोजना-आधारित कार्यक्रमहरू आयोजना गर्दै आएको छ, जसले विद्यार्थीलाई सिर्जनशील र जिम्मेवार बनाउने लक्ष्य राखेको छ ।
केसीसी एक्जिबिट २०२५ ले शैक्षिक प्रदर्शनीको नयाँ मापदण्ड स्थापित गरेको छ । यस्ता कार्यक्रमहरू विस्तार हुँदै गएमा, शिक्षामा गुणस्तरको मात्र होइन, व्यवहारिकताको पनि गहिरो प्रभाव पर्ने निश्चित देखिन्छ । सरकार, शैक्षिक संस्था, र उद्योगबीचको सहकार्यबाट प्रविधिमा आधारित शिक्षालाई नयाँ उचाईमा पुर्याउन सकिने सम्भावना प्रष्ट देखिएको छ ।