२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

सुदूरपश्चिममा डेंगु संक्रमित बढ्दै

ADV
मध्यान्ह
२०८१ असार ५ गते १३:११
सुदूरपश्चिममा डेंगु संक्रमित बढ्दै

कञ्चनपुर : लामखुट्टेको टोकाइबाट लाग्ने डेंगुको संक्रमण सुदूरपश्चिमका पहाडी जिल्लामा बढ्दै गएको छ । तराईका जिल्लामा अधिकांश देखिने मलेरिया, डेंगुलगायत रोगको संक्रमण पछिल्लो समय पहाडी जिल्लामा पनि बढ्दै गएको देखिएको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले पहाडी जिल्लामा लामखुट्टे बढेसँगै पछिल्लो समय डेंगुको संक्रमण पनि बढ्दै गएको बताए । उनका अनुसार गत माघ यता सुदूरपश्चिममा एक सय ४० जनामा डेंगुको संक्रमण देखिएको छ । सबैभन्दा बढी डोटी जिल्लामा ४७ जना संक्रमित फेला परेका उनले जानकारी दिए ।

निर्देशनालयको तथ्यांकनुसार अछाममा २६, कञ्चनपुरमा २४, बाजुरामा १५, दार्चुलामा १०, कैलालीमा नौ, बझाङमा चार, डडेल्धुरामा तीन र बैतडीमा दुई जनामा संक्रमण देखिएको छ । “पानी पर्न थालेपछि तराईमा समेत संक्रमण बढ्ने जोखिम रहन्छ”, जोशीले भने, “अहिले तराईमा अत्यधिक गर्मीका कारण लामखुट्टे मरेका छन् । पानी परेर केही चिसो हुन थालेपछि संक्रमणको जोखिम बढ्ने छ ।” उनले पछिल्ला केही वर्षयता सुदूरपश्चिमका पहाडीका साथै तराईका जिल्लामा एकैसाथ संक्रमण देखिन थालेको बताए ।

डेंगु नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेश सरकारले किट र औषधि व्यवस्थापन, चिकित्सकसहित स्वास्थ्यकर्मीको क्षमता विकास एवं प्रशिक्षणका साथै यहाँका अस्पतालहरुमा संक्रमति बिरामीका लागि छुट्टै वार्ड र शय्याको व्यवस्थापन गरेको निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत जोशीले जानकारी दिए । स्थानीय तहले लामखुट्टेको लार्भा भएका ठाउँको पहिचान गरी ‘खोप र नष्ट गर’ सञ्चालन गरिरहेका उनको भनाइ छ ।

निर्देशनालयका अनुसार सन् २०२३ मा सुदूरपश्चिममा एक हजार एक सय ९४ जनामा डेंगु संक्रमण देखिनाका साथै चारजनाको मृत्यु भएको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise