२०८१ मंसिर ६ गते बिहिवार / Nov 21 , 2024 , Thursday
२०८१ मंसिर ६ गते बिहिवार

कैदीबन्दीको आँखा जाँच गरी चस्मा वितरण

ADV
सुर्य प्रसाद भुसाल
२०८१ मंसिर ४ गते २०:४१
कैदीबन्दीको आँखा जाँच गरी चस्मा वितरण

सन्धिखर्क : नेत्रज्योति संघ र दिगो विकास केन्द्र काठमाडौंले जिल्ला कारागार अर्घाखाँचीका कैदीबन्दीको निःशुल्क आँखा परीक्षण गरेको छ । नेत्रज्योति संघ अर्घाखाँची अस्पतालको आयोजना सन्धिखर्क नगरपालिका र जिल्ला कारागार कार्यालयको समन्वयमा आँखा परीक्षण शिविर गरिएको दीगो विकास केन्द्रका अध्यक्ष डाक्टर जय बहादुर टन्डनले जानकारी दिए ।  उनले भने,‘हाम्रो संस्थाले ७७ जिल्लामा सामाजिक उत्तरदायित्व अन्तर्गतका कामहरु गरिरहेको छ ।

केन्द्रीय कारागारमा पनि कैदीबन्दीको निःशुल्क शिविर गरेका थियौं । यहाँ गर्न पाउँदा खुसी छौं । जिल्लामा धेरै विकासका काम गर्ने योजना छ ।’ राष्ट्रिय योजना आयोगका सदस्य समेत रहेका टन्डनले अब अर्घाखाँची जिल्लामा संस्थामार्फत विद्यालयहरुमा केही कार्यक्रम गर्ने अर्घाखाँची अस्पताललाई डाइनोसिस मेसिन उपलब्ध गराउने आँखा उपचार केन्द्रलाई केही सहयोग गर्ने योजना रहेको बताए ।

कार्यक्रममा जिल्ला समन्वय प्रमुख जीवनारायण कोईरालाले कैदीबन्दीहरुको आँखा जाँच चस्मा वितरण कार्यक्रम गरेर संस्थाले पुण्यलाभको काम गरेको बताए । कार्यक्रममा सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठ, उपप्रमुख मिश्रा आचार्य, प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल, सन्धिखर्क नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्ल, समाजसेवी दलबहादुर केसी, कारागार प्रमुख पोमकला भण्डारी, पत्रकार महासंघका अध्यक्ष असोक खनाल लगायतको उपस्थितिमा शिविर उद्घाटन गरिएको थियोे । उक्त शिविरमा ८९ जना कैदीबन्दी र थुनुवा लाभान्वित भएको अर्घाखाँची आँखा अस्पतालका मेडिकल अधिकृत सागर घिमिरेले बताए ।

आँखा जाँच गर्नेमा ६ जना महिला र ८९ जना पुरुष थिए । जसमध्ये ७१ जनालाई नजिकको दृष्टिको लागि निःशुल्क पावर भएको चस्मा र १ जनालाई मोतियाविन्दु देखिएको नेपाल नेत्रज्योती संघ अर्घाखाँचीका अध्यक्ष दलबहादुर केसीले जानकारी दिए । आवश्यक परेकाहरुलाई निःशुल्क औषधी र चस्मा वितरण गरिएको छ । आँखा उपचार केन्द्रका स्वास्थ्यकर्मी किरण ढुंगानाको भनाइ छ ।

मोतियाविन्दु देखा परेका १ जनालाई निःशुल्क शल्यक्रियाका लागि अस्पतालमै बोलाइएको अध्यक्ष केसीले बताए । ‘कसैको पहुँच नभएका कारण स्वास्थ्य बञ्चित नहोस्’ भन्ने उद्देश्यले शिविरको आयोजना गरिएको उनको भनाइ थियो । अस्पतालका मेडिकल अधिकृत सागर घिमिरेको नेतृत्वमा स्वास्थ्यकर्मी किरण ढुंगानाले बिरामीको कारागारमा आँखा परीक्षण गरेका थिए । अर्घाखाँची आँखा अस्पतालले पनि कैदीबन्दीहरुको वार्षिक रुपमा कारागारमा पुगेर निःशुल्क स्वास्थ्य परीक्षण आँखा परीक्षण  शिविर आयोजना गर्ने गरेको कारण कैदीबन्दी र थुनुवाहरु लाभान्वित भएको आँखा अस्पतालका अध्यक्ष दल बहादुर केसीले जानकारी दिए ।

ADVADV

सम्बन्धित खबर

Advertise