काठमाडौं : चालू आर्थिक वर्षको ३ महिनामा मुलुकले प्राप्त गरेको रेमिट्यान्ससँगै वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या पनि अघिल्लो वर्षको तुलनामा बडेको छ । व्यक्तिगत श्रम स्वीकृतिमा जानेको संख्या बढ्दै जाँदा संस्थागत अर्थात् म्यानपावर कम्पनीबाट संस्थागत श्रम स्वीकृतिमा जानेको संख्या भने तुलनात्मक रूपमा घट्दै आएको देखिएको छ ।
नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालू आर्थिक वर्षको ३ महिनामा ४ खर्ब ७ अर्ब ११ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ भने असोजमा मात्रै १ खर्ब ४४ अर्ब रुपैयाँ भित्रिएको छ । रकम गत वर्षको सोही अवधिको तुलनामा यो ११ दशमलव ५ प्रतिशतले बढी हो ।
२ आर्थिक वर्षका अघिल्ला ३ महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या पनि बढेको छ । गत वर्षको पहिलो ३ महिनामा १ लाख ६२ हजार ६९४ जना वैदेशिक रोजगारीमा गएकामा चालू आर्थिक वर्षको सोही अवधिमा १ लाख ७० हजार ५९३ जना गएका छन् ।
समग्रमा वैदेशिक रोजगारीमा जाने युवायुवतीको संख्या बढे पनि संस्थागत अर्थात् म्यानपावर कम्पनीबाट गएका कामदारको संख्या गत वर्षको पहिलो ३ महिनाको तुलनामा यस वर्षको पहिलो ३ महिनामा करिब ८ हजारभन्दा बढीले घटेको छ । गत वर्ष साउन, भदौ र असोजमा संस्थागत अर्थात् म्यानपावर कम्पनीमार्फत ८७ हजार ७६३ जना गएकामा यस वर्षको सोही अवधिमा ७९ हजार ४२६ जना गएका छन् ।
३ महिनाको अवधिमा व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा जानेको संख्या भने करिब एक तिहाइले बढेको छ । गत वर्ष ३ महिनाको अवधिमा व्यक्तिगत श्रम स्वीकृतिमा २२ हजार ३८ जना गएकामा यस वर्ष साढे ६ हजार जनाभन्दा बढी अर्थात् २८ हजार ७२३ जना गएका छन् ।
यस वर्ष साउनमा ८ हजार ९३९, भदौमा ९ हजार २६ जना र असोजमा १० हजार ७५३ जना व्यक्तिगत श्रम स्वीकृतिमा गएका छन् । असोजमा करिब १ हजारको संख्यामा रहेका म्यानपावर कम्पनीले २५ हजार ५०७ जना मात्र पठाएका वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ । १० हजार ७५३ जना व्यक्तिगत श्रम स्वीकृतिमा पठाउनेको कुनै अत्तोपत्तो छैन ।
यसरी व्यक्तिगत रूपमा जाने प्रवृत्तिले जोखिम बढाउने विज्ञहरूले बताए पनि वैदेशिक रोजगार विभागले सहज तरिकाले श्रम स्वीकृति प्रदान गर्दै आएको छ । प्रक्रिया पुर्याएर श्रम स्वीकृति माग गर्नेलाई रोक्न नमिल्ने विभागका सूचना अधिकारी गुरुदत्त सुवेदी बताउँछन् ।