–जुनू घिमिरे
भोक
संसारकै सबैभन्दा शक्तिशाली
हतियार रहेछ ।
लेख्न त मलाई
आफ्नै भोकको कविता लेख्नु थियो
तर, लेख्न पनि अघाउनुपर्ने रहेछ ।
भोकले भोजन चिन्छ
कलम चिन्दैन
भोकाहरूले अक्षरभन्दा पहिला अन्न देख्छन्
आँखा उघ्रन
औंला चलाउन
भोको पेटले नसक्ने रहेछ ।
नखाएसम्म आउँदैन
विचार होस् या विकार
अहिलेलाई मभित्रका भावनात्मक ऊर्जा
भोकाएका छन्
भो, कुण्ठा लेखेर के सुनाउनु दुनियाँलाई ?
बरु भोजनको स्वाद पाएका दिन लेख्ने छु
व्यञ्जनको महाकाव्य ।
अहिले मेरा अक्षरहरू सुतिदिए पुग्छ ।
टन्न अघाएकाहरूले
भोकाहरूका कथा लेख्दैनन्
भोकाहरूको दिन भुँडीमै ठिक्क हुन्छ
भुँडी वरिपरि घुमेको जीवनले
दुनियाँ देखेको छैन
लेख्नलाई पनि त देख्नुपर्यो
देख्न पहिला अघाउनुपर्यो
संवेगात्मक ऊर्जा पलाउनुर्पयो
अनि पो गरिन्छ शब्दलाई न्याय
शब्दलाई नै अन्याय हुनेगरी
म कसरी शब्दको खेती गरूँ ?
त्यसैले मभित्रका शब्दहरू
चुपचाप निदाए पुग्छ ।
भुँडीबाट जुन दिन माथि उठ्ने छु
अनि लेख्ने छु
भोक र भोजनको यात्रा ।
पसिनाले निथ्रुक्क भिजेको शरीरभित्र
बाफिएको एउटा मन
जहाँ चिन्तनभन्दा चिन्ता धेरै छ
दिनभरि मरेर पनि
पानीमा रात काट्नुपरेपछि
शब्दमा संवेगात्मक भाव नमिसिँदो रहेछ
भाव मिसाएर शब्द चातुर्य देखाउन पनि
पेटको मनोभावना बुझ्नुपर्यो ।
भोकाएको पेटमा पानी हालेजस्तो हुँदैन
कविता भनेको चिन्तन पनि हो
शब्द माधुर्यसँगै व्यञ्जना पनि हो
जसलाई भोको पेटले
लेख्न सकेन ।
अधाएकाहरूले छिटपुट लेखेका छन्
भोकाहरूका गीत, कविता, कथा
जुन पढेर मलाई
भोकमाथि नै दया लागेर आउँछ
जो भोकाएकै छैन
उसले भोकलाई भन्दा
शब्दलाई न्याय गर्यो
म भोकाएको छु
शब्दलाई न्याय दिन सक्दिनँ
साँच्चै भोक लेख्नु नै छ भने
आर्यघाटको चिता जलाउने ठाउँमा आऊ
जहाँ लासको प्रतीक्षा गर्दै
भगवान् पुकारिरहेको छ
एउटा भोको मान्छे ।
अस्त्रहरूको अस्त्र
बिषहरूको पनि बिष
रहेछ भोक ।।