–ओम बस्नेत
कुलबहादुर आँगनको छेउको गाईको गोठमा खोले पकाउँदै थियो, अचानक हरि सरलाई देख्छ र भन्छ, ‘ए, सर पो आउनुभएछ, नमस्कार है ! आज त छिट्टै पो आइपुग्नुभएछ, केटाकेटी तयार भएकै छैनन् । ए, नानी हो ! बाहिर निस्क । सर आउनुभएछ’ भन्दै एउटा प्लास्टिकको चौकी राखिदिन्छ ।
‘नमस्ते स...र’ लामो लेघ्रो तानेर २ जनाले एकैचोटि नमस्ते गरे । गीता र श्याम ३ र ४ कक्षाका विद्यार्थी । हरि सर त्यस गाउँको प्राइमरी स्कुलका प्रधानाध्यापक हुन् । अघिल्लो ३ वर्षदेखि नै हरि सर आफैं गएर ती २ जना नानीहरूलाई स्कुल लिएर जान्छन् अनि बेलुकी उनीहरूको घर छेउसम्म पुर्याएर आफ्नो घर आउँछन् । यो दैनिक कार्य थियो उनको ।
यस्तो सुविधा ती २ जना नानीहरूले कसरी पाए त त्यसको रहस्य छ ।
हरि सरलाई पहिलाबाटै थाहा थियो उनको स्कुलको एनरोलमेन्ट बढेन भने सरकारले स्कुल बन्द गर्छ भन्ने कुरा । स्कुल बन्द भयो भने उनी आफैं गौट्सको बिमारी अर्को स्कुलमा सरुवा हुँदा भोग्नुपर्ने दुःख उनलाई थाहा थियो । अवकाश प्राप्त गर्ने दिन नजिकै छ । सरकारलाई बिन्ती चढाएर अझ थप २ वर्ष काम गर्ने इच्छा र कर पनि परेको छ । छोरीको डाक्टरीको पढाइ सक्न २ वर्ष बाँकी नै छ ।
हिसाब उनको तगडा छ । उनले गरेको मिहिनेत कति छ, त्यसको अलग्गै कथा छ ।
एक दिन हरि सरले गाउँको सभामा सम्बोधन गर्ने क्रममा भने, ‘मेरा अति नै प्यारा गाउँबासी हो, तपाईंहरूको यो पुरानो स्कुल अब बन्द हुँदै छ । कारण यहाँ विद्यार्थीको संख्या मापदण्डभन्दा धेरै कम छ । सरकारले मलाई सूचना दिएको छ, यस्ता स्कुलहरू अब बन्द हुन्छ । तपाईंहरूले आफ्नो बालबच्चा जति छन्, तिनीहरू सबैलाई हाम्रो सरकारी स्कुलमा पठाउनु होस् । नत्र यो स्कुल पनि बन्द हुन्छ’ भनेर बसे ।
तालीको बदली गाली नआए पनि मैती आमाले उठेर बोलिन्, ‘पहिला पो ८ जना, ९ जना छोराछोरी हुन्थ्यो र सबै सरकारी स्कुल पढ्नु जान्थ्यो, अहिले त मेरो एउटा छोरी छ, त्यसलाई म जसरी भए पनि इंग्लिस स्कुल पढाउँछु । पठाउँदिनँ सरकारी स्कुल । सरले हामीलाई केही नभन्दा पनि हुन्छ ।’
अर्को एक जनाले त हरि सरलाई नै हरियो हुन्जेल करायो, ‘तपाईंको छोराछोरी, नातानातिनीलाई ल्याउनुस् न यो स्कुलमा अन्त हामीलाई भन्नुस्, हो त हौ अन्त’ भनेर बस्यो । सबैले ‘हो हो’ भनेर समर्थन गरे । हरि सर चुप भए ।
२ जना बच्चाहरूको कारण ६ जना शिक्षक शिक्षिकाको बच्चाहरूले शहरको नामी निजी स्कुल र राज्यबाहिरको जीडी गोइन्का, डीपीएस, सैंट जोसेफ इत्यादि स्कुलहरूमा लाखौँ रुपैयाँ डोनेसन दिएर पढाउने स्वर्णिम अवसर पाइरहेका छन् । त्यो उनीहरूको अधिकार र क्षमताभित्रको कुरा हो र यसमाथि टीका टिप्पणी नभएको बेस हो ।
कुलबहादुर र उसकी श्रीमती भनेको पुरानो मण्डलको खेतबारी र बोट बिरुवा रुङ्ने चौकीदार मात्र हुन् । कम्पनीले मण्डलको खेत लान्छ अरे भन्ने कुरा चल्यो कि हरि सरको मनमा छुरा चल्थ्यो । तर, कुलबहादुर र उसको परिवारलाई केही असर पर्दैन थियो ।
बिचरा ! हरि सरले हिजो अस्ति दसैं खर्च भनेर कुलबहादुरको परिवारलाई लिफामा ५ हजार रुपैयाँ हालेर दिएछन् । नानीहरूलाई सरकारबाट आएको युनिफार्म, जुत्ता, बेग, मिड डे मिलको सुविधाहरू मनग्गे पुगेकै थियो । कुलबहादुरले घरिघरि ‘अब त सर, म पनि नानीहरूलाई इंग्लिस स्कुल हाल्नुपर्यो हौ !’ भनेर हरि सरलाई तर्साउने गर्थ्यो ।
हरि सरले सरकारको मापदण्ड पुर्याउन अनेक उपायहरू अपनाएका हुन् । अलिक हुने खानेको घरमा गएर काम गर्ने आदिवासी केटाकेटी ल्याइदिने र उनीहरूलाई उनकै स्कुलमा भर्ना गर्ने वाचा बन्धनमा २–३ वर्ष टारेका हुन् ।
हेरौं, अब हरि सर र तिनको २ जना विद्यार्थी कता जाने हुन्, जता गए पनि भविष्य सुन्दर होस् । सरकारले धेरै सरकारी स्कुलहरू बन्द गरेर नजिकको अर्को स्कुलमा सम्मिलित गराउने निर्णय लिएको छ, जुन निर्णय स्वागत योग्य छ ।