२०८१ मंसिर ८ गते शनिवार / Nov 23 , 2024 , Saturday
२०८१ मंसिर ८ गते शनिवार

एमाले जागरणसभा : स्पष्टीकरणको दबाब

ADV
घनेन्द्र ओझा
२०८१ मंसिर ८ गते ०६:४०
एमाले जागरणसभा : स्पष्टीकरणको दबाब

काठमाडौं : सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । आसन्न स्थानीय तहको उपनिर्वाचनको मुखमा एमालेले जागरणसभा गरेर पार्टीको पक्षमा जनमत देखाएको हो । नेताहरूका अनुसार जागरणसभाको उद्देश्य पूरा भएको छ । 

२०४६ सालयताका प्रमुख प्रतिस्पर्धी मानिएका २ ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसको संयुक्त सरकार छ । प्रतिपक्षी दलहरूले २ ठूला दलको दुई तिहाइ नेतृत्वको सरकारको कामकारबाही त्यसअनुसार हुन नसकेको भनेर आलोचना गरिरहेका छन् । कतिपयले प्रधानमन्त्री केपी शर्मा ओलीको सुशासनप्रतिको प्रतिबद्धतामा समेत प्रश्न उठाउने गरेका छन् । यही बेला एमालेले जागरणसभा गरेर प्रधानमन्त्री ओली र सरकारको पक्षमा जनमत रहेको सन्देश दिन खोजेको हो । 

२०७९ सालको आमचुनावपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई काँध हालेर कांग्रेसबाट अलग गरेर सरकार बनाएको एमालेले गत असारमा प्रचण्डलाई थामेको काँध हटायो । यसपछि कांग्रेसको टेकोमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेका हुन् ।

ओली प्रधानमन्त्री बनेपछि माओवादी केन्द्र सत्तारूढ अर्को दल कांग्रेससँग भन्दा बढी एमाले र अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँग चिढिएको देखिन्छ । यसका पछाडि मूलतः सत्ता स्वार्थ नै कारक रहेको बुझाइ राजनीतिक वृत्तमा देखिन्छ । 

यसै मेसोमा वर्तमान सरकार सहकारी ठगीका नाममा वा अन्य अनेक बहानामा प्रतिपक्षहरूलाई लपेट्ने प्रयासमा देखिन्छ । प्रचण्डलाई साथ दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी आरोपमा हिरासतमा राखिएको छ । माओवादीलगायत विपक्षी दलको गुनासो छ, ‘रवि मात्र अभियुक्त हुन् र सहकारी ठगीका ? सत्तारूढ दलका अभियुक्तले चाहिँ छाती फुलाएर हिँड्ने ?’

यो त पछिल्लो प्रकरण भयो । विगतमा विशेषगरी ओली नेतृत्वकै सरकारका समयमा भएका ठूला काण्डहरू सेक्युरिटी प्रेस खरिद, ओम्नी, यती, ललिता निवास, सुन तस्करीलगायतका काण्डहरू पनि यतिबेलै चर्चामा आएका छन् पुनः । ललिता निवास काण्डमा मुछिएका विष्णु पौडेललाई सत्ताको प्रमुख सारथि बनाएका केपी ओलीमाथि एकपछि अर्को काण्ड, विवाद र आलोचना खापिएपछि सत्ताकै नेतृत्वमा बसेर राजधानीका सडकमा जनतालाई सास्ती दिँदै चर्को आवाजमा स्पष्टीकरण दिनुपरेको छ ।

यसमाथि माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका प्रतिपक्षी दलहरू सडक र सदन दुवैतिरबाट ओली सरकारलाई घेराउ गर्ने प्रयासमा देखिन्छन् । उता, रास्वपाको आन्दोलन जारी छ भने यतिबेलै दुर्गा प्रसाईं पनि ओलीविरुद्ध टाउको उठाइरहेका छन् आफ्ना समर्थकमार्फत ।

शुक्रबारको ‘जागरणसभा’ खासमा जनजागरणका लागि भएको नभई प्रधानमन्त्रीमाथिका उल्लिखित अनेक आरोपमाथि स्पष्टीकरणका लागि भएको एक राजनीतिक विश्लेषकको भनाइ छ । उनी भन्छन्, ‘कहीँ नभएको जात्रा हो यो । सत्ताको नेतृत्वमा रहेर सत्ताधारी दल र प्रधानमन्त्री नै सडक जाम गर्दै सभामा उत्रिँदैनन् ।’

हुन पनि सभामा प्रधानमन्त्री ओलीले आफूमाथिका केही आरोपलाई आफैंले प्रष्टीकरण दिने प्रयास गरे भने केही प्रष्टीकरणका लागि एमाले महासचिव शंकर पोखरेलको काँधमा हात राखे । पोखरेलले शुक्रबार बिहानै सामाजिक संजालमा पनि केही प्रश्नमार्फत आफ्नो पार्टी र प्रधानमन्त्रीको बचाउनको प्रयास गरेका थिए ।

ओलीले बारबार भनिरहेका छन् भ्रष्टाचारमा शून्य सहनशीलता र अपराध एवं ठगीमा निर्ममताका कुरा । शुक्रबार पनि दोहो¥याए उही कुरा । तर, विगतका भ्रष्टाचार र अपराधका अनि ठगीका उल्लिखित काण्डलगायत निर्मला हत्या काण्ड, ३३ किलो सुन काण्ड, वाइडबडी काण्ड आदिले भने ओली स्वयंलाई गिज्याइरहेका छन् ।

‘शुक्रबारको सभाको औचित्य केका लागि ? भनेर पुष्टि गर्न एमाले र ओलीलाई सजिलो भने भएन किनभने सभाबारे जे भनिएको थियो अर्थात् जागरणसभा, त्यस्तो नभई आफूमाथिका आरोपमा मात्र केन्द्रित भए एमाले नेताहरू’, नेपाली कांग्रेसका एक केन्द्रीय नेताले भने ।

तर, एमालेका नेताहरू भने यसलाई जागरणसभाकै रूपमा व्याख्या गरिरहेका छन् । एक केन्द्रीय नेताको भनाइ छ, ‘सरकार र प्रधानमन्त्रीमाथिका अफवाहपूर्ण आरोपलाई अफवाह हुन्, गलत आरोप हुन् भनेर आमजनमा बुझाउनु पनि त जागरणकै प्रयास हो नि !’ यस्ता अफवाहपूर्ण आरोपका कारण सरकार र प्रधानमन्त्रीले सहज ढंगले देश विकास र जनताका हितमा काम गर्न बाधा पुगिरहेको उनको भनाइ छ ।

संसद् चलिरहेका बेला सरकारले स्पष्टीकरणका लागि रोष्ट्रम प्रयोग गर्न सक्छ । संसद् नभए प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्न सक्छन् । तर, एमालेले शुक्रबार दरबारमार्गस्थित नारायणहिटी छेउमा जागरणसभा राखेर सरकार, प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीमाथि उठेका अनेक प्रश्नहरूको जबाफ दिने प्रयास गरेको राजनीतिक वृत्तमा टिप्पणी भइरहेको छ ।

जगरणसभामा प्रधानमन्त्री ओली र एमाले महासचिव पोखरेलले सम्बोधन गरे । सम्बोधनका क्रममा उनीहरूले सरकारमाथि आन्तरिक दबाब र अन्तर्राष्ट्रिय प्रभाव नरहेको सन्देश दिन खोजे । प्रधानमन्त्री केपी शर्मा ओली र उनी नेतृत्वमा भइरहेको गतिविधिमा उठेका एक÷एक प्रश्नको प्रष्टीकरण दिए ।

ADVADV

सम्बन्धित खबर

Advertise