अर्घाखाँची : सम्भावित अर्घाखाँची जेसीजको सम्भाव्यता अध्ययन गरिएको छ । बुटवल जेसीजको आयोजनमा अर्घाखाँचीमा स्थापना हुन लागेको अर्घाखाँची जेसीजको आवश्यकता र सम्भाव्यता सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले समग्र समाजको सकारात्मक विकास र युवाहरुको नेतृत्व विकासका लागि जेसीज महत्वपूर्ण संस्था भएको बताए । व्यक्तिगत विकास मात्र नभइ समग्र समाजको विकासमा लाग्न जेसीज माध्यम भएको श्रेष्ठले उल्लेख गरे ।
उनले जेसीजको माध्यमबाट नगरको समृद्धिमा लाग्नुपर्ने भन्दै जेसीजको महत्व बुझेर लाग्न युवाहरुलाई अनुरोध गरे । हरेक तहका सरकारको सुशासनका लागि सकारात्मक रुपमा खबरदारी गर्नुपर्ने जिम्मेवारी युवाहरुको रहेको भन्दै समुन्नत र अनुशासित समाजको आवश्यकता अहिलेको महत्वपूर्ण उपलब्धि भएको श्रेष्ठको भनाइ छ ।
अर्घाखाँचीमा स्थापना हुन लागेको अर्घाखाँची जेसीजसँग सहकार्य गरेर नगरको विकासमा लाग्ने बताउँदै स्थानीय सरकार अविभावकको रुपमा रहने प्रतिबद्धता नगरप्रमुख श्रेष्ठले व्यक्त गरे ।
उनले युवाहरुको नेतृत्व र व्यक्तित्व विकाससँगै युवाले गरेका गतिविधिलाई चिनाउन जेसीजले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । युवाहरुलाई उद्यमी र व्यवसायी बन्न सिकाई समाजको विकाससँगै नेतृत्व गर्न जेसिसले सिकाउने भएकाले जेसीज स्थापना गर्नुपर्ने आवश्यकता रहेको जिकिर गरे ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले झण्डाको राजनीति नभइ सबैलाई समान अवसर प्रदान गर्ने युवाहरुको अन्तर्राष्ट्रिय संस्था जेसीज भएकाले यो संस्थाको विकासका लागि नगरपालिका लागि पर्ने बताए । साथै प्रस्तावित अर्घाखाँची जेसीजलाई चाँडै नै अर्घाखाँची जेसीज बनाउने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा जेसिज २०२४ का राष्ट्रिय उपाध्यक्ष गणेश सापकोटाले जेसीजले समाजको नेतृत्वसँगै विकासको संवाहक बनेर काम गर्ने बताए । कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा नं. १ का वडाध्यक्ष माधव श्रेष्ठले समय र उमेरसँगै हरेक युवाहरुको मस्तिष्कको विकास हुन जरुरी रहेको भन्दै समय समपेक्ष विकासमा लाग्न युवाहरु सक्रिय जेसिजले अर्घाखाँचीको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रममा भूमिकास्थान नगरपालिका वडा नं.८ का अध्यक्ष राजकुमार श्रेष्ठले पछिल्लो समय युवाहरुमा नकारात्मक प्रभावसँगै हरेक क्षेत्रमा वितृष्णा पैदा भएको बताए । उनले सकारात्मक सोंच र प्रवृत्तिको विकासका लागि जेसीजले भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा बुटवल जेसीज वर्ष २०२४ का अध्यक्ष बिनोद घिमिरेले सम्भावित अर्घाखाँची जेसीजलाई बुटवलको प्रस्ताव र कपिलवस्तु जेसिजको समर्थनमा अर्घाखाँची जेसिसको स्वीकृति प्रदान गर्न आवश्यक रहेको भन्दै अर्घाखाँची जेसीजका अध्यक्ष ओमहरि आचार्यलाई जेसीजको पिन हस्तान्तरण गरेका थिए । कार्यक्रमको उद्देश्यमाथि प्रकाश गर्दै बुटवल जेसीज वर्ष २०२४ का बिनोद घिमिरेले व्यक्तित्व, नेतृत्व र उद्यमशिलताको विकासका लागि जेसीज महत्वपूर्ण संस्था रहेको बताए ।
कार्यक्रममा सहभागीलाई स्वागत गर्दै सम्भावित अर्घाखाँची जेसीजका अध्यक्ष ओमहरि आचार्यले सुशासनसहितको समुन्नत अर्घाखाँची बनाउने अभियानका लागि जेसीज स्थापना गर्न लागेको भन्दै संस्थाको विकासका लागि सबैको सहयोगको खाँचो रहेको बताए । बिनोद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रम नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।