२०८३ मंसिर ६ गते आइतवार / Nov 22 , 2026 , Sunday
२०८३ मंसिर ६ गते आइतवार

साइबर अपराधको सिकार बन्दै बालबालिका : १ वर्षमै पीडितको संख्या १३७ ले बढ्यो

Nada
मुकुन्द लामिछाने
२०८३ मंसिर ६ गते ०६:२०
Shares
साइबर अपराधको सिकार बन्दै बालबालिका : १ वर्षमै पीडितको संख्या १३७ ले बढ्यो

काठमाडौं : २०८१ साउन ८ गते नाबालिकाको अश्लील भिडियो बनाएर ब्ल्याकमेलिङ गरेको आरोपमा रौतहटका एक युवक पक्राउ परे । प्रहरीको केन्द्रीय साइबर ब्युरोका अनुसार रौतहटको देवाही गोनाही नगरपालिका–१ घर भई काठमाडौं बस्दै आएका ती २० वर्षीय युवकले नाबालिकालाई फेसबुकमा साथी बनाएर विभिन्न प्रलोभन देखाई अश्लील भिडियो तथा फोटो पठाउन लगाउँथे । त्यसपछि त्यही भिडियो र फोटोमार्फत ब्ल्याकमेलिङ गर्दथे । 

यस्ता घटना पछिल्लो समय अझ बढेका छन् । तर प्रहरीले एक÷एक घटनाभन्दा एकीकृत विवरण दिन थालेको छ । कसले कसरी ब्ल्याकमेलिङ गर्दो रहेछ भन्ने जानकारी लिएर त्यही गर्न सक्ने भनेर प्रहरीले एउटा÷एउटा घटनाभन्दा एकीकृत विवरण दिन थालेको हो ।

यस्तो कार्यमा समाजका अगुवा भन्नेहरू समेत संलग्न हुने गरेको प्रहरीकै तथ्यांक छ । २०८१ वैशाख २६ गते सामाजिक सञ्जाल फेसबुकमा नाबालिकाको चरित्र हत्या गरेको आरोपमा भक्तपुर नगरपालिका वडा नम्बर ४ का एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको थियो । 

नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोका अनुसार नाबालिकाले अनलाइन अध्ययन प्रयोजनका लागि खोलेको सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका तस्बिर डाउनलोड गरेर फेक फेसबुक आइडी बनाई नाबालिकाको अनुहार जोडेर अश्लील तस्बिर बनाएर पोस्ट गर्ने गरेका थिए । 

नाबालिकाको अभिभावकले दिएको निवेदनअनुसार ती शिक्षकसम्म प्रहरी पुगेको थियो । 

अर्थात्, समाजका सबै तह र तप्काका व्यक्तिबाट बालबालिका साइबर अपराधको सिकार बनेका छन् । महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले तयार पारेको ‘तथ्यांकमा बालबालिका २०८३’ले पछिल्लो एक वर्षमै साइबर अपराध पीडित बालबालिकाको संख्या १३७ ले बढेको देखाएको हो ।

हालै सार्वजनिक तथ्यांकअनुसार २०८१ सालमा ६३५ जना बालबालिका साइबर अपराधबाट पीडित भएका थिए । यो संख्या २०८२ मा १३७ ले बढेर ७७२ पुगेको हो ।

साइबर अपराधपीडित हुनेमा बालकभन्दा बालिका बढी छन् । २०८१ सालमा २५३ जना बालक साइबर अपराधको सिकार भएका थिए भने २८२ बालिका साइबर अपराधबाट पीडित भएका थिए । 

२०८२ सालमा ३५१ बालक र ४२१ बालिका साइबर अपराधको सिकार भएका थिए । यसले साइबर अपराधबाट सिकार हुने बालबालिकाको संख्या बढ्दो रहेको र यसमा बालिका बालकभन्दा बढी पीडित भएको देखाउँछ ।

प्रविधिको तीव्र विकाससँगै इन्टरनेट र सामाजिक सञ्जाल बालबालिकाको दैनिक जीवनको अभिन्न हिस्सा बन्दै गर्दा यसको मारमा बालबालिका परेका हुन् । पढाइ, मनोरञ्जन र साथीभाइसँगको सम्पर्कका लागि डिजिटल माध्यमको प्रयोग बढिरहेका बेला यही प्रविधि बालबालिकाका लागि जोखिमको माध्यमसमेत बन्दै गएको तथ्यांकले देखाएको हो । 

प्रहरीकाअनुसार सामाजिक सञ्जालको प्रयोग, अपरिचित व्यक्तिसँगको अनलाइन सम्पर्क र व्यक्तिगत विवरणको सुरक्षाजस्ता विषयमा पर्याप्त सचेतना नहुँदा बालबालिका विभिन्न जोखिममा पर्न सक्ने अवस्था रहन्छ ।

laxmi recruitement

सम्बन्धित खबर