२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

श्रीसीताराम विवाह महोत्सवको तयारी तीव्र

Nada
कमल साह
२०८१ मंसिर १२ गते १७:१५
Shares
श्रीसीताराम विवाह महोत्सवको तयारी तीव्र

जनकपुरधाम : रामजानकी विवाह पञ्चमी महोत्सवको तयारी सुरु भएको छ । महोत्वसमा भारतको अयोध्याबाट यस वर्ष पनि जन्ती आउने छ ।

ncell

महोत्वसको लागि जानकी मन्दिरको अगाडी र रंगभूमि मैदानमा टेन्ट लगाउने कार्य द्र्रुत गतिमा भइरहेको छ ।

मंसिर १६ गते सुरु हुने विवाह पञ्चमी महोत्सव सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने निर्णय भएको छ । मंसिर १६ गते नगर दर्शनबाट सुरु हुने सप्ताहव्यापी महोत्सव अन्तर्गत मंसिर १७ गते फूलबारी लीला, मंसिर १८ गते धनुष यज्ञ, मंसिर १९ गते तीलकोत्सव, मंसिर २० गते मटकोर तथा मंसिर २१ गते विवाह उत्सव र मंसिर २२ गते रामकलेवा गरिनेछ ।

महोत्सवलाई सफल बनाउन मधेश प्रदेश सरकारले पनि यो वर्ष सक्रियता देखाएको छ । महोत्सव भव्य र सभ्य बनाउन मधेश प्रदेश सरकार सक्रियतापूर्वक काम अगाडी बढाउँदैछ । 

विश्व हिन्दु परिषद्ले यसवर्ष नयाँ आयाम थपेको कार्यक्रमलाई ऊर्जा थाप्न मुख्यमन्त्री सतिश कुमार सिंह जन्तीलाई निम्तो दिन अयोध्या गएका थिए ।

महोत्सवका अवसरमा  अयोध्याबाट  पाँच  सय भन्दा बढी साधु सन्त लगायतका जन्ती जनकपुरधामका लागि मंसिर ११ प्रस्थान गर्ने निर्धारित योजना छ । 
त्रेता युगमा मिथिला नरेश राजा जनकद्वारा धनुष भङ्गको प्रस्ताव राख्नु, धनुष भङ्ग गर्नेसँग पुत्री सीताको विवाह गर्नु र अयोध्याका राजकुमार रामद्वारा गुरू विश्वामित्रसँग जनकपुरधाम आएर धनुष भङ्गगरी सीतासँग स्वयमवर हुनु स्मृतिमा सीताराम विवाह महोत्सव मनाइने चलन छ  । त्यस अवसरमा देश विदेशका धर्मानुरागीहरू यहाँ आउने गर्छन् ।

धार्मिक ग्रन्थ रामायणअनुसार जनकपुरधाममा आयोजना गरिएको स्वयमवरमा विभिन्न देवी देवताको उपस्थिति थियो । यसै प्रसङ्गलाई विभिन्न पक्षद्वारा प्रतीकात्मक रूपमा देखाउनु नै सीताराम विवाह महोत्सवको विशेषता हो ।

विवाह पञ्चमी महोत्सव  मनाउनको लागि आयोजित बैठकले मञ्च व्यवस्थापन, मटकोर, जन्तीको स्वागत, विद्युत व्यवस्थापन, ट्राफिक व्यवस्थापन, शौचालय एवं फोहोर सरसफाई लगायत कामका लागि निर्देशन दिएको छ ।

जानकी दरबार (जानकी मन्दिर) बाट निस्कने जानकीको डोला र राम दरबार (राम मन्दिर) बाट आउने रामको डोला बाह्रबिघा मैदानमा पुगेपछि स्वयंम्बर कार्यक्रम आयोजना हुन्छ । 

सम्बन्धित खबर