बर्दिया : बर्दिया राष्ट्रिय निकुञ्जले गैँडा अनुगमन तथा स्वीप अप्रेसन थालेको छ । विशेषगरी गैँडाको अवस्था तथा संख्या एकिन गर्न थालिएको हो । अनुगमन तथा स्वीप अप्रेसनमा वन्यजन्तुको चोरीशिकार हुन सक्ने सम्भावित क्षेत्रहरूको गस्ती गरी चोरी सिकारीको अवस्थाका बारेमा समेत अनुगमन गरिनेछ ।
वन जंगलमा अल्झेका वन्यजन्तुहरुलाई उद्धार गर्ने, मरेका वन्यजन्तु पत्ता लगाउने उद्देश्य समेत राखिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक कुमार रामले बताए । बर्दिया राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यालय बर्दिया, बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खरिएको नेपाली सेना जबरजंग गण र राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाले संयुक्तरुपमा थालेको अनुगमन तथा स्वीप अप्रेसनमा छ वटा हात्ती र ३० जना जनशक्ति परिचालन गरिएको छ ।
वाईना कुलर, क्यामरा र जिपिएस सहित खटिएको टोलीले खाता जैविक मार्ग क्षेत्र, भारतीय सीमा क्षेत्र, निकुञ्जको बबई भ्याली र गेरुवाको लालमाटी देखी कोठियाघाटसम्मको क्षेत्रमा गैँडा अनुगमनसँगै स्वीप अप्रेसन थाल्ने प्रमुख संरक्षण अधिकृत रामले बताए ।
जैविक मार्गमा ४ वटा गैँडा रहेको अनुमान गरिएको छ । बुधबारदेखि शुरु भएको अनुगमन तथा स्वीप अप्रेसन १५ दिनसम्म चल्ने बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।