नयाँ राजनीतिक शक्तिका रुपमा राष्ट्रिय राजनीतिमा उदाएका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) घोषणा गरिरहँदा भनेका थिए, हामी राजनीतिको नाममा लाजनीति गर्दैनौं । टेलिभिजनको जागिर छोडेर गत ७ असारमा रास्वपा घोषणा गरिरहँदा आफ्नो पार्टीले देखाउने नैतिकता र गर्ने कामहरुको प्रतिबद्धता सूची नै प्रस्तुत गरेका थिए । हरेक प्रद्धिबता र संकल्पलाई हलबाट तालीले अनुमोदन गरेको थियो । त्यसैअनुसार, रास्वपाले आमचुनावबाट मत समेत पायो । प्रत्यक्षतर्फ सात सिट मात्रै जितेपनि समानुपातिकतर्फ नेकपा माओवादी केन्द्रकै हाराहारीमा मत पाएको थियो । अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रास्वपा सहभागी छ । गत ११ पुसमा पार्टी सभापति एवम् संसदीय दलको नेताका हैसियतमा लामिछाने उपप्रधान एवम् गृहमन्त्री बनेका थिए ।
तर चुनाव अगाडि नै नागरिकताको वैधानिकतामाथि परेको मुद्दामा सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गरिदियो । लामिछाने सांसद नरहेपछि उपप्रधान एवम् गृहमन्त्री पदबाट मुक्त भए । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिन प्रक्रिया पूरा नगरेको ठहर भएकाले लामिछानेले पार्टी सदस्य र सभापति पद समेत गुमाए । तर तत्काल लामिछानेले नागरिकता लिए, त्यसैदिन पार्टी सदस्य र सभापति मनोनीत भए । अहिले फेरि गृहमन्त्री नियुक्त हुने दौडमा छन् । यदि रवि गृहमन्त्री नियुक्त भएमा अघिल्ला दुई सरकारले जस्तै गैरसांसदलाई मन्त्री नियुक्त गर्ने कार्यलाई यो सरकारले समेत निरन्तरता दिएको हुनेछ । जबकी संविधानले गैरसांसदलाई मन्त्री बन्न रोकेपनि ६ महिनासम्म सांसद बन्नुपर्ने सर्त राखेको छ । यसको अर्थ गैरसांसद मन्त्री नबनूनन् भन्ने नै हो ।
तर नागरिकताबारे दिइएको फैसलासँगै राहदानी विवादमा समेत फस्न पुगेका रवि लामिछानेले यो सरकारलाई समेत अप्ठ्यारोमा परेको छ । यो भनेको पार्टी घोषणा गरिरहदा उनी आफैले भनेको ‘लाजनीति’कै निरन्तरता हो । त्यो लाजनीतिको यात्रामा रवि अग्रसर हुनु भनेको जनमतप्रतिको बेइमानी पनि हो । किनकि रास्वपाले अप्रत्यासित मत पाउनुमा पुराना दलहरुमा देखिएको शक्तिको आशक्ति प्रमुख कारण थियो । जसरी पनि सत्तामा पुग्न पुराना दलहरुमा देखिएको प्रवृत्तिकै पुनरावृत्ति हुन जान्छ । रास्वपाले नैतिकताको मूल्य नबुझेको ठहर्छ, जुन भावी राजनीतिका निम्ति समेत सुखद् विषय होइन । यसले राजनीतिप्रति फेरि पनि नयाँ पुस्तामा बितृष्णा कायमै रहनेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies