काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनमा वैदेशिक रोजगारीमा जाने कामदारको प्रस्थान व्यवस्थित र पूर्णरूपमा मर्यादित बनाएको बताएको छ ।
मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत प्रस्थानका लागि अध्यागमन जाँचका समयमा वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूको छुट्टै डेस्क रहेकोमा उनीहरूको आत्मसम्मान तथा स्वाभिमानलाई ख्याल गरी उक्त डेस्क हटाएर मर्यादित बनाइएको बताएको छ ।
श्रम मन्त्रालयले गत माघ ९ गते गृह मन्त्रालयलाई छुट्टै डेस्क हटाउन पत्राचार गरेकोमा गृह मन्त्रालयले माघ ११ गते छुट्टै डेस्क हटाइ सहजरूपमा अध्यागमन चेकजाँच शुरू गरिएको जानकारी दिएको समेत विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै सेवा सुधारका क्षेत्रमा अभियान नै सञ्चालन गरिरहेको भन्दै मन्त्रालयले सुधारका अभियानमा साथ दिन सरोकारवालाहरूलाई आग्रह गरेको छ ।
मन्त्रालयले तत्कालीन मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)को कार्यकालमा करिब एक वर्षअघि विभागका कर्मचारीले विमानस्थल श्रम डेस्कबाट ई–स्टिकरमा छाप लगाउने व्यवस्था हटाएको थियो ।
वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति क्यूआर कोडसहितको ई–स्टिकर सम्बन्धित कामदारको इमेल तथा कामदारको फेमिस एकाउण्टमा नै उपलब्ध गराएर श्रम डेस्क हटाएको हो । श्रम स्वीकृतिको जानकारी कामदारको मोबाइलमा एसएमएसमार्फत उपलब्ध गराउन थालिएपछि विदेश जाने कामदारले आफूलाई प्राप्त क्युआर कोडसहितको ई–स्टिकर मोबाइलमा डाउनलोड वा प्रिन्ट गरेर राखे हुने व्यवस्था गरिएको छ ।
उक्त व्यवस्था लागू गरेदेखि वैदेशिक रोजगारीमा जाने कामदार र म्यानपावर व्यवसायीले लेबर डेस्कको झन्झटबाट मुक्ति पाएका हुन् । पहिलोपटक वैदेशिक रोजगारमा जाने कामदार कतिपय कर्मचारीको रूखो व्यवहारबाट पीडित हुनुपरेको गुनासो रहेको थियो । मन्त्रालयले विमानस्थलस्थित विभागको लेबर डेस्कलाई सूचना तथा सहायता कक्षमा परिवर्तन गरेपछि सहज भएको बताएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies