२०८३ असोज २२ गते बिहिवार / Oct 08 , 2026 , Thursday
२०८३ असोज २२ गते बिहिवार

भूमिकास्थान नगरपालिका जिल्लाकै उत्कृष्ट भएको दाबी

Nada
सूर्यप्रसाद भुसाल
२०८१ मंसिर १२ गते २१:४५
Shares
भूमिकास्थान नगरपालिका जिल्लाकै उत्कृष्ट भएको दाबी

अर्घाखाँची : अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले ४ महिने प्रगति विवरण सार्वजनिक गरेको छ । प्रगति विवरण सार्वजनिक गर्दै नगरप्रमुख झविलाल थापाले नगरपालिका जिल्लाकै उत्कृष्ट पालिका भएको दाबी गरे ।

ncell

आव २०८१/०८२ को पहिलो चौमासिक सार्वजनिक सुनुवाई मार्फत् भूमिकास्थानले आफ्नो चार महिने प्रगति सार्वजनिक गरेको हो । नगर प्रमुख थापाले नगरपालिकाको समृद्धिका लागि काम गर्न सक्ने उमेर समूहका सबै नागरिकलाई उत्पादनसँग जोड्ने योजना रहेको बताए  ।

‘कर्मशील जनशक्ति परिचालन कार्यक्रमको फाइदा र परिणाम दीर्घकालिनसम्म रहने छ’, नगरप्रमुख थापाले भने । ‘यसले नगरपालिकामा रोजगारी सिर्जना गर्नेछ, आम्दानी वृद्धि गर्नेछ र बसाइसराई रोक्न समेत कम गर्नेछ’, उनले भने ।

भौतिक निर्माणले मात्रै समग्र विकास हुन नसक्ने भन्दै नगरप्रमुख थापाले पालिकालाई चौतर्फी विकास गरी समृद्ध पालिका बनाउन सबैको सहयोगको खाँचो रहेको बताए ।

नगरपालिकाले कर्मशील जनशक्ति परिचालन कार्यक्रमलाई पहिलो प्रगति मानेको छ । गाउँमा रहेका बाँझो जग्गामा खेती गर्दै रोजगारी सिर्जना गर्ने, नागरिकलाई उत्पादनमा जोड्दै कृषिमा आत्मनिर्भर बनाउने कार्यक्रमको उद्देश्य रहेको पनि नगरप्रमुख थापाले भने ।

प्रमुख प्रशासकीय अधिकृत जग्दिशचन्द्र नेपालीले भ्रष्टाचारलाई न्यूनीनकरण र सुशाजयुक्त पालिका बनाउन ध्यान दिने प्रतिबद्धता व्यक्त गरे ।

भूमिकास्थानको समृद्धि र नागरिकको सहज सेवाको लागि जनप्रतिनिधि र कर्मचारी अहोरात्र खटिरहेको भन्दै प्रमुख प्रशासकीय अधिकृत नेपालीले सकारात्मक सोचका साथ सहयोग गर्न पनि अपिल गरे ।

कार्यक्रममा योजना शाखा प्रमुख हरिश्चन्द्र भुसालले चालु आर्थिक वर्ष २०८१/०८२ को ४ महिनामा भएका प्रगतिलाई बुँदागत प्रस्तुत गरेका थिए । उनका अनुसार नियमित सेवा प्रवाह बाहेक कर्मशील जनशक्ति परिचालन अन्तर्गत बाँझो जग्गा उपयोग गरी रैथाने बाली उत्पादन गर्नु, रोजगारी सिर्जना गर्नु, व्यवसायिक खेतीको सुरुवात हुनु, मकैको पोस्कर, बाँस र हस्तकलाबाट टोपी, झोला जस्ता विभिन्न सामाग्री निर्माण भई बजारीकरण हुनु, तरकारी पकेट कार्यक्रम सञ्चालन हुनुलाई नगरपालिकाले चार महिनाको प्रगति मानेको छ ।

योजना शाखा प्रमुख भुसालका अनुसार पालिकाका अन्य प्रगतिमा महत्वपूर्ण सडक विस्तार एवम् कालोपत्रेको काम हुनु, योजना सम्झौता, व्यवसायिक पर्यटन विकासमा कामको थालनी हुनु, आवधिक योजना कार्यान्वयन, शिक्षा र स्वास्थ्यको सेवालाई गुणस्तरीय बनाउन क्रियाशील रहनुलगायतका छन् ।

कार्यक्रममा भूमिकास्थान–४ का वडाध्यक्ष बाबुराम पन्थी, भूमिकास्थान–३ का वडाध्यक्ष कृष्ण प्रसाद बन्जाडे, शिक्षा शाखा प्रमुख तुवलाल सापकोटा, स्वास्थ्य शाखा प्रमुख सुरेश गैरे, कृषि शाखा प्रमुख रामबहादुर थापा, लेखा अधिकृत जुना पाण्डे, इन्जिनियर जितेन्द्र श्रेष्ठ, पशुसेवा प्राविधिक बलराम खनाल, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख शान्ता आचार्य लगायतले उठेका सवालको जवाफ दिएका थिए ।

कार्यक्रमका सहभागीले शिक्षा, स्वास्थ्य र कृषिको सेवालाई गुणस्तरीय र व्यवसायिक बनाई बसाइ–सराईंलाई रोक्नु पर्ने, पालिकाबाट हुने विकास तथा अन्य कामको नियमित र प्रभावकारी अनुगमन गरिनुपर्ने, कृषिलाई व्यवसायिक बनाउन, बजारीकरण सहितका सहयोग गर्नुपर्ने, विकासमा समानता भन्दा पनि समतामुखी हुनुपर्ने लगायतका माग गरे ।

सम्बन्धित खबर