प्यूठान : प्यूठानका विभिन्न बजार तथा गाउँहरुमा मह भन्दै नक्कली मह बिक्री गर्दै हिँड्ने सप्तरी जिल्लाका मिथुन धामीको करिब ४ लाख बराबरको नक्कली मह प्यूठान प्रशासनले नष्ट गरेको छ ।
सप्तरी जिल्ला राजविरान नगरपालिका ४ का धामीसहित ५ जनाको टोलीले बिक्री गर्दै हिँडेको मह जस्तो देखिने ३ सय ९१ किलो अखाद्य पदार्थ प्रहरीले गत साउन ८ गते सरुमारानी गाउँपालिका वडा नम्बर २ दर्भानबाट बरामत गरिएको थियो । बरामत गरिएको उक्त पदार्थलाई परीक्षण गर्न खाद्य तथा गुण नियन्त्रण कार्यालय नेपालगन्ज पठाइएकोमा गुणस्तरहीन देखिएपछि नष्ट गरिएको घरेलु तथा साना उद्योग विकास कार्यालय प्यूठानका प्रमुख मनी गुरुङले जानकारी दिए ।
प्यूठान भालुवाङ सडक खण्डमा प्रहरी चौकी ढुंगेगढीबाट खटिएको प्रहरीले चेकजाँचको क्रममा भालुबाङदेखि प्यूठानतर्फ आउँदै गरेको ना ४ ख ४७०५ नम्बरको बसमा मह जस्तो देखिने पदार्थ फेला पारेपछि प्रकृया अगाडि बढाएको हो । ओसार–पसार इजाजत नलिइ लेबलिङ, प्याकेजिङ केही नभएको अवस्थामा प्रहरीले स्थानीय जनप्रतिनिधिको रोहवरमा बरामद गरी नमुना परीक्षणको लागि घरेलु कार्यालयलाई पठाएको थियो ।
नमुना परीक्षणको लागि गत साउन ९ गते १ किलो पदार्थ खाद्य प्रविधि तथा गुण निययन्त्रण कार्यालय, नेपालगन्ज पठाइएको र मंसिर ५ गते कार्यालयबाट अस्वभाविक गन्ध रहि जलाशंको मात्रा नेपाल सरकारले महको लागि तोकेको गुणस्तर अनुसार नभएको पुष्टि गरेपछि नष्ट गरिएको कार्यालय प्रमुख गुरुङले बताए ।
प्रहरी, उद्योग वाणिज्य संघका प्रतिनिधि, उद्योगी व्यवसायी, पत्रकार एवम् कार्यालयका कर्मचारीको रोहवरमा नष्ट गरिएको बताए । उनीहरुले असली माहुरीको मह भन्दै जिल्लामा प्रति किलो १ हजार रुपैयाँमा बेच्दै आएका थिए । बरामद गरिएको महमा उपभोक्ताहरुलाई विश्वास दिलाउन कृत्रिम मौरीका चाकासहित माहुरी समेत राखेको बताए ।
व्यापारीहरुबाट सजिलै उपभोक्ताहरु ठगिन सक्ने भन्दै कुनै पनि सामान खरिद बिक्री गर्दा बस्तुको लेबलिङ र प्याकेजिङ उल्लेख भए/नभएको, उपभोग्य मिति, मूल्य सूची हेरेर मात्रै खरिद गर्न वा वास्तविक किसान पहिचान गरी उनीहरुसँग मात्रै मह खरिद गर्न कार्यालयले आग्रह गरेको छ ।