२०८१ पुष ७ गते आइतवार / Dec 22 , 2024 , Sunday
२०८१ पुष ७ गते आइतवार

अर्घाखाँचीमा चुनढुंगा बोक्ने टिप्परलाई ‘टाइम कार्ड’

ADV
सुर्य प्रसाद भुसाल
२०८१ मंसिर १४ गते २०:५४
अर्घाखाँचीमा चुनढुंगा बोक्ने टिप्परलाई ‘टाइम कार्ड’

अर्घाखाँची : अर्घाखाँचीमा टिप्परलाई ‘टाइम कार्ड’ वितरण गरिएको छ । सन्धिखर्क गोरुसिंगे सडकमा गुड्ने टिप्पर लोड गाडिलाई नरपानीबाट पथरकोटका लागि ४ घण्टा  खालि टिप्परलाई २ घण्टा ३०  मिनेट समय दिएर कार्ड प्रदान गरिएको हो ।  

जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीको अगुवाइमा ‘टाइम कार्ड’ वितरण सुरु गरिएको हो । अर्घाखाँचीका  प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले ‘टाइम कार्ड’ वितरण गरी सवारीको ओभरस्पीड न्यूनीकरणको प्रयास गरिएको बताए । मल्ल भन्छन्, ‘अर्घाखाँचीमा चल्ने झण्डै ३ सय टिप्परलाई शुक्रबार कार्ड दिन सुरु गरेका छौं ।’ दुर्घटनाको प्रमुख कारण मानिएको चालकको लापरबाही र गति नियन्त्रण हुने अपेक्षा गरेको मल्लको दाबी छ ।

टाइम कार्ड लागू गरिएपछि ८० प्रतिशत दुर्घटना घट्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय  अर्घाखाँचीले अनुमान गरेको ट्राफिक प्रहरी प्रमुख निराजन गौतमले बताए । बिहीबारदेखि अर्घाखाँचीका प्रहरी प्रमुख चक्रबहादुर मल्लले  चुनढुंगा बोक्ने टिप्परका चालकलाई टाइम कार्ड प्रदान गरेपछि यो नियम लागू भएको हो । ‘तीव्र गति, सवारीको अवस्था, चालकको लापरबाही, सडकको अवस्था आदी कारणले सवारी दुर्घटना हुने गरेतापनि तीव्र गति प्रमुख कारण हो । त्यसमा पनि पछिल्लो समय थुनढुंगा बोक्ने  टिप्पर मुख्य समस्या देखिएपछि टाइम कार्ड वितरण गरेका हौं,’  प्रहरी प्रमुख मल्लले भने ‘सडक दुर्घटना घट्ने अपेक्षा छ । टिप्परले रोजगारी सिर्जना तथा विकास कार्यमा सहयोग गरेतापनि धेरै दुर्घटना हुने तथा धुलो, धुँवा उडाउने गरेका कारण गति नियन्त्रण गर्न टाइम कार्डले काम गर्नेछ ।’

टाइम कार्ड लागू भएपछि टिप्परले गोरुसिंगे सन्धिखर्क सडक अन्तर्गत नरपानीबाट पथरकोटसम्मको ३५  किलोमिटर सडक लोड लिएर जाँदा ४ घण्टा  र खाली गाडी फर्कदा २ घण्टा ३० मिनेटमा पार गर्नुपर्ने भएको छ । यदि तोकिएको समयभन्दा अगावै सवारीसाधन पुगेमा कारबाही गरिने जिल्ला ट्राफिक प्रहरी प्रमुख  निरज गौतमले बताए । गौतम  भन्छन्, ‘मालवहाक ठूला सवारीसाधनमा पनि विस्तारै टाइम कार्ड लागू गर्ने प्रयासमा छौं ।’ टिप्परले अन्य सवारी तथा साना साधनलाई अप्ठ्यारो पारेका कारण पहिलो चरण टिप्परमा लागू गरेको गौतमले पुष्टि गरे ।

टिप्पर व्यवसायी  जनक  मगरले टाइम कार्ड अन्य सवारीसाधनमा पनि लागू गर्नुपर्ने बताए । ट्राफिक प्रहरीले गरेको दुर्घटना न्यूनीकरण सम्बन्धी सचेतना तथा टाइम कार्ड उद्घाटन कार्यक्रममा उनले अन्य सवारीले गर्ने लापरबाहीको भागिदार टिप्पर हुनुपरेको बताए । उनी भन्छन्,‘हामी भरिया हौं । खानीले अह्राएको गर्ने हो । दुर्घटना होस् भन्ने कसैले पनि चाहँदैन ।’

ट्राफिक प्रहरीले वितरण गरेको टाइम कार्डमा सवारी नं., सवारी धनी तथा कम्पनीको नाम, चालकको नाम, मिति, प्रस्थान समय, पुग्नुपर्ने समय, पुगेको समय जस्ता कुराहरू उल्लेख गर्नुपर्ने रहेको छ । प्रहरीले अर्घाखाँची खाँचिकोट  नरपानीबाट पथरकोटसम्म  टाइम कार्डको सही प्रयोग गरिएको छ÷छैन भन्ने परीक्षण गर्ने नरपानी प्रहरी चौकीका इन्चार्ज अर्जुन बस्नेतले बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise