काठमाडौं : काठमाडौं जिल्ला अदालतले भिजिट भिसाको सेटिङमा वैदेशिक रोजगारीमा पठाउने गिरोह प्रतिवादीहरूलाई दोषी ठहर गरेकोे छ । लिखत किर्ते र संगठित अपराधसम्बन्धी कसुरमा अधिकृत कुशल बरालसहित शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पिताम्बर रिमाल र सुजन फागो तथा ३ जना बिचौलियालगायतकालाई प्रतिवादी बनाई मुद्दा चलाइएको थियो ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश रामप्रसाद शर्माको इजलासले शुक्रबार प्रतिवादीहरूलाई दोषी ठहर गरे पनि कैद सजाय तोकेको छैन । साधारणतया ३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दा गंभीर फौजदारी कसुरअन्तर्गत पर्ने भएकाले सजायका लागि छुट्टै मितिमा पेसी तोकेर सुनुवाइ गर्ने प्रावधान छ ।
गत वर्ष १० माघमा दायर भएको मुद्दा करिब १० महिनापछि फैसला भएको हो । सरकारी लिखत किर्ते कसुरमा अधिकतम ३ वर्ष र संगठित अपराधमा ७ वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ । दोषी ठहरिएका प्रतिवादीहरू जिल्ला अदालतबाट धरौटीमा छुटेका भए उनीहरूले जरिमाना बराबरको रकम थप धरौटी राखेर पुनरावेदन गर्न पाउने छन् । जिल्ला अदालतमा हाजिर नभई फरार रहेकाहरूले पुनरावेदन गर्न नपाउने व्यवस्था छ ।
प्रहरीले उक्त प्रकरणमा १० जनालाई पक्राउ गरेकोे छ भने कुनै बेला वैदेशिक रोजगार विभागमा चल्तीका अधिकृत कुशल बरालसहित ११ जना फरार रहेका बताइएको छ । फरार हुनेमा ८ जना अधिकृत मात्र थिए ।
गत असोजमा भिजिट भिसामा विदेश जान खोजेका १ हजार ५१३ वटा नक्कली कागजातहरू बरामद भएपछि प्रहरीले प्रहरी नायव उपरीक्षक गोविन्द पन्थीको नेतृत्वमा अनुसन्धान सुरु गरेको थियोे ।
नेपालीलाई भिजिट भिसामा वैदेशिक रोजगारीका लागि पठाएको भन्दै प्रहरीले अध्यागमन कार्यालय, नेपाल वायु सेवा निगमका कर्मचारी र प्रहरी जवानलाई पक्राउ गरेको थियो । अध्यागमन अधिकृत नरवीर खड्का पक्राउ परेपछि अधिकृत बरालसहितका अन्य अधिकृतहरू तानिएका हुन् ।
तत्कालीन अध्यागमन अधिकृत ताराबहादुर कुँवरलाई पनि यस प्रकरणका मुख्य नाइकेका रूपमा चित्रण गरिएको छ । उनीहरूले भिजिट भिसाको सेटिङमा पठाउँदा ४४ देखि ५५ हजार रुपैयाँसम्म लिने गरेको पोल खोलाखोल भएको अनुसन्धानमा संलग्न स्रोतले बताएको छ । मुद्दामा आशिष भन्ने केदारबहादुर खड्का, गीता शाह, पिताम्बर रिमाल, सुजन फागो लिम्बू, नरवीर खड्का, पदम लामा, मनोज तामाङ, शैलेन्द्र ढकाल, दिनेश ज्ञवाली, रवीन्द्र अर्याल भन्ने रविन अर्याल, विनोद कार्की, ताराबहादुर कुँवर विपक्षी छन् ।
त्यस्तै, विष्णु अर्याल भन्ने विष्णुप्रसाद आचार्य, विकास डंगोल, अरुण दाहाल, लक्ष्मी राई, रामप्रसाद भण्डारी, विमल पौडेल, रीता दमाईं, सरोजकुमार यादव प्रतिवादी छन् । विमानस्थलमा हुने सेटिङमा यो मुद्दा हालसम्मको ठूलो हो । उक्त घटनापछि सेटिङ गरेर भिजिट भिसामा पठाउने क्रम केही कमी भए पनि नरोकिएको बताइएको छ ।
पछिल्लो पटक गत २ मंसिरमा गृह मन्त्रालय तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच भिजिट भिसाको दुरुपयोग रोक्न प्रतिवेदन तयार गर्ने सहमति बनेको छ ।
घुमफिरको संवैधानिक अधिकारमाथि हस्तक्षेप नगरीकन भिजिट भिसामा देखिएका खराबी अन्त्य गर्ने विषयमा दुवै मन्त्रालयले १५ दिनभित्र प्रतिवेदन तयार गर्ने निर्णय गरेका छन् ।
नेपाल सरकारले पटकपटक भिजिट भिसाको दुरुपयोग र चलखेल रोक्ने प्रतिबद्वता जनाएको भए पनि वैदेशिक रोजगारीका लागि भिजिट भिसामा जाने प्रवृत्ति रोक्न सकेको छैन । भिजिट भिसाको दुरुपयोग रोक्न विभिन्न समयमा परिपत्र जारी गरे पनि व्यवहारमा सरकारी प्रयास असफल गराइएको सरोकारवालाहरू बताउँछन् ।