सुनवल नवलपरासी : नेपालमा २ लाख बढी हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको पाइएको छ । डिभिजन वन कार्यालय नवलपरासीले शनिबार आयोजना गरेको सरोकारवालाहरुसँगको अन्तरक्रिया गोष्ठीमा सो जानकारी गराइएको हो ।
सिनियर वन अधिकृत जीवन पौडेलको अध्यक्षता तथा वन तथा वातावरण मन्त्री देवकरण कलवारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा योजना शाखा प्रमुख एवम् वरिष्ठ वन अधिकृत मोहन गजुरेलले आर्थिक वर्ष २०८१/०८२ को कार्यक्रमको बारेमा जानकारी गराएका थिए । प्रदेश एवम् संघबाट ३ करोड ८२ लाख बजेट विनियोजन भएको उनको भनाइ छ ।
कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य बैजनाथ जैसवाल, लुम्बिनी प्रदेश सदस्य ध्रुव प्रधान, सुनवल नगरपालिकाकी मेयर विमला अर्याल, बर्दघाट नगरपालिका मेयर शम्भु श्रेष्ठ, बैज्ञानिक वन उपभोक्ता महासंघ जिल्ला अध्यक्ष एवम् मूलपानी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष यज्ञ प्रसाद शर्मा, सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष शारदा पौडेलले मन्तव्य राखेका थिए ।
कार्यक्रममा सामुदायिक एवम् साझेदारी वन उपभोक्ता समुहहरुमा भएका समस्याहरुको बारेमा लुम्बिनी प्रदेश निर्देशनालयका सचिव मोहन प्रसाद काफ्लेले समाधानको लागि भएको निर्देशनहरुको बारेमा जानकारी दिएका थिए । सचिव काफ्लेले बाढीमा बगेका, सुक्खा खडा रुखहरु एवं जनजीवनलाई हानी पुर्याउने खालका सुक्खा रुखहरु हटाउनको लागि जिल्ला वन कार्यालयको समितिको निर्णय अन्तर्गत हटाउन सकिने जानकारी दिए ।
नेपाल अधिराज्यभरमा २ लाख हेक्टर जति वन अतिक्रमण गरी सुकुम्बासी बस्ती बसेको छ । पहिलाबाट बसिरहेकालाई व्यवस्थित गर्ने र नयाँ सुकुम्बासी बस्न नदिने उनले जानकारी दिएका थिए । प्रदेशका आयोजनाहरुको काम गर्ने काममा प्रदेशबाट ढिलासुस्ती भएको भन्ने आरोपलाई प्रक्रिया नपुगेको र समयमा नआएपछि ढिला हुने जानकारी दिए । वन उपभोक्ता समूहले प्रदेश तथा अन्यलाई तिर्नुपर्ने करलाई प्रदेशले एकद्वार प्रणाली अन्तर्गत समूहबाट लिएको करबाट सबै तहले विभाजन गर्ने कानुन हुनपर्नेमा जोड दिए । सामुदायिक वन उपभोक्ता समुह विकास कार्यक्रम आर्थिक अवस्था राम्रो भएको र कमजोर भएको सबैसँग जिल्ला वनले समन्वय गरेल सञ्चालन गर्नुपर्नेमा जोड दिए ।