जनकपुरधाम : मधेश प्रदेशको राजधानी जनकपुरधाममा सिताराम विवाह पञ्चमी महोत्सवको सप्ताहव्यापी चौथो दिन तिलकोत्सव पर्व मनाइएको छ ।
जानकी मन्दिरबाट भगवान श्रीरामको तिलकका लागि १ सय १ भारसहित जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवसहित साधु सन्त महन्तहरू बाजागाजासहित राम मन्दिरमा पुगेर भगवान रामको तिलक चढाउने कार्यक्रम गरिएको थियो । यो परम्परा झण्डै तीन दशकदेखि चल्दै आएको आयोजन भएको छ ।
भारतको अयोध्याबाट पाँच सयको संख्यामा साधु सन्त, महन्थ, योगी, सन्न्यासी, बुद्धिजीवी लगायतका व्यक्तिहरू जन्तीको रुपमा मंगलबार यहाँ आएका छन् । उनीहरु समेत सो तिलोकोत्सवमा सहभागी भएका छन् । अयोध्याबाट चौथो पटक जन्ती लिएर आएको टोलीमा दशरथको रुपमा विश्व हिन्दू परिषदका अन्तर्राष्ट्रिय मन्त्री राजेन्द्र ‘पंकज’ सहभागी भएका थिए । उनीसँग जानकी मन्दिरका उत्तराधिकारी रामरोशन दास बैष्णवसँग गला मिलेर सम्धीको रसम पूरा गरे ।
उक्त तिलकोत्सव समारोहमा जानकी मन्दिरका तर्फबाट पूर्व उपप्रधानमन्त्री एवं कांग्रेसका नेता विमलेन्द्र निधि, मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिंहसहितका मन्त्रीहरू, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह, धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरीयासहितका सुरक्षा निकाय सहभागी भएका थिए ।
जनकपुरधाममा मंसिर १६ गतेदेखि शुरु भएको सप्ताहव्यापी श्रीसीताराम विवाह पञ्चमी महोत्सव अन्तर्गत मंसिर २० गते मटकोर, २१ गते स्वयंम्बर तथा शुभ विवाह र २२ गते रामकलेवासँगै यस वर्षको विवाह पञ्चमी महामहोत्सव सम्पन्न हुने कार्यक्रम रहेको छ ।
तिलकोत्सव समारोहमा पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता निधिले विवाह पञ्चमी महोत्सवले नेपाल भारतको प्राचीन सम्बन्धलाई प्रगाढ बनाउने काम गरेको बताए । त्यस्तै मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले विवाह पञ्चमी महोत्सव पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण भएको बताए ।