२०८१ पुष ७ गते आइतवार / Dec 22 , 2024 , Sunday
२०८१ पुष ७ गते आइतवार

‘नागरिकको स्वास्थ्य  सुधार गर्न लुम्बिनीमा विशेष कार्यक्रम’

ADV
सुर्य प्रसाद भुसाल
२०८१ मंसिर २० गते २०:२४
‘नागरिकको स्वास्थ्य  सुधार गर्न लुम्बिनीमा विशेष कार्यक्रम’

भालुवाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नागरिकको स्वास्थ्य र जीवनस्तर सुधार गर्न सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् । 

प्रदेश स्तरीय खाद्य सुरक्षा तथा बहुक्षेत्रिय पोषण विषयक अनुभव तथा सिकाई आदान–प्रदान कार्यक्रमलाई दाङको भालुबाङमा बिहीबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले नागरिकको स्वास्थ्य र जीवनस्तर सुधार गर्न उच्च प्राथमिकता राख्दै विशेष कार्यक्रम लागु गरिएको बताए । ‘प्रदेशमा कुपोषण एउटा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखा परेको छ । पोषणको अवस्थामा सुधार ल्याउन विशेष कार्यक्रम लागु गरेका छौं’ मुख्यमन्त्री आचार्यले भने,‘मातृ शिशु मृत्युदरलाई घटाउँछौं । पोषणको अवस्थालाई सुधार गर्छौं । बाल मृत्युदर घटाउँछौं । सरकारले यी क्षेत्रमा उपलब्धी हासिल गर्नेगरी कार्यक्रम अघि सारेको छ ।’ 

लुम्बिनी प्रदेश सरकारले महिला, बालबालिका तथा किशोरीको स्वास्थ्य तथा पोषण सुधार कार्यक्रम लागु गरेको छ । मातृ शिशु मृत्युदर, बाल मृत्युदर, कुपोषण तथा रक्तअल्पता जस्ता स्वास्थ्य समस्या निराकरण गर्नेगरी प्रदेश सरकारले महिला, बालबालिका तथा किशोरीको स्वास्थ्य तथा पोषण सुधार विशेष कार्यक्रम लागु गरेको हो । यि कार्यक्रमले नागरिकको स्वास्थ्य र जीवनस्तर सुधार गर्न मद्दत पुग्ने विश्वास गरिएको छ । 

तथ्यांकगत रुपमा देखिएका स्वास्थ्य समस्यालाई निराकरण गर्नेगरी विशेष कार्यक्रम लागु गरिएको सरकारले जनाएको छ ।‘तथ्यांक हेर्दा हाम्रा सूचकहरु कमजोर छन् । यि कमजोर सूचकहरुलाई माथि उठाउनेगरी लक्षित गरेर कार्यक्रम केन्द्रित गरिएको छ । अबको तीन वर्षमा यि सूचकहरुमा सुधार आउनैपर्छ’ मुख्यमन्त्री आचार्यले भने ‘परम्परागत मुल्यमान्यतालाई पनि सुधार गर्दै सामाजिक जागरण र सशक्तिकरणको अभियान चलाउन जरुरी छ ।’ 

विभिन्न बहानामा अझैं पनि बालविवाह हुने गरेको, जसले गर्दा मातृ मृत्युदर, बाल मृत्युदर, कुपोषण जस्ता समस्या देखा परेको भन्दै मुख्यमन्त्री आचार्यले सबै पक्ष गम्भीर हुनुपर्ने बेला आएको बताए । ‘बालविवाह नगर्ने, गरेको खण्डमा कानुनी कारबाही हुने सम्मको व्यवस्था छ । तर, अझैं यो समस्या समाधान हुन सकेको छैन’उनले भने,‘बनेका कानुनको कार्यान्वयन गर्दै सामाजिक जागरण र सचेतना अभिवृद्धिको कार्यक्रम व्यापक बनाउन जरुरी छ ।’ 

स्वास्थ्य क्षेत्र सुधार गर्न साझा प्रयास र प्रयत्नको खाँचो पर्ने उनको भनाइ  छ । दातृ निकायसँग साझेदारी गरेर कार्यक्रम अघि बढाउनुपर्ने भन्दै त्यसका लागि लगानी केन्द्रित गर्न आह्वान समेत गरे । प्रदेशका १२ जिल्लालाई आधार मानेर स्वास्थ्य मन्त्रालयमार्फत कार्यक्रम कार्यान्वयनमा लगिएको छ । आरआरएनको आयोजनामा रोल्पाको रुन्टीगढी र त्रिवेणी गाउँपालिका पोषण सुधार परियोजना लागू भएको थियो ।

जुन परियोजनाले हासिल गरेको अनुभव तथा सिकाई आदान–प्रदान गरिएको छ । कार्यक्रममा मुख्यमन्त्री आचार्यलाई पोषण सुधारका लागि खाद्य तथा पोषण सञ्जालका अध्यक्ष गिता नेपालीले ११ बुँदे ज्ञापनपत्र समेत बुझाइन् । प्रदेश स्तरीय नीति निर्माण, पोषण शिक्षा तथा पुनस्र्थापना कार्यक्रम लागु गर्नुपर्ने लगायतका माग समेटिएका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise