–रसुवाली कवि
बाग्मती पुल तर्नेबित्तिकै आउँछ, कान देवताको थान । श्रवण क्षमता हराएका हिन्दु आस्तिकहरू कान देवताको थानमा भेटिन्छन् । एउटा बूढो मान्छे देख्छु, कहिलेकाहीँ कान देवताको थानमा । मलाई उसप्रति असीम दयाभाव जाग्छ । ऊ कान देवतासँग श्रवण शक्ति मागिरहेको छ ।
कान देवताको थाननेर नै छ, गजलकार शिशिर बिन्दुको पसल । थुप्रै मानिसहरूलाई दाल, चामल, तरकारी, पानीको जोहो गरिरहेका शिशिर कहिले गजल शेर सोचिरहेका हुन्छन् त कहिले समाजसेवामा तल्लीन हुन्छन् । पैसा भएर होइन, असल सोच भएकाले उनी असल कर्ममा तल्लीन छन् । शिशिर देश निर्माण युवा समाजका संस्थापक अध्यक्ष हुन् । यो संस्था विशुद्ध युवाहरूलाई जागरुक गराउने उद्देश्य बोकेको संस्था हो । संस्था कहिल्यै पनि प्रचारमा रमाएको छैन ।
कर्मजीवीको कर्मलाई प्रोत्साहन गरिरहेका छन्, शिशिर र उनका साथीहरू । शहर फेस्टिबल मुडमा रहेको एक दिन म शिशिरलाई भेट्न कान देवताको थाननेर पुग्छु । कान देवताको थाननेर जोडिएको एउटा सानो गल्लीमा देश निर्माण युवा समाजको कार्यालय छ, जहाँ शिशिर मसला पिँधिरहेका छन् ।
मसलाको धुलो टकटक्याउँदै उनी मलाई स्वागत गर्छन् । जहिल्यै श्रममा रमाउने शिशिरको यो शैली मलाई खुब र विशेष लाग्छ । उनी भर्खरै आफ्नो जन्मस्थल बिगु गाउँपालिका– ८, खोपाचागु पुगेर फर्केका थिए । गाउँमा उनले शैक्षिक सामग्री वितरणसमेत गरेका थिए । एउटा सामान्य व्यवसायीको यो असाधारण कर्मले मलाई भावुक बनाउँछ ।
हामी साधारण चिया दोकानमा छिर्छौं र ललितपुरको ‘लोकल’ चिया पिउन थाल्छौं । मेयर चिरिबाबु महर्जनले ललितपुरको सरसफाइलाई बृहत् ध्यान दिएका छन् । सफा छ यो सानो गल्ली । शिशिरले आधा दर्जन ‘ममताको तरंग’ गजलसंग्रह हातमा बोकेका छन् । चिया नआउँदै आफ्नो गजलसंग्रह मलाई उपहार स्वरूप उपलब्ध गराउँछन् शिशिर । केही साथीहरूका लागि ममार्फत किताब पठाउँछन् ।
दशक नै हुन लागेछ, शिशिरसँग चिनजान भएको । जिल्लावासी गजलकार, भजन सर्जक पुरुषोत्तम रसुवाले शिशिर बिन्दुसँग मेरो चिनारी गराएका थिए । हिउँदको कुनै दिन हामी कान देवताको थाननेर कफी पिएर छुटेका थियौं । त्यही समय उनले सुनाएका केही गजलले मेरो मन लुटेको थियो । उनी त्यतिबेला पनि श्रमकै शिलशिलामा थिए ।
गजलसंग्रह उपहार स्वरूप पाएपछि चिया आउँछ । काँठ क्षेत्रको कुनै गोठबाट आएको शुद्ध दूधको चियाले मुख पोल्छ । चियाको मौलिक स्वाद लिँदै म शिशिरका गजल पढ्न थाल्छु । त्यसपछि म उनीसँग फोटो खिचेर बागबजार फर्किन्छु ।
अहिले मेरो हातमा शिशिर बिन्दुको गजलसंग्रह ‘ममताको तरंग’ छ । यस गजलसंग्रहका बारेमा थोरै लेख्न चाहन्छु म । शिशिरका गजलहरू प्रेमका पक्षमा छन् । प्रेमका पक्षमा हुनु, प्रगतिशील नहुनु होइन, सच्चा प्रेमी मात्र समाजवादी हुन सक्छ भन्ने विश्वास राख्छु । गरिखाने वर्गलाई प्रेम नगरीकन वा त्यो वर्गको हित नसोचीकन थापिएका सयौं क्रान्तिकारी नामका पसलबाट आजित छ देश । गजलकार शिशिर पनि कसमको पछ्यौरी ओढेका धोखेबाजहरूबाट आजित छन् । उनी लेख्छन् :
अन्धकारमा जूनको ज्योतिले तड्पाउँछ रातीराती
सधैं उनको झल्को मात्र किन आउँछ रातीराती ?
न केही छ, न कोही छ, सुनसान चकमन्न छ
यो कस्तो यादले घरिघरि सताउँछ रातीराती ।
(पेज : ३६)
शिशिर धोका केन्द्रित वा प्रेम वियोगी गजलकार मात्र होइनन्, उनका गजलभरि देश दुखेको छ । देशको माया पोखिएको छ । शिशिरका शेरले राष्ट्रिय स्वाधीनताको पक्ष लिएका छन् । कुशासनलाई समेत औंलो उठाउँछन् बिन्दुका शेरहरू ।
पाउदेखि शिरसम्म राष्ट्रघाती देख्दै छु
यो देशमा अझै धेरै बर्बादी देख्दै छु
(पेज : २०)
मलाई के छ ? म हुँ सरकार, चौरासी व्यञ्जन मेरा लागि
गरिबले खाने अन्न होइन, खोले–सिस्नु खाजा यो देशको ।
(पेज : २३)
एउटा सचेत गजलकारले एउटै विषयमा मात्र लेख्दैन । उसले बहुआयामले फैलिने जमर्को गर्छ । गजलको शास्त्रीय मान्यताअनुसार गजलमा माया प्रेमको भाव अनिवार्य हुनुपर्छ भनिन्छ । प्रेमिल जोडीको वार्तालापलाई गजल ठानिने युग पार गरेर गजल विधाले एक प्रकारको छलाङ हानिसकेको छ । समसामयिक विषयवस्तुलाई चपक्कै समातेर गजल विधाले अहिले व्यापक स्पेस बनाएको छ ।
विक्रमको २०७० कै दशकदेखि गजलमा सक्रिय शिशिर बिन्दु पनि त्यही धाराका गजलकार हुन्, जो गजलमा बहर अनिवार्य हुनुपर्छ भन्दैनन्, बहरमा लेखिएका गजलहरूलाई पनि सम्मान गर्छन्, बेलाबेलामा आफैं पनि बहरमा लेखिरहेका छन् ।
यस संग्रहमा स्वतन्त्र गजलहरू नै धेरै छन् । बहरमा लेख्ने कि स्वतन्त्र लेख्ने, विषयवस्तु माया प्रेमको मात्र हुने कि बहुविषय फैलने, गजललाई भाव कि विचारबाट पर्गेल्ने ? अनेकौं कोणबाट बहस भइरहेका छन् । यो आजै टुंगोमा पुग्ने बहस होइन । गजल हुन्जेल गजलमाथिको बहस पनि अनिवार्य हुने कुरालाई नकार्न सकिन्नँ । शिशिर बिन्दु हाम्रो गजल साहित्यमा सम्भावना बोकेका युवा हुन्, जसका साक्षी उनका शेर हुन् ।
निकै भो एउटा सुनौलो शहर खोजिरहेछु
शहरै शहरभित्रको हरेक खबर खोजिरहेछु
थाहा छैन, हिँड्दाहिँड्दै कहाँसम्म पुग्छु होला
छोटो जिन्दगीको लामो सफर खोजिरहेछु ।
(पेज : ५७)
यो ठूलो शहरमा मानिसहरूको रहरको दायरा फराकिलो छ । रहरलाई मूर्त रूप दिन मानिसहरू शहर पसेका छन् । गजल शहरमा खबरहरू बुलन्द बनाउन शिशिर पनि यात्रामा छन् । उनी लामो सफरको कामना गरिरहेका छन् । यस्तै सफर खोजिरहेका छन् ।
एकातिर आफ्नो घर भत्किएको छ
अर्कोतिर साहुको ऋण थपिएको छ
एउटा भा’को छोरो पनि विदेश गएको
ऊ पनि अपांग भई घर फर्किएको छ ।
(पेज : ८७)
शिशिरका यी ४ हरफ (२ शेर) नै समकालीन यथार्थ हुन् । थुप्रै युवाहरू भत्किएको घर बनाउन परदेसिन बाध्य छन् । साहुको ऋणले टाउको दुखाएको छ । गणतन्त्र आएपछिको परिवेशमा समेत शोषकहरूको नास हुन सकेको छैन । मरुस्थलबाट अपांग भई देश फर्किरहेका सयौं मानिसहरूको आपत्मा राज्य सारथि बन्न सकिरहेको छैन ।
शिशिरका गजलका भावहरूले दुःखका अन्त्यहीन शिलशिलालाई प्रतिनिधित्व गरेकामा मलाई खुसी लागेको छ । कमसेकम एउटा युवा गजलकारले यति मीठो भाव पस्कनु नेपाली साहित्यका लागि खुसीको कुरा हो । बचनमा प्रगतिशील र व्यवहारमा दक्षिणी ओरालो झरिरहेका मानिसहरूमाझ म निर्धक्क भन्न सक्छु– शिशिर बिन्दुलाई बुझ्न उनको श्रमिक जीवन बुझ्न जरुरी छ । उनको जीवन दृष्टिकोणको एउटा अंश बुझ्न ‘ममताको तरंग’ गजलसंग्रह छँदै छ ।